पढाइ हुने,कार्यक्रम नहुने

पढाइ हुने,कार्यक्रम नहुने

कोरोना संक्रमणको दर बढेपनि तत्काल विद्यालय तथा शिक्षालयहरू बन्द नहुने भएको छ । कोरोनाको दोस्रो लहर शुरु भएसँगै विद्यालय पुनः बन्द हुने चर्चा चलिरहेको बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी शिक्षण संस्था सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयले भीडभाड नहुने गरी दैनिक पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको हो । बिहीबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी सचेत भएर शिक्षण विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

विद्यालय सञ्चालन गर्दा मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारले तय गरेका जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डको कडाइका साथ पालना गर्न बैठकले निर्देशन दिएको छ ।

शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाईजर प्रयोग गर्ने,साबुन पानीले हात धुने,ज्वरो नाप्ने र सङ्क्रमणको लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले अनुरोधसमेत गरेको छ ।

मन्त्रालयले शिक्षण संस्थाहरूमा सभा,समारोह,वार्षिक उत्सव जस्ता भीडभाड हुने कार्यक्रम तत्कालका लागि स्थगित गर्न पनि अनुरोध गरेको छ ।
साथै,विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ को पूर्णरुपमा अनुशरण र पालना गर्नुपर्ने मन्त्रालयले बताएको छ ।

टिप्पणीहरू