राष्ट्रपति कार्यालयले मेलम्चीको पानी झार्ने साइत जुरायो, २३ गते पानी पाइने

राष्ट्रपति कार्यालयले मेलम्चीको पानी झार्ने साइत जुरायो, २३ गते पानी पाइने

मेलम्चीको पानी काठमाडौं उपत्यकामा औपचारिक वितरणको निम्ति राष्ट्रपति कार्यालयले उद्घाटनको साइत जुराएको छ ।

यसअघि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले तय गरेको १५ गते पूर्णिमाको दिनलाई विभिन्न कारण देखाउँदै चैत २० गते भनिएको थियो ।

तर,शुभबार र शुभसाइत नपरेको भन्दै शीतल निवासले २३ गते सोमबार शीतलाष्टमीको दिन रोजेको बताइन्छ । स्रोत भन्छ ‘१५ बाट २० गते सारिएको थियो तर शुभबार नपरेकाले उतैबाट २३ गतेलाई प्रस्ताव गरिएको छ ।’

राष्ट्रपतिले काठमाडौंमा मेलम्चीको पानी धाराबाट झारेर उद्घाटन गर्ने कार्यक्रम अब चैत २३ गतेलाई तय भएको हो । उद्घाटन गरिएको धाराबाट सँधै पानी झार्नेगरी भृकुटीमण्डपमा धारा बनाउने काम हिजोदेखि धमाधम भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहिँबाट औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको बताइन्छ । केयुकेलका अनुसार १५ गतेसम्म सुन्दरीजलमा दैनिक ४ करोड लिटर पानी आइपुग्ने छ ।

त्यसपछि हरेक दिन १ करोडको दरले बढ्ने छ । पाइपमा समस्या आउने डरले एक हप्तापछि मात्र पूरा क्षमताको १७ हजार लिटर पानी सुन्दरीजलमा झर्नेछ । तत्काललाई उपत्यकामा रहेको पुरानै वितरण प्रणालीबाट घर घरमा पानी पठाइने कम्पनीले जानकारी दिएको छ ।

शुक्रबार सुन्दरीजलको खानेपानी ट्रिटमेण्ट प्लाण्टमा पानी खसालिएको छ । अनौपचारिक रुपमा आजै अपरान्ह ४ बजेबाट मेलम्चीको पानी काठमाडौंका खानेपानी पाइपमा बग्न थालेकाे छ ।

टिप्पणीहरू