कोही सिंहदरबारमा, कोही सडकमा

कोही सिंहदरबारमा, कोही सडकमा

पञ्चायतकालीन कालरात्रिमा जूनकिरीजस्तै बलेर उज्यालोको खोजी गर्नु कम जोखिमपूर्ण थिएन । तर, स्वतन्त्रता र जनजीविकाका लागि जोखिमपूर्ण कार्यभार उठाउनेहरूलाई सोझासिधा जनताले न्यानो काखको तातो माया दिएकैले राजनीतिक दल अहिलेको अवस्थासम्म आइपुगेका ह्न् । तर, सर्वसाधारणले जे–जति अपेक्षा राखेका थिए, परिणाम भने उल्टो भयो । बोल्न पाउने स्वतन्त्रता मात्रै पाइयो । पेटलाई खोक्रो र भविष्यलाई अँध्यारोमा राख्नुपर्ने बाध्यताबीच प्राप्त स्वतन्त्रता पनि के स्वतन्त्रता ? चिनियाँ यात्रा ह्वेन साङ भारत पुग्दा त्यहाँका सम्राट् चन्द्रगुप्त मौर्यका महाअमात्य (प्रधानमन्त्री) विष्णु गुप्त चाणक्यलाई भेटेछन् । चाणक्य एउटा साधारण कुटीमा बस्थे । चिनियाँ यात्रीले सोधेछन्, ‘चाणक्य, तिमी यति ठूलो पदमा भएर पनि किन साधारण कुटीमा बसेको ?’

चाणक्यले जवाफ दिए, ‘जुन देशका शासक साधारण कुटीमा बस्छ, त्यो देशका जनताले महलमा बस्ने अवसर पाउँछन् । जुन देशका शासक महलमा बस्छन्, त्यो देशका जनता कुटीमा बस्न बाध्य हुन्छन् ।’ चाणक्य आफ्नो कुटीमा कुनै न कुनै रूपमा व्यस्त रहन्थे । उनी लेखपढको काम गरिरहँदा एउटा टुकी निभाउँथे र अर्को टुकी बालेर काम थाल्थे । चिनियाँ यात्रीले सोधे, ‘चाणक्य, तिमीले एउटा टुकी निभाएर अर्को किन बालेको ?’ चाणक्यले सहज उत्तर दिए, ‘पहिले जुन टुकी बालेर म काम गरिरहेको थिएँ, त्यो राज्यको काम थियो र मैले राज्यले दिएको तेल बालेर काम गरिरहेको थिएँ । पछिल्लोपटक आफ्नो व्यक्तिगत काम गरिरहेको छु, त्यसैले आफ्नै तेल खर्च गर्छु ।’

तर, राज्यलाई लुट्नु समकालीन राजनीतिमा हाम्रो देशको राजधर्म हुन पुगेको छ ।


चाणक्यहरूले जस्तै इमान्दारीको सपना देख्ने र त्यसैको शपथ खाने कमरेडहरू आज धुलोमा मिलेका छन्, मिलाइएका छन् । ठ्याक्कै एक वर्षअघि यस्तै धुलोमा मिलाइएका एक जना कमरेडसँग भेट भयो । भूमिगत अवस्थामा धनकुटा आउँदा ती कमरेडले हाम्रो घरमा सेल्टर लिएकाले पनि पुराना कुरा गर्नु थियो । खासमा धनकुटा, ताङ्खुवास्थित चुलाचुली माध्यमिक विद्यालयबाट पार्टीले टाइपराइटर मेसिन चोरी गरेकोबारे मैले पनि गाइँगुइँ सुनेकाले यसबारे केही जिज्ञासा राखेँ । एक जना पिस्कर्प स्वयंसेवीले उपहार दिएको टाइपराइटर चुलाचुली माविबाट चोरीको योजनाचाहिँ भीरगाउँ घर भएका तत्कालीन मालेका नेता उदय बस्नेतको रहेछ । त्यसलाई बोकेर निबुवाखोलासम्म ल्याउने जिम्मा डेगमान राई (हालः दिवंगत)को थियो । त्यसलाई मेरा दाजु डम्बर सुब्बा (हालः दिवंगत)हरूले सल्लेरी बनको उकालो कटाई वारि पात्लेका कुलकेशर वाग्लेको घरमा रहेको सेल्टरमा पु-याएछन् । पञ्चायतकालीन कडा सुरक्षाजाँचको त्यो समयमा एउटा ढाक्रेको भेषमा माले कार्यकर्ता पुष्प राई (हालः दिवंगत)लाई प्रयोग गरी टाइपराइटर मेसिन धरान पु¥याइछ । त्यतिखेरका माले, सुनसरीका सचिव राजेश बान्तवालाई सोधेँ, त्यो टाइपराइटर कता पुग्यो ? त्यसलाई भूमिगत रूपमा पार्टी काममा प्रयोग गरिएको जवाफ आयो ।


