रक्सीको विज्ञापन आएपछि प्रेस काउन्सिलको चिन्ता

रक्सीको विज्ञापन आएपछि प्रेस काउन्सिलको चिन्ता

आमसञ्चार माध्यममा आएका ‘रक्सी’ सम्बन्धी विज्ञापनप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।

होली पर्वको उपलक्ष्यमा विभिन्न मादक पदार्थ कम्पनीहरुले ‘मनाऔँ होली रमेर जता भए पनि’, ‘होलीको शुभकामना’, ‘ह्याप्पी होली’ जस्ता भाषा, प्रस्तुति, वाक्य, वाक्यांश राखी केही दिनदेखि छापालगायत विभिन्न आमसञ्चार माध्यमबाट आफ्नो प्रचार–प्रसार गरेको भन्दै काउन्सिलले विज्ञप्ती जारी गरी ध्यानाकर्षण भएको बताएको हो ।

विज्ञप्तिमा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ७ (३) मा रहेको ‘जनस्वास्थ्यमा आघात नपर्ने र आधिकारिकता पुष्टि हुने गरी विज्ञापन प्रकाशन वा प्रसारण गर्नुपर्ने नियमवारे स्मरण गराइएको छ ।

‘क’ वर्गका राष्ट्रिय दैनिकहरू गोरखापत्र,कान्तिपुर,राजधानी, नयाँपत्रिका,दि हिमालयन, नागरिक,दि काठमाडौँ पोस्ट, अन्नपूर्णपोस्ट,नेपाल समाचारपत्रजस्ता छापामाध्यम तथा अनलाइनखबर, ई–कान्तिपुरजस्ता अनलाइनमाध्यममा मदिरा सेवन गर्न उत्प्रेरित गर्ने खालका भाषा प्रयोग गरी विज्ञापन सम्प्रेषण भएको भन्दै विज्ञप्तिमा त्यस्ता विज्ञापनको भाषा र प्रस्तुती तत्काल संशोधन गर्न निर्देशन दिइएको छ ।

त्यसैगरी,जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ मा समेत ‘जनस्वास्थ्यलाई प्रभावित पार्ने मदिरा,चुरोट,सूर्ति तथा सूर्तिजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन,वितरण तथा प्रचार–प्रसार गर्न पाइने छैन’ भन्ने व्यवस्थाको पालना गर्न विज्ञप्तिमा भनिएको छ ।

निर्देशनविपरीत यस्तै भाषाशैलीका विज्ञापन प्रकाशित भइरहेमा कारवाहीको थप प्रकिया अघि बढाउन बाध्य हुने काउन्सिलको चेतावनी छ । होलीजस्ता चाडपर्वसँग मदिरालाई जोडेर मदिरा सेवन गर्न उत्प्रेरित गर्ने खालका भाषाशैली,शब्द, वाक्य,वाक्यांश राखी मदिरा उत्पादन तथा विज्ञापन एवं प्रचार–प्रसार नगर्न/नगराउन सम्पूर्ण सञ्चारमाध्यम,नेपाल विज्ञापन सङ्घ,विज्ञापन एजेन्सीलगायत सम्बद्ध विभिन्न पक्षको समेत ध्यानाकर्षण गराएको प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

टिप्पणीहरू