पत्रकार महासंघमा फर्जी सदस्यताको उजुरी र तालमेलको रन्को
नेपाल पत्रकार महासंघको महाधिवेशन नजिकिँदै जाँदा फर्जी सदस्यताको लफडा सतहमा आएको छ । डेढ सय वटा फर्जी सदस्यतासम्बन्धी उजुरी परेको बताइन्छ ।
फर्जी सदस्यता छानबिनको लागि गठित कार्यदलको बैठकमा पूर्वअध्यक्ष महेन्द्र विष्ट अनुपस्थित रहँदै आउनुभएको र आफूलाई होलीपछि मात्रै फुर्सद हुने जानकारी गराएकोमा आज भने भाग लिएर यो विवादको स्वामित्व केन्द्रीय समितिले लिनुपर्ने राय दिनुभएको छ । अब सदस्यको लफडा लम्बिने सम्भावना छ । बैठकमा कार्यदलका सदस्य डा.सुरेश आचार्यले एक घण्टा फोनबाट आफ्नो धारणा राखेको बताइन्छ । सदस्यता छानबिनसम्बन्धी कार्यदलमा पूर्वअध्यक्षहरू विष्ट,आचार्य र शिव गाउँलेलाई राखिएको छ ।
यता,नेपाली काँग्रेस निकट समूहबाट अध्यक्षको उम्मेदवार बन्न प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल पनि इच्छुक देखिनुभएको छ । बद्री उठेमा निर्वाचनमा स्वतः अर्को समूहको समेत उपस्थिति हुने बताइन्छ । अर्कोतर्फ महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष विपुल पोखरेल या हालका महासचिव रमेश बिष्ट काँग्रेसको तर्फबाट उठ्ने चर्चा चलाइएको छ । तर भित्रभित्रै अर्कै खेल भएको स्रोतको दाबी छ ।
काँग्रेसको तर्फबाट सिग्देल अध्यक्षको प्रत्यासी बनेको अवस्थामा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत महासचिवमा उठ्ने सोच बनेको बताइन्छ ।
यसअघि भएको सामुदायिक रेडियो प्रशारकहरूको संस्था (एकोराब) को अधिवेशनमा काँग्रेस र प्रधानमन्त्री ओली निकट प्रेस चौतारीको बस्नेत समूहबीच भएको सहमतिमा माओवादी र माधव नेपाल समूहलाई पूरै बाहिर राखिएको थियो ।
महासंघको पूर्व निर्धारित कार्यक्रमअनुसार उम्मेदवारी मनोनयनको दिन आजलाई तोकिएको थियो । तर,अनेक लफडा आएपछि भोलिलाई मनोनयनको सेड्युल सारिएको छ । स्रोतले भनेको छ ‘महाधिवेशनको चुनावी तालिकामा सामान्य हेरफेर हुने सम्भावना छ ।’
टिप्पणीहरू