काठमाडौँको होली घरैमा थुनियो
कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका सार्वजनिक स्थलमा भीडभाड नगर्न र घरभित्रै होली मनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार साँझ सूचना जारी गर्दै केही दिनयता कोरोना संक्रमण बढ्न थालेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरेको हो । भारतमा कोरोना संक्रमण बढेको र नेपालमा पनि बढ्न सक्ने संकेत देखिएको भन्दै सूचनामा सार्वजनिक स्थानमा भीडभाड नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।
‘हालका दिनमा कोभिड-१९ को संक्रमणको जोखिम उच्च रही संक्रमणको दर बढिरहेको छ । भारतसंगको खुला सीमानाका कारण सीमा नाकाबाट आउने मानिस दैनिक रुपमा काठमाडौँ उपत्यकामा आवतजावत गर्ने क्रम बढ्दै गएको छ’, सूचनामा भनिएको छ, भारतमा समेत कोरोना संक्रमण बढेकाले त्यसको प्रभाव काठमाडौँ उपत्यकामा परेको छ ।’
प्रशासन कार्यालयले सम्भाव्य जोखिम कम गरी संक्रमण बढ्न नदिन सार्वजनिक स्थलहरुमा भीडभाड नगर्न,होली पर्वलाई घरभित्र सीमित राख्न र सार्वजनिक यातायातको प्रयोग गर्दा मास्क,सेनिटाइजर र सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ ।
कार्यालयले तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने र सार्वजनिक स्थलमा भीडभाड गर्नेलाई संक्रामक ऐन २०२० बमोजिम कारवाही हुने चेतावनीसमेत दिएको छ ।
टिप्पणीहरू