मदन भण्डारी कोशी अञ्चल सचिव हुँदा राजेश उपसचिव थिए । अहिले राजेशलाई उनकी जीवन संगिनी शारदाले सञ्चालन गरेको बागबजारको सानो गल्लीको चेपमा ब्याच तथा ब्यानर बनाउने पसलमा भेट्न पाइन्छ । ऋषि कट्टेलले नेतृत्व गरेको कम्युनिष्ट पार्टीमा संगठित छन् । पार्टीभित्र निकै पेलिइएका कमरेड हुन् । त्यसबेला दस्ताबेज लेखन तथा प्रकाशनका क्रममा विभिन्न ठाउँबाट टाइपराइटर मेसिन संकलन गर्ने पार्टीको नीति थियो । टाइपराइटरको प्रसंगमा कुराकानी गरिरहेको बेला माले गठनपछि यसको मुखपत्र ‘वर्ग संघर्ष’ भारतबाट छापेर ल्याउँदा कस्तो हण्डर खानुप¥यो, यसबारे उनले यो लेखकसँग केही कुराकानी गरे । ०३५ साल पुस ११ गते माओ त्सेतुङको जन्मजयन्ती पारेर मोरङको सातपिडीमा नेकपा (माले) गठन भयो ।

माले गठनपछि राजेश बान्तवा भारतको मुज्जफपुर जानुपर्ने भयो, पार्टी कामको सिलसिलामा । सीमावर्ती विराटनगरको रानीमा रहेर पार्टी संगठनमा सक्रिय राजेशलाई पार्टीले ईश्वर पोखरेलको पछि लगायो । यात्रा शुरु भयो, जोगबनीदेखि मुज्जफरपुरतर्फ थर्ड क्लास डिब्बाको रेलमा । रातको बासमा ईश्वरले खाना प्रस्ताव राखे, एउटै खाँदा पनि अघाइने बाक्लो रोटी खुर्सानी र नुनका साथ । ईश्वरलाई त्यस्तो खानामा पहिल्यै बानी परेकाले केही भएन तर बानी नपरेका राजेशलाई अपच भएर पखालाले समातिहाल्यो । पार्टीले प्राथमिक उपचार प्रणाली सिकाएकाले सामान्य औषधोपचारले पखाला ठीक भइहाल्यो ।

पार्टीले मुखपत्र ‘वर्ग संघर्ष’ को सबै सामग्री तयार पारेर छापाखानामा छाप्न दिइसकेको रहेछ । राजेशलाई लाग्यो, त्यो प्रकाशनलाई ईश्वर कमरेडसँग मिलेर नेपाल भिœयाइनेछ । ‘कमरेड, मचाहिँ गोरखपुर हुँदै पश्चिमतिर जानु छ, तपाईंले अरू काम गर्नुहोला’, ईश्वर पोखरेल चार÷पाँच प्रति पुस्तक झोलामा हालेर बाटो लागिहाले । सोझासिधा कमरेडको काँधमा आइलाग्यो, ‘वर्ग संघर्ष’को त्यो ठूलो बण्डल सीमापार गरेर नेपाल भिœयाउनुपर्ने जोखिमपूर्ण कार्य ।

मोटो पुस्तक, त्यो पनि हजार प्रति । त्यसको बण्डल लिएर रेल चढी मुजफरपुरबाट राजेश आइपुग्नुपर्ने कटिहारमा । साँझ ४ बजेको समय । रिक्सा प्रयोग गरेर पुस्तकको बण्डल रेलको प्लेटफर्मसम्म त ल्याइयो । हिउँदको समय भएकाले घाम गइसकेको थियो । एक्लो ज्यानले पुस्तकको भारी उठाउन सक्ने कुरै भएन । मजदुर लगाएर चढाउनुबाहेक विकल्प पनि थिएन । भारी उठाएर रेलमा हालेबापतको पारिश्रमिकमा मजदुरले पाँच सय भारु माग गरे । ओहो, त्यो बेलाको पाँच सय भारु !

‘म दिन सक्दिनँ’, राजेशबाट यति शब्द के फुत्किएको थियो, कुनै पनि मजदुरले त्यो भारी उठाउन मञ्जुरी देखाएनन् । प¥यो, फसाद !

