बाबुरामको चेतावनी : चौधरीको रिहाइ सत्ता स्वार्थको विषय नबनोस्
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरीको रिहाइलाई सत्ता स्वार्थको विषय नबनाउन आग्रह गर्नुभएको छ ।
उहाँले रेशम चौधरीलगायतका राजनीतिक बन्दीहरुको रिहाइलाई लिएर भ्रमको खेति भैरहेको भन्दै असन्तुष्टि जनाउनुभएको हो । शुक्रबार ट्वीट गर्दै भट्टराईले चौधरीलगायत सबै राजनीतिक बन्दीहरूको बिनाशर्त रिहाइ गर्न मागसमेत गर्नुभएको छ ।
‘रेशम चौधरीलगायत सबै राजनीतिक बन्दीहरुलाई तुरून्त र निःशर्त रिहा गर ! थारूलगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकारसहितको राज्यपुनर्संरचना हुनेगरी संविधान संशोधन गर!’, भट्टराईले भन्नुभएको छ, ‘यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो ! यो क्षणिक सत्तास्वार्थका निम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस् !’ चौधरीलाई अदालतले थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरी भएको हत्याको दोषी ठहर गरेपछि उनी अहिले थुनामा छन् ।
जिल्ला अदालत कैलालीले सुनाएको जन्मकैदको सजाय उच्च अदालत दिपायलले सदर गरेको थियो । सरकार टिकाउन जसपाको साथ खोजिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र जसपाकै एउटा पक्षका नेताहरुबीच चौधरीको रिहाइको विषयलाई शर्त बनाएको चर्चा चलिरहेका बेला भट्टराईको पछिल्लो अभिव्यक्ति आएको हो ।
टिप्पणीहरू