कम्युनिस्टलाई एक ठाउँ बस्न सहज,मन मिल्न असहज
बृहत कम्युनिष्ट एकताको पक्षमा अभियान चलाइरहनुभएका नेकपा एमालेबाट बर्खास्त उपाध्यक्ष वामदेव गौतम अध्यक्ष ओलीसँग मिलेर जाने सम्भावना कमजोर बन्दै गएको निष्कर्षमा पुग्नुभएको उहाँ निकट एक नेताले बताएका छन् ।
पार्टी विभाजनलाई रोक्न भन्दै विभाजित दुवै पक्षमा नलागी पत्नी र छोरा बालुवाटारतिर खुले पनि छुट्टै अभियान चलाइरहनुभएका गौतम यसअघि संसदीय दलको बैठकमा जानुभएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीले गरेको व्यवहारबाट गौतम चिढिएको ती नेताले बताए ।
शुरुदेखि नै पार्टी एकताको पक्षमा रहनुभएका गौतम एमाले पुनर्स्थापित भएपछि ओलीसहित एकताको पक्षमा हुनुहुन्थ्यो । त्यसै कारण उहाँ ओलीले बोलाएको संसदीय दलको बैठकमा जानुभयो । तर,बैठकमा सम्बोधन गर्नुभएका गौतमलाई ओलीले बोल्दाबोल्दै रोकेपछि उहाँले अपमानित महसुस गरेको गौतमनिकट मानिनुहुने बलराम बाँस्कोटाले बताउनुभयो । आफूहरू एकताको पक्षमा भएपनि ओलीले त्यो भावनाको सम्मान नगरेको उहाँको गुनासो छ ।
‘पार्टीमा संघर्ष हुन्छ । हामी एकता, संघर्ष र एकताको पक्षमा थियौँ । हाम्रो चाहना पार्टीलाई विभाजन गर्ने हुँदै होइन,’उहाँले भन्नुभयो, ‘तर हाम्रो यो भावना केपी ओलीले बुझ्नुभएन ।’ गौतम संसदीय दलको बैठकमा सहभागी हुनुलाई केपी ओलीले भनेको सबै मानेर लुरुलुरु बालुवाटार गएको अर्थमा बुझ्न नहुनेमा उहाँले जोड दिनुभएको छ ।
‘हामी अन्तिमसम्म पनि पार्टी एकता बचाउन प्रयास गर्छौँ । तर यसको मतलब केपी ओलीले जे जे भन्यो त्यो लुरुलुरु मान्ने भनेको होइन,वामदेव कमरेडको अस्तिको उपस्थितिलाई आत्मसमर्पण गरेको रुपमा बुझ्नु गलत हुन्छ,’ बाँस्कोटाले भन्नुभयो ।
उहाँले पार्टी एकताबद्ध बनाउने कि फुटाउने अब ओलीकै हातमा रहेको बताउनुभयो । ओलीले गौतम र माधव–खनाल पक्षलाई पेलेरै जाने रणनीति त्यागे बिभाजन टाढा नरहेको उहाँको विश्वास छ । ओलीलाई पार्टी एकता जोगाएर बलियो कम्युनिष्ट पार्टीको नेता बन्ने अवसर अझै रहेको भन्दै उहाँले भन्नुभयो, ‘अन्यथा इतिहासले केपी ओलीलाई पार्टी विखण्डन गर्ने पात्रका रुपमा चिनाउँछ ।’
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पार्टीलाई एकताबद्ध बनाएर लैजाने आफूहरूको अपेक्षामाथि ओलीले कुठाराघात गरेको बाँस्कोटाको बुझाई छ । ओलीले फागुन २८ गते गरेको एकलौटी निर्णयकै कारण अहिलेको परिस्थिति आएको भन्दै उहाँले अझै पनि रियलाइजेसन गरेर सबैलाई समेटी बलियो पार्टी बनाउने अवसर भएको सुनाउनुभयो ।
‘उहाँले रियलाइजेशन नगर्ने र वरिपरिका चाटुकारहरूलाई मात्र विश्वास गरेर पार्टी भनेकै मैं हुँ भन्ने हो भने उहाँ इतिहासको कलंकित पात्रका रुपमा दर्ज हुनुहुनेछ’, बाँस्कोटाले भन्नुभयो, ‘अझै पनि हाम्रो विश्वास के हो भने पार्टी एकता जोगाउने हाम्रो प्रयासमा उहाँले साथ दिनुहुन्छ ।’
पार्टी एकता जोगाउने भन्दै गर्दा बाँस्कोटाले यथास्थितिमा भने एकताको सम्भावना नरहेको पनि बताउनुभयो । ‘पार्टीलाई एकताबद्ध बनाउने हो भने केपी ओली सुध्रिनुपर्छ । व्यक्तिगत रुपमा हाम्रो उहाँसँग कुनै गुनासो होइन, हाम्रो लडाईं ओली प्रवृतिविरुद्ध हो,’ उहाँको धारणा छ ।