बल्लतल्ल तीन सय ५० भारुमा कुरा मिल्यो र पुस्तकको बण्डल रेलभित्र हुलियो ।
रातभरको यात्रापछि रेल कटिहारमा रोकियो । रेलबाट पुस्तकको बण्डल उतार्दाचाहिँ ५० भारुमा सम्पन्न भयो । तर, चर्को खतरा कायम थियो । भारतीय प्रहरीले बण्डल चेकजाँच गर्नुपर्छ भनिहाल्यो । जवाफमा राजेशले हिन्दी भाषामा भने, ‘म दार्जिलिङतिर पढाउने शिक्षक हुँ । यो बण्डलमा दिल्लीबाट छापेर ल्याइएका पाठ्यपुस्तक छन् ।’
यति भन्दा पनि प्रहरीले बण्डल खोल्ने अडान लिए । राजेशले भारु ५० ती घुस खुवाउनुप-यो । प्रहरीको चेकजाँच पनि सकुशल सम्पन्न भइहाल्यो ।

यसरी अनेकौँ हण्डर खाँदै मुखपत्र जोगबनी आइपुग्यो । त्यो भण्डार गर्न नक्सलवादी आन्दोलनका एक बंगाली कार्यकर्ता ‘दादा’ कहाँ प्रस्ताव गरियो । उनी जोगबनीमा पसल चलाएर बस्थे । तर, त्यति ठूलो बण्डल आफ्नो पसलमा सुरक्षित राख्न उनले आनीकानी गरे । त्यतिखेर नक्सलवादीलाई भारतमा पनि सुरक्षा चुनौती थियो ।

राजेशले ती कमरेडलाई भने, ‘तपाईंहरू ज्यान जोखिममा राखेर भए पनि पार्टीको हितका काम गर्छु भनेर कसम खाने मानिस । यति सुरक्षा पनि गर्न सक्नुहुन्न ?’ त्यसपछि ती कमरेड गले । दस्ताबेज सुरक्षित हुने भयो ।

ती बंगाली कमरेडको पसलबाट एउटा दुईवटा गर्दै ‘वर्ग संघर्ष’का प्रतिहरू सीमावार भई नेपाल भित्रिने क्रम जारी थियो । अरू बढी नै प्रति भिœयाएर नेपालभरि छर्ने योजना पनि छँदै थियो । पार्टीका ठूला नेता यसको पर्खाइमा थिए । योजनाअनुसार कार्य सम्पन्न गर्न रघुपति जुटमिलमा कार्यरत धनकुटा आहालेका जितबहादुर राई खटिए । उनको डेरामा पाहुनाका रूपमा जिम्मेवार कमरेडहरू उपस्थित थिए । पाहुनालाई खुवाउन एक धार्नी सुँगुरको मासु व्यवस्था गरिएको थियो । भात पाकिसकेको थियो, मासुको झोल भकभक उम्लिरहेको थियो ।

खाने सुरसार चलिरहेका बेला अचानक खबर आयो, सिमानामा चेकजाँच गर्ने क्रममा ‘वर्ग संघर्ष’ लिन गएका कमरेड जितबहादुर पक्राउ परे । सूचनाअनुसार अब जिम्मेवार कमरेडहरू भात र पुस्तक पर्खेर बस्न उचित हुने छैन । त्यहाँ उपस्थित मदन भण्डारी र अर्को एक जिम्मेवार कमरेडसहित राजेशले तत्कालै सेल्टर छाड्नुप-यो । भाग्दै र सुरक्षा खोज्दै तीनै जना राति १ बजे तीनटोलियास्थित शिक्षक बीके बर्मा र राम बर्माको घरमा आई खाना खाएर ३ बजेतिर आ–आफ्नो ठाउँतिर जाने क्रममा मदन र अर्को एक जना कमरेड मोरङतिर र राजेशचाहिँ सुनसरीको मधेलीतिर लम्के ।

यता, पक्राउ परेका जितबहादुर राईले चाहिँ अनेकौं अक्कलले कमरेडहरूलाई बचाए । उनले आफूले पुस्तकलाई सीमापार गर्न लगाउने मानिस खासै नचिनेको र सीमापार गराएबापत एक पुस्तकको २०–२५ रूपैयाँ दिने भनेकाले ओसारपसार गरेको भन्दै यस्तो जिम्मेवारी दिने व्यक्ति यस्ता छन् भनी नक्कली हुलिया दिएछन् । उनी एक महिनापछि जेलबाट छुटे । पछि अवैध रूपमा सीमा वारपार गर्ने व्यक्ति र अनेकौँ जुक्ति लगाएर ‘वर्ग संघर्ष’ बचेखुचेका प्रतिहरू नेपाल भित्रियो ।

यो पुस्तक छाप्न र नेपाल भिœयाउन ज्यान जोखिम मोल्नेमध्ये ईश्वर पोखरेल नेपाल सरकारका उपप्रधानमन्त्रीको रूपमा शक्तिशाली राज्यसञ्चालक छन् भने राजेश बान्तवाचाहिँ वृत्ति चलाउन श्रीमती शारदाले सञ्चालन गरेको सानो पसलमा सहयोगीका रूपमा । चाणक्यको भनाइजस्तै जबजब राज्य सञ्चालकले महल रोज्छ, तब जनताको झुपडीमा बास हुन्छ भन्ने यथार्थ चित्र यताबाट पनि खोज्न सकिन्छ ।

– राजकुमार दिक्पाल

टिप्पणीहरू