सूर्यबिनायक र थिमीमा अझै समस्या,सँसदको ताकेता

सूर्यबिनायक र थिमीमा अझै समस्या,सँसदको ताकेता

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले आयोजनाको पूर्वतयारी सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउन यसअघि दिइएको निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा हनुमन्ते करिडोरको हालसम्मको कार्यप्रगतिबारे छलफल गरेपछि यस्तो निर्देशन दिइएको हो ।

समितिका निर्णयहरू सुनाउँदै सभापति कल्याणीकुमारी खड्काले भन्नुभयो ‘आयोजना पूर्वतयारीका काम सम्पन्न नगरी ठेक्का नलगाउन समितिले यसअघि नै मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिएको हो । आगामी दिनमा सोहीअनुसार प्रक्रिया पूरा गरी आयोजनाको काम अगाडि बढाउन र कडाईका साथ समितिको निर्देशनलाई कार्यान्वयन गर्न निर्देशन दिइन्छ ।’

हनुमन्ते करिडोरको निर्माण कार्यमा उल्लेख्य प्रगति भएको देखिएपनि मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाभित्रका केही स्थानमा देखिएका समस्यालाई तत्काल समाधान गर्न सम्बन्धित सबैलाई समितिले सुझावसमेत दिएको छ ।

सभापति खड्काले भन्नुभयो ‘हनुमन्ते करिडोर निर्माणको कार्यमा उल्लेख्य प्रगति भएको देखिए तापनि मध्यपुरथिमि नगरपालिका वडा नं. ३ र सूर्यविनायक नगरपालिका वडा नं. २ का केही स्थानमा देखिएको अवरोध,जनताका समस्या समाधानमा स्थानीय तह,जिल्ला प्रशासन र सम्बन्धित आयोजनाहरूले आवश्यक समन्वय गरी उपयुक्त निकास निकाल्न आवश्यक देखिएको छ । यसर्थ निकास निकाल्नको लागि पहल गर्न सुझाव दिइन्छ ।’

करिडोर निर्माणका क्रममा नागरिकको जग्गासमेत पर्ने भएकोले सम्पत्तिको हक संरक्षण गरी जग्गा एकीकरण योजनामार्फत् सुनिश्चित् गर्ने र अन्य समस्या समाधानका लागि समितिले समेत पहल गर्ने निर्णय बैठकले गरेको सभापति खड्काले बताउनुभयो ।

टिप्पणीहरू