तनहुँको आँधिमूल मन्दिर बन्यो पर्यटकीय आकर्षणको केन्द्र

तनहुँको आँधिमूल मन्दिर बन्यो पर्यटकीय आकर्षणको केन्द्र

तनहुँको आँबुखैरेनी गाउँपालिका ५ मा अवस्थित ‘आँधिमूल’ मन्दिर आसपासमा विकास निर्माणको कार्य थालिएपछि सो क्षेत्र अहिले आन्तरिक पर्यटककको आकर्षणको केन्द्र बन्दै गएको छ ।

आँधिमूल मन्दिरको दर्शन गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बली दिने प्रचलन छ । मनोकांक्षा पूरा हुने अपेक्षासहित मानिसहरू टाढा टाढाबाट आउने गरेको स्थानीयहरू बताउँछन् ।

आँधिमूलस्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजको लागि समेत मानिसहरू आउने गरेको पाइन्छ । मन्दिरमा साउन महिना र अन्य महिनामा औँशीको दिन बाहेक वर्षैभरी पूजाआजा हुन्छ ।

स्थानीयका अनुसार आँधिमूल मन्दिर क्षेत्रको विकासका लागि गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा घेराबार योजनाअन्तर्गत १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । यस्तै तीन लाख रुपैयाँको लागतमा जस्तापाताको छानो हालिएको ट्रस समेत निर्माण गरिएको छ ।

गाउँपालिकाका प्रमुख गीरबहादुर थापाले मन्दिर क्षेत्रसम्मको पहुँचलाई सहज बनाउन पृथ्वी राजमार्गको सत्र सय फाँटदेखि आँधिमूलसम्मको सडकलाई कालोपत्रे गर्न बजेट विनियोजन समेत भइसकेको बताउनुभएको छ ।

अब पृथ्वी राजमार्गको सत्र सयदेखि करीब एक घण्टा पैदल यात्रामा पुग्न सकिने उक्त ठाउँमा सवारी साधनद्वारा १५ मिनेटमा नै पुग्न सकिन्छ । विशेषगरी सार्वजनिक बिदाको दिन आन्तरिक पर्यटकहरूको संख्या बाक्लिन थालेको बताइएको छ ।

https://www.facebook.com/watch/?v=271804111178169

टिप्पणीहरू