व्यापारमा राजनीति, राजनीतिमा व्यापार
-वैकुण्ठ ढकाल
व्यापारी र उद्योगीको काम के हो ? सहज र स्वभाविक जवाफ हो, उपभोक्तालाई रिझाउनु । तर नेपालमा त्यसो भइरहेको छैन । व्यापारी र उद्योगीहरु उपभोक्ता र क्रेतालाई खुसी पार्न भन्दा नेता र सरकारलाई खुसी पार्न लागेको छ ।
अनि सरकारको काम के हो ? यसको प्राकृतिक जवाफ हो– जनताको सेवा गर्नु । तर सरकारले त्यसो गरिरहेको छ त ? जवाफ तपाईं हामी सबै भुक्तभोगी छौं । भोगेका सबै कुराहरु शव्दमा व्याख्या गर्न सकिदैन । तर यत्ति चाहिँ भन्न सकिन्छ सरकारले जनताको सेवा बाहेक सबै काम गरिरहेको छ । जसरी एउटा चलाख चालकले गाडी ढुटोपिठो बनाइ सकेर पनि धनीलाई खुसी बनाउन भन्छ–‘गाडी ठीक ठाक छ, हर्न बाहेक सबै थोक बज्छ ।’ हुस्सु साहु गाडीको हर्न मात्रै त बिग्रिएको भनेर उल्टै चालकलाई स्याबासी दिन्छ । तर गाडीमा हर्न बाहेक सबै बज्नु भनेको गाडी कामै नलाग्ने हुनु हो भनेर बुझ्ने सुद्धीबुद्धी हुँदैन ।
नेपालको प्रधानमन्त्री निवास बालुवाटारमा अहिले पनि दिनहुँ केही न केही कार्यक्रमहरु भइरहेकै हुन्छन । दिनकै धेरै वटा कार्यक्रमहरु पनि हुन्छन । प्रधानमन्त्रीलाई सर्वोत्कृष्ट गीतकारको पुरस्कार दिनेदेखि लिएर पार्टी प्रवेशसम्मको कार्यक्रम बालुवाटारमै चलिरहेको हुन्छ ।
एक हप्ता अघि बालुवाटारमा यस्तै कार्यक्रम भयो । केही अघि यस्तै कार्यक्रमहरु धुम्बाराही, पेरिसडाँडा र सानेपामा हुन्थे । अनि पार्टी र देश बनाउने ठूलो भाषण हुन्थे । तर अहिले बालुवाटारमा यस्ता कार्यक्रमहरु हुन्छन । अनि नवप्रवेशीले हैन पार्टी प्रवेश गराउनेले नै ‘क्रान्तिकारी’ भाषण गर्छन । हुन पनि प्रधानमन्त्री केपी शर्मा ओलीको मुख बाहेक केही चल्दैन । जे होस वालुवाटारमा भव्य कार्यक्रम भयो, गुनेचुनेका व्यापारीहरुको प्रवेश भयो । दुई सय ३५ जना एमाले प्रवेश गरेको भनेर रुची सार्वजनिक भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षदेखि केन्द्रीय सदस्यसम्मले प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको हातको टीका लगाएको भनिएको छ । टीका लगाउनेहरुको सूचीमा ललित अग्रवाल, सीताराम अग्रवाल वकिल, पुनम ब्यास, कृष्ण प्रसाई, मदन मित्तल, अजय सराबगी, ओमप्रकाश बंसल, नरेन्द्र गुप्ता, जुगल किशोर धनावत, दिलिप जैन, नरेशकुमार सरिया, पाइला समूहका सम्पूर्ण उद्यमी, सन्तोष खेतान, आशुतोष पटुवारी, राकेशकुमार जलान, शुभाष गोयल, प्रकाश कपुरी, अजय जलान, बिनोद सक्तानी, पियुस मित्तल, शिवकुमार शर्मा, रमेश पन्सारी, दधिराम सापकोटा, दीपक टिवडेवाल, बिनोद सेठिया, महेन्द्र अग्रवाल, इन्द्र कुमार मिठुवाल, श्याम सराबगी, अनिल जलान, श्रीधर बञ्जाडे, उषा धनावत, अमन कन्दोई, अशोक अग्रवाल, अंकुर लोहिया, नविन कर्माचार्य, बबिता श्रेष्ठ, रमेश दास, राजेश अग्रवाल, विनित अग्रवाल, महेन्द्र अग्रवाल, सुश्मिता खड्का, कमल पोखरेल, गणेश प्रधान, सुरेन्द्र मोर, अरुण शर्मा, अनिल अग्रवाल, कान्छा तुलाधर, चिराग लोहिया, जीवन दारुका, दिपेश खड्का, नविन क्षेत्री, नारायण श्रेष्ठलगायत सत्तारुढ एमालेमा प्रवेश गरेका छन् ।
यसको चाँजोपाँजो मिलाउने काम प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले मिलाएका हुन । एमाले पार्टी प्रवेश गर्नेको सूचीमा लामो समय कांग्रेस भएर व्यापारिक लाभ लिएका र यसअघि २ पटकसम्म नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा हारेका व्यवसायी किशोर प्रधानको पनि नाम पनि छ । एमाले प्रवेश गर्ने अधिकांश व्यवसायी माडवारी समुदायका छन । भृकुटी कागज कारखानाको ५०औं विगाह जग्गा प्लटिङ गरेर बेच्न पाइने आशामा हितेश गोल्छा पनि एमाले प्रवेश गरेको चर्चाले बजार राम्रोसँग पिटेको छ । एमाले प्रवेश गर्नेहरुमा यसअघि कांग्रेसबाट ठूलो लाभ उठाएका व्यवसायीहरुको ‘स्वार्थी’ जमातको थियो । व्यवसायीहरु सत्ताको चरम दुरुपयोग गरेर अनुचित व्यावसायिक लाभ लिन मरिहत्ते नै गर्न थालेको पछिल्लो उदाहारण हो यो ।
