प्रतिगमनविरुद्ध सबै पत्रकार एकै ठाउँ

प्रतिगमनविरुद्ध सबै पत्रकार एकै ठाउँ

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा पत्रकारका ११ वटा संघ संगठनबीच गठबन्धन गर्ने सहमति भएको छ । शुक्रबार ११ संगठनबीच भएको बैठकले गठनबन्धन गर्ने निर्णय गरेको हो ।

गठबन्धन गर्ने निर्णयलगत्तै जारी गरिएको ६ बुँदे साझा प्रतिबद्धतापत्रमा प्रतिगामी कदमविरुद्ध स्पष्ट सन्देश दिने गरी सम्पूर्ण व्यावसायिक पत्रकारहरूबीच वृहत्तर एकता कायम भएको बताइएको छ । ‘प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हक हित एवम् मिडियाको विकास प्रवद्र्धन तथा नागरिक अधिकार, लोकतन्त्रको पक्षमा नेपाल पत्रकार महासंघको ऐतिहासिक भूमिकालाई थप सबल र सुदृढ गर्न आसन्न निर्वाचनलाई प्रतिगामी कदमविरुद्ध स्पष्ट सन्देश दिने गरी सम्पूर्ण व्यावसायिक पत्रकारहरूबीच बृहत्तर एकता कायम गरी अगाडि बढ्न नेपाल प्रेस युनियनको नेतृत्वमा आपसी साझेदारी तथा एकता गर्न प्रतिवद्धता व्यक्त गर्दछौं,’ पत्रमा भनिएको छ ।

त्यसैगरी, सरकारी सञ्चारमाध्यमलाई एकलौटी ढङ्गमा प्रस्तुत गर्न र अन्य राजनीतिक दलका समाचारप्रति दूर्भावना राखी सम्प्रेषण गर्न बाध्य पारी त्यहाँ कार्यरत श्रमजीवी पत्रकारहरूमाथि मनोवैज्ञानिक दवाब दिने हर्कतप्रति पत्रमा आपत्ति जनाइएको छ ।

त्यस्तै, महासंघको आसन्न निर्वाचनमा प्रतिगामी कदमविरुद्ध रहेका पत्रकारहरूको संगठनहरूबीच सहकार्य गरी साझा समावेशी नेतृत्व चयन गर्ने र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा खबरदारी गर्न प्रतिबद्धता पनि जनाइएको छ । मिडिया काउन्सिल विधेयक, सार्वजनिक सेवा प्रशारण विधेयक, सामाजिक सञ्जाल निर्देशिकालगायत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी, नागरिक अधिकार कुण्ठित गर्ने कुइसिमका सरकारले अघि बढाएका विधेयकहरू फिर्ता गराउन थप संघर्ष गर्ने साझा प्रतिवद्धता जनाइएको छ ।

गठवन्धनमा प्रेस यूनियन, प्रेस संगठन, प्रेस चौतारी, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन, क्रान्तिकारी पत्रकार संगठन, मिडिया नेपाल, प्रेस सेन्टर नेपाल, देशभक्त पत्रकार संघ र लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाज आवद्ध छन् ।
११ संगठनको गठवन्धन सार्वजनिक भएलगत्तै प्रधानमन्त्री केपी ओली निकट पत्रकार संगठन प्रेस चौतारीले भने विधान विपरित सदस्यता वितरण गरिएको भन्दै असन्तुष्टि जनाएको छ । अध्यक्ष गणेश बस्नेतले विज्ञप्ति जारी गर्दै विधानसम्मत ढंगले सदस्यताको टुङ्गो लगाई अन्तिम नामावली प्रकाशन गर्न माग गरिएको छ ।

यता, महासंघको कर्णाली प्रदेश समितिले निर्वाचन समिति विघटन गरेको छ । ११ संगठनबीचको गठबन्धन सार्वजनिक भएलगत्तै जारी गरिएको विज्ञप्तिमा प्रदेश समितिको निर्णय विपरित केन्द्रले नामावली प्रकाशित गरेको भन्दै नामावली नसच्चिएसम्म प्रदेशको निर्वाचनसम्बन्धी सबै गतिविधि अगाडि नबढाउने बताइएको छ ।

महासंघले अन्तिम नामावली प्रकाशन गरेको तीन दिनसम्म चुपचाप रहेको बस्नेत नेतृत्वको चौतारी र महासंघ कर्णाली प्रदेशले ११ वटा संगठनबीच एकता भएलगत्तै यस्तो विज्ञप्ति निकालेको हो । बस्नेतको विज्ञप्तिलाई सम्भावित हारको अभिव्यक्तिको संज्ञा दिँदै प्रेस संगठनका एक नेताले प्रतिगमनविरुद्धको वैचारिक लडाईंमा एकजुट भएका पत्रकारहरूको गठबन्धन बनेपछि डराएको बताए । सदस्यता विवाद र कोरोना महामारीलाई देखाएर निर्वाचन भाँड्ने खेल हुनसक्ने भन्दै उनले सचेत हुन सबैलाई आग्रह गरेका छन् ।

टिप्पणीहरू