नेपालको प्रतिस्पष्टीकरण

नेपालको प्रतिस्पष्टीकरण

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टी अहिलेको अवस्थामा पुगेको बताउनुभएको छ । बिहीबार १० बुँदे स्पष्टीकरण बुझाउनु भएका नेपालले अध्यक्ष ओलीमाथि प्रतिप्रश्न गर्दै यस्तो बताउनुभएको हो ।

नेता नेपालले अध्यक्ष ओलीले पार्टीको विधान मिचेकाले उहाँमाथि नै कारवाही गर्नुपर्ने समेत बताउनुभएको छ । आफूलाई प्रचण्डको मतियार भन्दै सोधिएको स्पष्टीकरणको जवाफमा नेपालले ओली नै प्रचण्डको मतियार बनेको समेत दाबी गर्नुभएको छ ।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधान र नीति विपरित तपाईंले अनाधिकृत गतिबिधि गरेकोमा त्यस्ता गलत कार्यलाई रोक्न पार्टीमा संस्थागत रुपमा भएका काम र तपाईं स्वयमको हस्ताक्षरमा कार्यकारी अधिकार प्राप्त अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत संलग्न कार्यक्रममा मेरो सहभागितालाई कसैको ‘मतियार’ भएको देख्नु तपार्इंको व्यक्तिवादको अभिव्यक्ति मात्र हो भनी किन नभन्ने ?,’ प्रतिस्पष्टिकरण सोध्दै नेपालले लेख्नुभएको छ, ‘यदि तपाईको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्वसन्ध्यादेखि प्रतिनिधिसभाको विघटनसम्मको अवधिमा तपाईंले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाईं नै उहाँको सबैभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र ? तर यस्तो दृष्टिकोण ममा छैन ।’

ओलीले पार्टी फुटाउने र कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने गलत मनसायकासाथ गतिबिधि गरिरहेको भन्दै नेपालले अध्यक्षको हैसियतले विधिवत बैठक बोलाएर छलफल गर्न के ले रोक्यो ? भनि प्रश्न गर्नुभएको छ ।

‘गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको राजनीतिक दल नरहने भएकाले साविकको केन्द्र पुनः मिल्ने भए निर्वाचन आयोगमा जानु भनि गरेको फैसला तथा सोहीअनुरुप निर्वाचन आयोगले पार्टी एकता गर्ने भए १५ दिनभित्रमा आयोगमा आउनु भनि दिएको सूचनाको बारेमा केन्द्रीय कमिटीको अध्यक्षको हैसियतले विधिवत बैठक बोलाई तपाईंले छmलफल किन गराउनुभएन ?’

नेपालले बुझाएको स्पष्टिकरणमा भनिएको छ, ‘यसरी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक नबोलाइएबाट सर्वोच्च अदालतको फैसलाको अवज्ञा हुनुका साथै कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाइराख्ने तपाईंको गलत मनसाय रहेको छ किन नभन्ने ?’

केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाउने फागुन २८ गतेको बैठकको निर्णयलाई अस्वीकार गर्नुभएका नेता नेपालले स्थायी कमिटी सदस्यको हैसियतमा स्पष्टीकरण दिनुभएको हो ।

अध्यक्ष ओलीले सोधेको स्पष्टिकरण पत्रमा भने नेपाललाई महाधिवेशन आयोजक समिति सदस्य भनि सम्बोधन गरिएको थियो ।

टिप्पणीहरू