करोडौंको स्रोत नखुलेपछि नक्कली यातायात व्यवसायीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

करोडौंको स्रोत नखुलेपछि नक्कली यातायात व्यवसायीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

यातायात व्यवसायीको भेषमा आर्जन गरेको करोडौं रुपैयाँको स्रोत नखुलेपछि एकजना नक्कली यातायात व्यवसायी र उनकी श्रीमतीविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आज विशेष अदालतमा अभियोग पत्र दायर गरेको छ ।

रामबहादुर लामा र उनकी श्रीमती कान्छी लामाले सम्पत्ति शुद्धिकरणको कसुर अपराध गरेको तथ्य पुष्टि भएपछि विभागले आज उनीहरुलाई ७ करोड १२ लाख ८१ हजार ७ सय २७ रुपैयाँ ६७ पैसा बिगो र त्यसको दोब्बर जरिवाना दाबी गरी मुद्दा दायर गरेको हो ।

त्यसैगरी गैरकानुनी सम्पत्ति र आर्जनको स्रोत लुकाउन विभिन्न हर्कत् गरेको अभियोगमा निजहरुलाई झण्डै ७० लाख बिगो कायम गरी दोब्बर रकम जरिवाना समेत माग गरिएको छ । विभागले उनीहरुलाई २ देखि १० वर्षसम्मको कैद सजाय माग गरेको छ भने सम्पूर्ण चल अचल सम्पत्ति जफत हुन मागदाबी गरेको छ ।

बसको सिण्डीकेटप्रथामा व्यवसायीहरुले प्रत्येक नयाँ व्यवसायीबाट ५ लाख रुपैयाँ उठाउँदै आएका थिए । त्यहि रकमको आम्दानी गैरकानुनी देखिएपछि उनलाई सम्पत्ति शुद्धिकरण विभागले मुद्दा दायर गरेको बताइएको छ ।

नुवाकोट ककनी गाविस घर भई काठमाडौं १६, बालाजु बस्दै आएका लामा दम्पत्ति नक्कली पेशा व्यवसाय गरेर गैरकानुनी सम्पत्ति आर्जनमा संलग्न थिए ।

टिप्पणीहरू