भएभरका भूपू सैनिक पूर्वमा भेला
नेपाली सेनाको पूर्वी पृतना मुख्यालयअन्तर्गत प्रदेश १ का भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारको सम्मेलन सकिएको छ । सैनिक कल्याणकारी बोर्डको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा पूर्वी पृतना हेडक्वार्टर इटहरीमा आज सम्पन्न सम्मेलनमा प्रदेश नं. १ का १४ जिल्लामा बसोबास गर्ने छ हजार ६४३ जना भूतपूर्व सैनिक र उनीहरुका परिवारजनको सहभागिता रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भूतपूर्व सैनिकहरुको भूमिकाको प्रशंसा गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले भूपू र बहालवाला सैनिकहरुबीच सामिप्यता बढाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्न अवकाशप्राप्त सैनिकहरूले गरेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले सैनिक कल्याणकारी कोषका हिताधिकारीहरुको समस्या सम्बोधन तथा व्यवस्थापनका लागि सम्मेलन प्रभावकारी हुने पनि बताउनु भयो ।
प्रधानसेनापति थापाले ‘नेपाली सेनाको कल्याणकारी कार्यसम्बन्धी दीर्घकालीन योजना २०८७’ कार्यान्वयनमा आएको उल्लेख गर्दै विद्यमान कल्याणकारी सुविधाहरुलाई विकेन्द्रिकृत, पारदर्शी एवम् परिणाममुखी र आत्मनिर्भर बनाउँदै लैजाने बताउनुभयो । हिताधिकारीहरुको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य,सीप र स्वरोजगार तथा सुविधा र सहुलियत समेत गरी कल्याणकारी कार्यक्रमहरु कार्यान्वयनको चरणमा रहेकोसमेत उहाँले जानकारी दिनुभयो ।
सम्मेलनमा ज्येष्ठ भूतपूर्व सैनिक (९१ वर्ष) सुन्दर हरैचा-५ का सिपाही रत्नबहादुर पौडेल (अप्रा) र श्री फर्स्ट राइफल गण (तत्कालिन फष्ट रैफल गुल्म)बाट अवकाशप्राप्त स्वर्गीय नवथ सिंह कार्की (अप्रा) की श्रीमती ९४ वर्षकी ज्येष्ठ एकल महिला मायादेवी कार्कीलाई सम्मान गरिएको थियो । त्यस्तै,सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल संखुवासभा जिल्ला खाँदबारीका डम्बरुबल्लभ अधिकारी (अप्रा) की श्रीमती हिमा अधिकारीलाई पनि सम्मान गरिएको थियो ।
सेनाले चार वा सो भन्दा बढी सन्ततिहरुलाई सैनिक सेवामा लाग्न अभिप्रेरित गर्ने १६ जना आमाबुबालाई सम्मान गरेको छ । फरक क्षमता भएका तथा असक्त ८ जनालाई व्हिलचेयर,बैसाखी र आर्थिक सहयोग प्रदान गरिनुका साथै लघुबित्त कार्यक्रमअन्तर्गत महिला उद्यमशील कर्जा प्राप्त गर्ने ऋणीहरुलाई चेक हस्तान्तरण गरिएको थियो ।
सम्मेलनमा बहालवाला तथा अवकाशप्राप्त रथीवृन्दहरु, कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत,नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत,बहालवाला एवं अवकाशप्राप्त सैनिक तथा परिवारहरु र अन्य आमन्त्रित अतिथि तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
सम्मेलनले सेनालाई अवकाशपछिको जीवनमा थप उर्जा र शक्ति प्रदान गर्नुको साथै समाजमा सम्मानीत जीवन यापन गर्दै सेनाप्रति सकारात्मक सोचको विकास एवं राष्ट्रिय एकतामा टेवा दिन थप उर्जा तथा हौसला मिल्ने विश्वास नेपाली सेनाले जनाएको छ ।
टिप्पणीहरू