कार्यालय मात्र सर्ने कि बैठक पनि गर्ने ?
पार्टीका अधिकांश गतिविधि बालुवाटारबाटै सञ्चालन गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले पार्टी मुख्यालय फेर्ने भएको छ । धुम्बाराहीस्थित मुख्यालय चक्रपथ विस्तारमा पर्ने भएपछि थापाथली सार्न लागिएको हो ।
बैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने गरी थापाथलीस्थित सेन्ट जेभियर्स कलेजनजिकैको भवनमा कार्यालय सार्न लागिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । आजै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले भवनको निरीक्षण गर्नुभएको छ । उक्त भवन व्यापारी सञ्जय अग्रवालको नाममा छ । अग्रवाल प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोती दुगडका आफन्त भएको बताइन्छ ।
बल्खुस्थित मदननगरको कार्यालय २०७२ सालको भूकम्पले भत्किएपछि एमालेले धुम्बाराहीस्थित भाडाको घरमा कार्यालय सारेको थियो । माओवादी केन्द्रसँगको एकतापछि पेरिसडाँडा र धुम्बाराहीका दुवै कार्यालयलाई केन्द्रीय कार्यालयका रुपमा प्रयोग गर्ने भनिएपनि अधिकांश बैठक,शीर्ष नेताहरूका छलफल प्रधानमन्त्री निवास बालुवाटारबाटै हुने गरेको थियो ।
पार्टी कार्यालयको विषयलाई लिएर नेकपामा हुँदै वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् । पार्टीका औपचारिक बैठकहरू पार्टी कार्यालयमै हुनुपर्ने नेपाल पक्षको माग छ । अहिले पनि नेपाल पक्षले बालुवाटारमा हुने पार्टी बैठकमा सहभागी नहुने अडान लिइरहेको छ ।
टिप्पणीहरू