सबै माननीय बालुवाटार छिर्ने संकेत
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भोलिका लागि बोलाउनुभएको संसदीय दलको बैठकमा खनाल–नेपाल पक्षका सांसदहरू पनि सहभागी हुने भएका छन् । यसअघि बालुवाटारमा डाकिएको बैठक बहिष्कार गरेका उक्त पक्षका सांसदहरू अन्ततः त्यहिँ बोलाइएको बैठकमा सहभागी हुने भएका हुन् ।
खनाल–नेपाल पक्षले यसअघि बालुवाटारमा बोलाइएको बैठकमा सहभागी नहुने अडान लिँदै आएको थियो । सो पक्षका सांसद जीवनराम श्रेष्ठले भोलिको बैठकमा सहभागी हुने संकेत गरे । ‘हामीले दलको बैठकमा जाँदै नजाने भनेका छैनौं । बैठक बहिष्कार गर्ने हाम्रो नीति पनि होइन,’ उनले भने, ‘भोलिको बैठकमा जाने सम्भावना छ ।’
उनले केन्द्रीय कमिटी बैठकमा मात्र नजाने आफूहरूको नीति रहेको समेत बताए । उनले यसअघिका बैठकमा पनि भाग नलिने भनेर निर्णय नगरेको बताए । ‘हामीले बैठकमा भाग नलिने भनेर कहिल्यै भनेनौँ । कति साथीहरू जानुभयो, कति जानुभएन । अहिलेकै स्थितिमा केन्द्रीय कमिटीको बैठकमा चाहिँ जाँदैनौं,’ उनले भने ।
यसअघि वरिष्ठ नेता नेपालले बालुवाटारमा हुने कुनै पनि बैठकमा आफूहरू सहभागी नहुने बताउनुभएको थियो । सांसद श्रेष्ठले भने सरकारी निवासमा बैठक नराख्न आफूहरूले सुझाव मात्र दिएको बताए । उनले भने, ‘हामीसँग दलको कार्यालय छ, त्यहिँ बैठक बसौं भन्ने हाम्रो सुझाव हो । पार्टीको कामका लागि सरकारी निवास प्रयोग गर्दा जनतामा राम्रो सन्देश जाँदैन भनेका हौँ । तर, त्यसैका कारण बैठक बहिष्कार गरिएको होइन ।’
फागुन २८ गते प्रधानमन्त्री ओलीले आफूहरूलाई बाहिर राखेर एकपक्षीय निर्णय गरेको भन्दै असन्तुष्ट बनेको खनाल–नेपाल पक्षले बैठक बहिष्कार गर्दै आएको छ । उसले ओलीको निर्णयलाई चुनौती दिँदै समानान्तर गतिविधि सञ्चालन गरिरहेका बेला ओली पक्षले फागुन ७ गतेको केन्द्रीय समिति बैठकबाट सम्पूर्ण अधिकार अध्यक्षमा सर्वाधिकार गरेको छ ।
ओली पक्षको बैठकले समानुपातिक सांसदहरूको सूची हेरफेर गर्नसक्ने गरी अध्यक्षमा अधिकार केन्द्रित गरेपछि नेपाल पक्षका सांसदहरू दलको बैठकमा जाने निष्कर्षमा पुगेको अनुमान गरिएको छ ।
टिप्पणीहरू