राजनीतिक दलका नेताहरुले पनि व्यवसायीसँग अनुचित लाभ लिने र सत्तामा पुगेपछि त्यसको गुन तिर्ने प्रवृत्ति दिनानुदिन बढ्दो छ । जसकारण नेपालमा आसेपासे पुँजीबाद अर्थात् क्रोनि क्यापिटलिज्म झाँगिदै गएको छ । आसेपासे पुँजीबादका कारण सत्तासँग पहुँच नहुने गरीबहरु झन् झन् गरीब बन्दै गएका छन् भने सत्तासँग पहुँच हुने मुठ्ठीभर व्यवसायी र दलालहरु राज्यको स्रोत र साधनको चरम दुरुपयोग गरी रातारात अर्बपति बनिरहेका छन् ।
कोरोनाकालमा प्रधानमन्त्री केपी ओली र सरकारसँग नजिक भएर यति ग्रुप छि¥यो । ओम्नी ग्रुपलगायतका केही व्यवसायीहरुले राज्यको स्रोत र साधनमाथि नियन्त्रण गर्दै आए । यसले तत्कालिन नेकपा वा अहिलेको एमालेलाई कत्ति क्षति पु¥यायो ? कति विवादित बन्यो ? सरकारलाई कति क्षति ग¥यो ? अनि नागरिकमा त्यसको असर के प¥यो भन्ने भोग्ने धेरै छौं । अब आगामी दिनमा नवप्रवेशी व्यवसायीहरुले पनि राज्यको स्रोत र साधनको दोहन गर्ने सुनौलो अवसर पाउने छन् । सोही आशामा व्यवसायीहरुको जम्मो टोली पार्टी प्रवेश गरेको हो ।
अब व्यापार राजनीतिमा छिर्ने मात्रै हैन । त्यो भन्दा ठूलो कुरा भएको छ । अर्थात अब व्यापारमा राजनीति छिर्ने तयारी गरिरहेको छ । नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली हाइटमा रहेको एक घरमा सर्ने भएको छ । यो घर हो सञ्जय अग्रवालको । अग्रवालको औद्योगिक घराना खेतान समूहसँग पारिवारिक सम्बन्ध पनि छ । अग्रवाल नाताले खेतानको ज्वाइँ पर्छन । अग्रवाल आफ्नो आलिशान महल भाडामा दिएर कालिमाटीमा आफू भाडामै बस्दै आएका छन् ।
एमालेको कार्यालय सार्न ठीक पारिएको घरमा केहीअघिसम्म संयुक्त राष्ट्रसंघको कार्यालय थियो । सत्तासँग नजिक भएर फाइदा उठाउनका लागि आफ्ना घर–भवन नेता र पार्टी कार्यालय भाडामा दिने प्रचलनकै कारण अग्रवालप्रति औंला ठडिएको छ । तर अग्रवालले आफ्नो दैनिकी चलाउनकै लागि यो घर भाडामा दिएको पारिवारिक स्रोतहरुको दाबी छ । विद्युत नियमन आयोगले मासिक आठ लाख रुपैयाँ भुक्तानी गर्ने गरी यो घर भाडामा लिन तयार भएको थियो । पछि जिल्ला प्रशासन कार्यालयले भाडा दर महँगो भयो भनेर नलिन निर्देशन दिएको थियो । यो सात महिनाअघिको कुरा हो ।
थापाथली हाइटस्थित उमंग मार्गमा रहेको अग्रवालको साढे दुई तले यो घरमा १६ वटा कोठा छन् । चार रोपनी क्षेत्रफलमा रहेको यस घरको कम्पाउन्डमा २५ वटा गाडी पार्किङ गर्न मिल्छ । राजनीतिमा देखाउने र भन्ने कुरा अलग अलग हुन्छन भनिए झैं अग्रवालले घर मोतिलाल दुगडलाई दिएको दुगडले एमालेलाई भाडामा लगाएको भनिएको छ । यसको गुह्य कुराहरु खुल्दै जाला ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि भाडाको घरमा बस्छन । घरबेटी हुन– शारदाप्रसाद अधिकारी । उनी पेसाले ठेकेदार छन, कस्तो ठेकेदार हुन भन्ने उनले लिएका ठेक्काको अवस्थाले सबै कुरा स्पष्ट भइहाल्छ । राजनीतिक आडमा यत्तिको बद्मास भए वा पहिलेदेखि नै बद्नाम थिए ?
उद्योगी व्यापारीले राजनीतिमा लागेर कसरी लाभ लिन्छन भन्ने उदाहरण विनोद चौधरीलाई हेरे हुन्छ । संविधानसभामा नेकपा एमालेबाट प्रतिनिधित्व गरेका चौधरी अहिले नेपाली कांग्रेसबाट सांसद छन ।
राजनीतिक विचारले हुने भए त एकै व्यापारी फरक फरक पार्टीबाट किन सांसद हुन्थे र ? यो त विशुद्ध व्यापारमा राजनीति वा राजनीतिमा व्यापार बाहेक केही होइन । यसले कसैलाई पनि फाइदा हुँदैन ।
टिप्पणीहरू