सनराइजको सामुन्ने राष्ट्र बैंक सुँक्क सुँक्क !

सनराइजको सामुन्ने राष्ट्र बैंक सुँक्क सुँक्क !

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) र आफैँले जारी गरेको एकीकृत निर्देशनविपरीत वाणिज्य बैंकका सञ्चालकले केन्द्रीय बैंक र उसका उच्च अधिकृतहरूलाई ‘आमचकारी’ गाली गर्दा पनि राष्ट्र बैंक निरीह देखिएको छ ।

बाफियाको दफा १९ (ङ) बमोजिम राष्ट्र बैंकको नीतिविपरीत कार्य गर्दा र एकीकृत निर्देशन, २०७७ को पृष्ठ २३४ मा रहेको संस्थागत सुशासनसम्बन्धी व्यवस्थाअन्तर्गत सञ्चालकले पालना गर्नुपर्ने आचरणको सामाजिक सञ्जालमा ठाडो उल्लंघन गर्दासमेत कारबाही प्रक्रिया अघि बढेको छैन । सनराइज बैंकका सञ्चालक शैलेन्द्र गुरागाईंले गत साता फेसबुकवालमा राष्ट्र बैंकमा हालै नियुक्त डेपुटी गभर्नरलाई जोडेर अवसरबाट वञ्चित १५ जना कार्यकारी निर्देशकलाई बैंक तथा वित्तीय संस्थाबाट ‘महिनावारी असुल्ने बानी परेका’ को संज्ञा दिँदै ‘स्टाटस’ लेखेका थिए ।

राष्ट्र बैंक ऐनअनुसार कार्यकारी निर्देशकमध्येबाट डेपुटी गभर्नर बन्ने भएकाले गुरागाईंको स्टाटसले नियुक्त भएकाबाहेक अरू सबैलाई असुलीमा संलग्नको गम्भीर आरोप लागेको छ । स्टाटसमा भनिएको छ, ‘महिनावारी असुल्ने बानी परेकाहरू डेपुटी गभर्नर नबनेकोमा गभर्नर र अर्थमन्त्रीलाई विशेष धन्यवाद ! नियुक्ति पाउनेलाई बधाई ।’ तर, उनले विवाद आउने भएपछि उक्त स्टाटस एकाध घण्टामै हटाएका थिए । त्यति बेलासम्ममा केशव भण्डारी, टीपी भुसाललगायत ४९ जनाले लाइक र ५ जनाले कमेण्ट गरेको स्टाटसको ‘स्क्रिनसट’ जनआस्थासँग सुरक्षित छ ।

सनराइज त्यही बैंक हो, जहाँ सञ्चालकबीच पटक पटकको लफडापछि सिइओ फेरिन्छन् । सञ्चालक समितिमा अध्यक्ष मोतीलाल दुगड र सञ्चालक गुरागाईंबीच लडाइँ छ । यसअघि उनैका दाजु डा. भोगेन्द्र गुरागाईं सञ्चालक थिए । दुगड र गुरागाईं पछिल्लो दिनमा जलविद्युत् क्षेत्रमा ‘हाइड्रो डन’ भनेर परिचित छन् । सिइओ ‘आफ्नो पक्षको ल्याएर देखाइदिने’ खेलमा बैंक नै तहसनहस हुने अवस्था बनेपछि नियमनकारी निकायले पटक–पटक हस्तक्षेप गरेको थियो । उनीहरूबीचको व्यावसायिक तर गैरबैंकिङ लडाइँको कारण हालै मात्र सिइओ जनक पौडेलले जागिर छाडेका छन् । जबकि उनलाई यिनै गुरागाईंले दुगडलाई देखाइदिने भन्दै ग्लोबल बैंकबाट ल्याएका थिए ।

त्यसअघि माछापुच्छ्रे बैंकका निरजकुमार श्रेष्ठलाई बोर्डले सिइओ नियुक्त गरेपनि नियुक्तिअघि गुरागाईं र मारवाडी समुदायका सञ्चालकबीच अप्रिय स्थिति बनेपछि उनले नियुक्ति नै नलिने घोषणा गरेका हुन् । श्रेष्ठलाई मारवाडीको स्वार्थमा ल्याइएको भनेर गुरागाईंले मच्चाएको तहल्का राष्ट्र बैंकमा पुगेर थामथुम भएको बताइन्छ । कुनै हालतमा सिइओ आफ्नो मान्छे बनाउने खेलमा राष्ट्र बैंकका केही कार्यकारी निर्देशकले आफ्नोविरुद्ध निर्णय गराउन पटक–पटक भूमिका खेलेको उनले त्यतिबेलै आरोप लगाएका थिए ।

