आन्दोलनकारीलाई गृहमन्त्रीको साथ
गृहमन्त्री रामबहादुर थापाले माइतीघर मण्डलामा सडकमै बसेर आन्दोलनकारीलाई साथ दिनुभएको छ ।
ओली सरकारको विकल्पमा बन्ने नयाँ सरकारको चर्चासँगै सांसद रेशम चौधरीको रिहाइको विषय र सन्दर्भ जोडिएको बेला आइतबार थारु कल्याणकारी सभा, थरुहट–थारुवान संयुक्त संघर्ष समितिले सांसद चौधरीलगायतको मुद्दा खारेजीको माग गर्दै विरोध कार्यक्रम गरेको हो ।
गाडीमा झण्डा हल्लाउँदै कार्यक्रमस्थल पुग्नुभएका गृहमन्त्री थापाले सडकमा पलेटी कसेर बसेका आन्दोलनकारीलाई सम्बोधन गर्नुभएको हो ।
सम्बोधनमा उहाँले आन्दोलनकारीको समस्या र मागका बारेमा सरकारको ध्यानाकृष्ट भएको बताउनुभयो । कुनैपनि राज्यको सरकार र मन्त्रीले आन्दोलनकारीका माग जायज माग भए गर्छ, नभए प्रचलित ऐन, नियमबमोजिम हुने बताउँछ । तर, आफैँ माग पूरा गर्ने स्थानमा बसेका थापाले आन्दोलनकारीको मागप्रति समर्थन जनाउँदै धर्नास्थलमा पुग्नुु उदेक बाहेक अरु केही हुनै नसक्ने बताइन्छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर थुन्ने धम्की दिनुभएका गृहमन्त्री थापामाथी आफैँ सरकारमा रहेर आन्दोलनकारीको जस्तो भाषा बोलेको भन्दै त्यतिबेला निकै आलोचना भएको थियो ।
आफैँ सरकारको मन्त्री भएर आन्दोलनको चेतावनी दिँदै आउनुभएका गृहमन्त्री रामबहादुर थापा बादल आज सडकमा ओर्लिनुभएको छ । यसअघि प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्नेहरूका कारण ‘प्रतिगमन’ भएको भन्दै उहाँले क्रान्ति गर्ने बताउनुभएको थियो ।
टिप्पणीहरू