शाही सेनाकाे शत्रु थिए कुनै बेला, अहिले सँगसँगै (भिडियाे सहित)
शाही सेना, प्रहरी, राजाको सत्ता र बहुदलीय प्रणाली ध्वस्त पार्न सञ्चार सम्पर्क, बिष्फोटन, हातहतियार उत्पादन र आविष्कारको जिम्मा लिएर हिँडेका एक माओवादी कमाण्डर अहिले राष्ट्रिय सुरक्षाको निम्ति आफ्नो पुरानो शत्रु अर्थात् नेपाली सेनासँग हातेमालो गर्न कस्सिएका छन् । ब्यारेक ब्यारेक धाउँदै, सैन्य अधिकृतहरुसँग परामर्श गर्नमा उनको व्यस्तता बढेको छ ।
अस्ति शनिबार धनुषाको भिमानमा गरिएको गरुड रकेट उत्पादन युवा प्रतिभाहरुको संगठन युथ फर नेशनले गरेको हो तर त्यसको व्याकअपमा थिए भक्तपुरका देवेन्द्र श्रेष्ठ । प्रधानसेनापति पूर्णचन्द्र थापा, पूर्व सेनापति रुक्माङ्गत कटवाल, महावीर पुन लगायतको उपस्थितिमा पछिल्लोचोटी रकेटको उडान परीक्षण भएको हो । यसअघि इन्धनले काम गरिरहेको थिएन, बिष्फोट भइरहेको थियो । बीचमा माओवादी जनयुद्धताका विष्फोटक पदार्थ बनाउने जिम्मा पाएका देवेन्द्र श्रेष्ठसँग युवाहरुको सम्पर्क भयो । उनले केही तरिका सिकाए, रकेट उड्ने बन्यो ।
देवेन्द्रलाई संकटकालमा टाउकाको मूल्य थियो ५० लाख तोकिएको थियो । कृष्णध्वज खड्का र रेखा शर्मा समातिएको दशौं दिन सेनाले काठमाडौंको चिकंमुगलस्थित उनको कोठामा छापा मारेको थियो । संयोगले उनी कोठामा थिएनन् । कोठामा केही सामानचाहिँ फेला प¥यो । त्यो बेला पत्रपत्रिकामै माओवादी केन्द्रीय वैज्ञानिकको कोठा कब्जा भन्ने समाचार आए । उनी अहिले पनि प्रचण्डकै पार्टीमा क्रियाशील छन् । प्रदेश सचिवालय सदस्यको जिम्मेवारी सम्हाल्दै देशको सुरक्षा मजबुत बनाउने काममा संलग्न छन् ।
देवेन्द्रको जन्म चितवन, घर भक्तपुर हो । बिएस्सी र इलेक्ट्रोनिक विषय अध्ययन गर्दागर्दै जनयुद्धमा लागेका उनी त्यस समय भक्तपुर जिल्ला कमिटी सदस्य थिए । ‘जनयुद्ध थालिनुअघि इलेक्ट्रोनिक विषय सिकेर इन्स्टिच्युटमा पढाउँदै थिएँ’, उनले भने, ‘जनयुद्ध हाँक्न बमबारुद, गोलीगठ्ठा पनि चाहिने तर त्यसबेला माओवादीसँग केही थिएन । मैलाई प्राविधिक डिपार्टको जिम्मेवारी सुम्पिइयो । साइन्स पढेको थिएँ, यससम्बन्धमा थप सेल्फस्डटीलाई अघि बढाएँ । बिष्फोटक पदार्थ कसरी बनाउने, त्यसको प्रयोग र प्रभावकारिता कसरी बढाउने सिक्दै जनमुक्ति सेनालाई सिकाउने काम गरेँ ।’
पार्टीभित्र मास्टरसाप नै भनेर चिनिन्छन् देवेन्द्र । जनयुद्धका लागि रिमोट बम, ग्रिनेडलगायत रिमोटबाट चल्ने बारुदी सुरुङ पनि बनाउँथे । यससँगै सञ्चारसेट पनि बनाए । माओवादीले सेना, पुलिसको क्याम्प कब्जा गर्दा तिनका वाकीटाकी पनि कब्जा गरी ल्याउँथे । ‘त्यसैलाई हेरेर, सुनेर, मिलाएर आफू अनुकूल बनाई चलाउँथ्यौं’, देवेन्द्रले भने, ‘कब्जा गरी ल्याइएका सेना, पुलिसका सञ्चारसेट चलाउँदा उनीहरुको कुरा सुनिन्थ्यो । उनीहरुको कोडलाई डिकोड गरेर फेरि कोड बनाएर काम गथ्र्यौं ।’
त्यसमा स्याटेलाइट फोन जोडेर विदेश बसेका माओवादी नेताहरु आपसमा कुराकानीसमेत गर्थे । रेडियो ट्रान्समिसनको काम पनि भएको थियो जनयुद्धकालमा उनकै खुबीले । उतिबेला रोल्पा, पश्चिम दैलेख, कालिकोट, काठमाडौं उपत्यकालगायत देशका पाँच ठाउँबाट माओवादीको रेडियो कार्यक्रम प्रसारण हुन्थ्यो । २०५९ मा जनसैन्य प्रतिष्ठानको सफ्टवेयर विभाग प्रमुख भएर काम गरेका देवेन्द्र शान्तिप्रक्रिया पछि भक्तपुर जिल्ला सेक्रेटरी भए । अहिले बागमती प्रदेश सचिवालय सदस्य छन् ।
केही अघि प्रचण्डलाई हेग लान्छु भन्ने ‘बालसेना’ लेनिन विष्टसँग उनको अप्रत्यासित भेट भएको थियो । लेनिनले ‘युवा वैज्ञानिकहरुले नयाँ काम गर्दैछन्, तपाईंले सहयोग गर्नुपर्छ’ भन्दै युथ फर नेशनका युवाहरुको सम्पर्कमा पु¥याए । युवाहरु ड्रोन, रकेट बनाउँदै उडाउने प्रयासमा थिए । थापाथली इञ्जिनियरिङ कलेजभित्र छ ल्याब । देवेन्द्र भन्छन्, ‘सरकारको राम्रो साथ, सहयोग मिलेर यही रफ्तारमा काम हुने हो भने अबको ५÷७ वर्षमा हामी पनि अन्तरिक्षमा पुग्न सक्छौं ।’
उनले सिकाएअनुसार तयार भएको रकेट भिमानको आकाशमा डेढ सय मिटरसम्म उड्यो तर ६० किलोमिटरसम्म जानसक्ने गौंथली ड्रोनहरुले खासै काम देखाउन सकेनन् । उनीहरुले शुरुमा पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा रकेट परीक्षण गर्न चाहेका थिए तर २ वटा हाइटेन्सन तार र हवाई रुट त्यहीं भएकाले विकल्पस्वरुप ठाउँ भिमान सारिएको हो जहाँ सेनाको लामो दूरी मार हान्ने तोप र हवाई सुरक्षा प्रणाली स्थापित छ । – अजय गोर्खाली
श्रेष्ठसंगको भिडियो कुराकानी
टिप्पणीहरू