‘लकडाउन हुँदैन’

‘लकडाउन हुँदैन’

कोरोनाको दोस्रो लहरको त्रास र लकडाउनको चर्चा चलिरहेका बेला सरकारले लकडाउन नहुने बताएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लकडाउन नहुने बताउनुभएको हो । कोरोनाको दोस्रो लहरबाट जोगिनका लागी स्वास्थ्य मापदण्डलाई कडाइकासाथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने उहाँले बताउनुभयो ।

‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ । कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनुपर्छ । अर्कोतर्फ आर्थिक, सामाजिक क्रियाकलापलाई नियमित र सूचारु पनि गर्नुपर्ने आवश्यकता छ । त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सुचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं । अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन र त्यो अहिले उपयुक्त पनि हुँदैन’, उहाँले भन्नुभयो ।

कोभिडपछिको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जनालगायतका विषयमा केन्द्रीत भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामी बजेटको तयारीमा जुटेका छौं । सिद्धान्त र प्राथमिकताको तयारी करिब अन्तिम चरणमा आइपुगेको छ । हामी कोभिडपछिको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना जस्ता विषयहरुमा बढ्ता केन्द्रीत हुन्छौं । नेपाली अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन र गतिशील बनाउनका लागि गर्नुपर्ने निर्णहरु लिने गरी बजेट लिएर आउँछौं ।’

राष्ट्रिय प्राथमिकताका विषयहरुलाई निश्चित गर्ने र बजेट कार्यान्वयनलाई सुनिश्चितता गर्ने कुरालाई ध्यान दिएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभयो । उहाँले कोरोनाविरुद्धको खोप खरिदका लागि बजेटको अभाव हुन नदिने पनि बताउनुभयो ।

टिप्पणीहरू