सामान्यतयाः बैंकहरूको लफडामा राष्ट्र बैंकको नियमन र सम्बन्धित सुपरीवेक्षण विभागको निर्णायक भूमिका हुन्छ । अरु विभागको कुनै भूमिका र चासोसमेत हुँदैन । केही समयअघि आफ्नै स्वार्थमा ल्याइएका सिइओ पौडेललाई हटाउन कम्मर कसेर लागेका गुरागाईंले राष्ट्र बैंकका दुईजना कार्यकारीले ‘महिनावारी’ मा बिकेर आफ्नो योजनामा धक्का पुर्याएको सनराइजका उच्चअधिकारी र एकजना सञ्चालकसँगको अनौपचारिक भेटमा बताएको स्रोतको दाबी छ । स्रोतले भनेको छ ‘तर, महिनावारी भनेर उनले रकम पैसातर्फ नभएर अर्कै स्वर्गीय आनन्दको कुरोलाई पनि इंगित गरेको हुन सक्छ है !’ एउटा बैंकको सञ्चालकले नियमनकारी निकायका गभर्नर र अर्थमन्त्रीलाई चाकडी बजाउँदै, नियुक्त डेपुटीलाई धापमारेको शैलीमा बधाई दिँदै र नियुक्तिमा नपरेका १५ जनालाई बिचौलियाको आरोप लगाउँदा पनि राष्ट्र बैंकका अधिकारीहरूले ऐन, नियम र निर्देशनबमोजिम कारबाही प्रक्रिया अघि बढाएका छैनन् ।

बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा बसेर आफ्नो व्यक्तिगत व्यवसाय प्रवद्र्धनमा तल्लिन गुरागाईं र दुगडको हाइड्रो परियोजनाबाट भनेजति बिजुली उत्पादन नभएपनि गैह्रिधारास्थित सनराइज बैंकमा भने बेला बेला ठूलै भोल्टको झट्का आउने गरेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) दफा १९ को (ङ) मा ‘बैंक वा वित्तीय संस्था वा निक्षेपकर्ताको हकहितविपरीत कार्य गरेको कारण निज बैंक वा वित्तीय संस्थाको सञ्चालक पदमा रही कार्य सम्पादन गर्न अयोग्य रहेको भनी राष्ट्र बैंकले निजलाई हटाउन’ निर्देशन दिनसक्ने उल्लेख छ । गुरागाईंले सामाजिक सञ्जालमा लेखेको विषय राष्ट्र बैंकको हितविपरीतको गम्भीर विषय भएको एकजना कार्यकारी निर्देशकले बताएका छन् ।

उनी भन्छन् ‘हाम्रो विषयभन्दा पनि बैंक सञ्चालकले बाफियाको ठाडो उल्लंघन गरेको कुरो सबैभन्दा गम्भीर र आपत्तिजनक छ ।’ त्यसैगरी बैंकले गत साउनमा जारी गरेको एकीकृत निर्देशनमा संस्थागत सुशासनअन्तर्गत सञ्चालकले पालना गर्नुपर्ने आचरणसम्बन्धी व्यवस्था उल्लेख छ । त्यसको बुँदा (ङ) मा भनिएको छ ‘सञ्चालकले पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्नु पर्नेछ । संस्थाको कार्य वातावरण बिग्रने, घृणा, द्वेष उत्पन्न हुने कुनैपनि किसिमको गतिविधि गर्नु गराउनु हुँदैन ।’

विगतमा जनता बैंकमा ७ वर्ष सञ्चालक रहँदासमेत गुरागाईंले सँधै लफडा मात्रै मच्चाएको अहिले ग्लोबल बैंक पुगेका एकजना कर्मचारीले बताएका छन् । जनता बैंकको शुरुवातमा उनको गुरुप्रसाद न्यौपानेसँग हाइड्रो र बैंकिङ दुवैतिर ट्युनिङ मिलेको थियो । तर पछि काटाकाटको स्थिति बनेको बताइन्छ । उनको त्यो प्रवृत्ति सनराइजमा जाँदा पनि नसुध्रिएको एक जना पूर्व सिइओले बताए । सिउरी ङादी ग्रुप पावर, अरुण भ्याली, बरुण, रिभर फल र शुभम पावर लिमिटेडका हर्ताकर्ता उनलाई सनराइजमा अर्का हाइड्रो पायोनियर मोतीलाल दुगडले टक्कर दिइरहेका छन् ।

उनी र उनको दुगड ग्रुपले लिखु जलविद्युत्लगायत सबैमा गरी ३ सय १७ मेगावाटको निम्ति लगानी गरेको बताइन्छ । जबकि गुरागाईं भने हाइड्रो लगानीकर्ताहरूको संगठन इपानका निवर्तमान अध्यक्षसमेत हुन् ।

– द्रव्य शाह

टिप्पणीहरू