बाँस्कोटाले ओलीले फरक विचार राख्नेहरूमाथि शत्रुतापूर्ण व्यवहार गरेको उल्लेख गर्नुभयो । माधव नेपालले बुझाएको स्पष्टीकरणले अब एमाले एकताको सम्भावना सकिएको चर्चा चलिरहेको बेला बाँस्कोटाले ओलीले सोधेको स्पष्टीकरण जवाफ दिनयोग्य नै नरहेको जिकिर गर्नुभयो ।
ओलीले सोधेको स्पष्टीकरणको जवाफमा नेपालले स्पष्टिकरणकै शैलीमा प्रश्न उठाएर जवाफ दिनुभएको थियो । नेपालले स्पष्टिकरण बुझाएलगत्तै बालुवाटारनिकट कतिपय नेताले मिलेर जाने सम्भावना अन्त्य भएको आशयको अभिव्यक्ति दिएका थिए ।
बाँस्कोटाले भने अन्तिमसम्म प्रयास गर्ने दोहोर्याउँदै भन्नुभयो, ‘स्पष्टीकरणको भाषा र शैली हेर्दा त्यसको जवाफ दिन आवश्यक नै थिएन । स्पष्टीकरणमा कमरेडली भावना हुनुपर्नेमा शत्रुतापूर्ण व्यवहार गरियो । त्यसैले उहाँ (ओली) स्पष्टीकरण सोध्न लायकमै हुनुहुन्न भन्ने देखिएको छ ।’
प्रधानमन्त्री ओलीले हिजो बोलाएको संसदीय दलको बैठकमा खनाल–नेपाल पक्षसमेत सहभागी भएको प्रसंगमा बाँस्कोटाले बैठकमा भाग लिएर त्यहिँ संघर्ष गर्न नेताहरूलाई सुझाव दिनुभएको छ ।
‘साथीहरू त्यहीँ गएर संघर्ष गर्नुहुन्छ । पार्टीका निर्णय प्रक्रियामा हाम्रो पूूरै असन्तुष्टि हुँदाहुँदै पनि पार्टी फुटाउनु हुँदैन भनेरै बैठकमा जान तयार भएको हो,’ उहाँले भन्नुभयो । बैठकमा जानुको अर्थ ओली प्रवृति स्वीकारेको रुपमा नबुझ्न आग्रह गर्दै बाँस्कोटाले भन्नुभयो ‘बैठक पनि संघर्षको एउटा मोर्चा हो, त्यहीँ संघर्ष गर्नुहुन्छ ।’
प्रधानमन्त्री ओलीले फागुन २३ यता गरेका निर्णयहरू सच्च्याएर २०७५ जेठ २ गतेको अवस्थाबाट सबैलाई समेटेर लैजान सके पार्टी एकतावद्ध हुने उहाँको भनाइ छ । ओलीले गल्ती रियलाइज गरेर पार्टी एकतालाई बचाउने गरी पहलकदमी लिनेमा बाँस्कोटाले झिनो आशा रहेको बताउनुभयो । ९९ दशमलव ९ प्रतिशत हुँदासम्म पनि आफूहरूको एकता अभियान जारी रहने उहाँको भनाई छ ।
वामदेव गौतमले छुट्टै अभियान चलाए पनि ओली प्रवृति विरुद्धको संघर्षमा खनाल–नेपालसँगै रहेको उहाँको धारणा छ । ‘वामदेव कमरेड पार्टीको एउटा शीर्ष नेता हो, उहाँलाई जसरी अपमान गरिएको छ । त्यो कम्युनिष्ट आन्दोलनकै लागि पनि दुःखको कुरा हो । त्यसैले वामदेव कमरेड पनि ओली ट्रेन्डको विरोधमा हुनुहुन्छ’, उहाँले उल्लेख गर्नुभयो ।
नेता बाँस्कोटाले जो जहाँ रहे पनि गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्नुपर्नेमा समेत जोड दिनुभएको छ । पार्टी एकताको सम्भावना क्षीण बन्दै गएकोतर्फ संकेत गर्दै हालको अवस्थामा अझै एकताको सम्भावना बाँकी छ र भन्ने आमजनताको प्रश्नमा उहाँको प्रतिप्रश्न छ ‘एकताको विकल्प एकता नै हो,अरु विकल्प सोच्नु हुँदैन । अन्तिमसम्म प्रयास गर्ने हो, तर भविष्यको ग्यारेन्टी त कसले लिन सक्छ र ?’
प्रधानमन्त्री ओली बोलिरहँदा उपाध्यक्ष वामदेव गौतमले पनि बोल्न समय माग्दा समय पाउनुभएन । वामदेवले बोल्न खोजेर समय मागेपछि ओलीले भन्नुभयो, ‘आज मेरो अर्को कार्यक्रम छ,विराटनगरको कार्यक्रम (भर्चुअल) उद्घाटन गर्नुपर्ने छ। आजलाई समय दिन सकिएन।’
टिप्पणीहरू