पत्रकारको वार्तामा ‘हली’ प्रवेश
प्रत्यक्ष निर्वाचनको अभ्यास गर्दै पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघको नेतृत्व भर्खरै छानिएको छ ।
उम्मेदवारहरूले जे जे एजेण्डा पस्केको भएता पनि मुख्य नारा प्रतिगमन पक्षधर र प्रतिगमनविरोधी भन्ने थियो ।
एकातिर सरकारको समर्थनमा रहेको प्रेस चौतारी नेपाल, विप्लव निकटको जनपत्रकार संगठन, राप्रपा निकटको मिडिया नेपाल, जनता समाजवादी पार्टीनिकट प्रेस मञ्च नेपाल, रामचन्द्र खड्का नेतृत्वको दैनिक पत्रिका राष्ट्रिय सञ्जाल, डा. केशव देवकोटा अध्यक्ष रहेको व्यावसायिक पत्रकार महासंघ, प्रेम कार्की नेतृत्वको नेपाल लेखक पत्रकार समाज, नारायणप्रसाद शर्मा नेतृत्वको पिपुल्स भोलिन्टियर्स जर्नालिस्ट फोरम र योगेन्द्रप्रताप शाही नेतृत्वको अपांग पत्रकार संघ रहेका थिए ।
अर्कोतिर कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी निकट प्रेस संगठन नेपाल, नेकपा एमाले (नेपाल–खनाल समूह) निकटको प्रेस चौतारी, नेकपा मसाल निकटको प्रगतिशील पत्रकार संघ नेपाल, नेकपा वैद्य निकट क्रान्तिकारी पत्रकार महासंघ, मोहन सिंह नेतृत्वको मधेसी पत्रकार समाजलगायत पत्रकारसम्बद्ध संघसंगठन मैदानमा थिए ।
अन्ततः चुनावी परिणाम प्रतिगमनविरुद्धको शक्तिले जितेको छ ।
केन्द्रमा कर्णाली र लुम्बिनी प्रदेश प्रेस संगठन र प्रेस चौतारीलाई दिने गरी प्रेस युनियनले गठबन्धन गरेको थियो । सहमतिअनुसार कर्णाली र लुम्बिनीमध्ये एक प्रदेशमा चौतारीले अध्यक्ष पाउनुपर्ने भद्र सहमति थियो । सम्झौतामा पनि प्रेस संगठन÷चौतारी लेखिएको थियो । तर, भएन त्यस्तो ।
लुम्बिनी प्रदेश तहमा चौतारीकै पूर्वकेन्द्रीय अध्यक्ष बालकृष्ण चापागार्इंको अगुवाइमा चौतारी केन्द्रीय सदस्य घनश्याम गौतम, नरेश केसी, शिवलाल सुवेदी केन्द्रीय एलायन्स बिग्रनु हुँदैन भन्ने धारणासाथ प्रस्तुत भइरहे । तर, युनियनबाट वार्ताको नेतृत्व गरेका देवेन्द्र बर्माको शैलीको कारण छलफलले सार्थकता पाउन सकेन ।
भालुवाङको इभरल्याण्ड होटलमा भएको वार्तामा म त हली हो, माथिबाट जे आदेश आउँछ त्योभन्दा दायाँबायाँ गर्न सक्दिनँ भन्दै वार्ताको क्रममा कमा, पूर्णविरामसमेत परिवर्तन गर्न नसक्ने हैसियतसाथ प्रस्तुत भएका बर्माले नेतृत्व गरेको युनियनले चौतारीलाई संख्यात्मक हिसाबले समस्यामै पु¥याउनेगरी छलफल ग¥यो । छलफलमा संगठनको तर्फबाट विनोद पहाडी, मौसम रोका, मानसिंह विश्वकर्माहरूले विभिन्न विकल्प प्रस्तुत गर्दा बर्मा माथि सोध्नुपर्छ भन्दै छलफल कक्षबाट बाहिरिन्थे । अनि फोनमा को–कोसँग घण्टाैं कुरा गरेपछि पुनः छलफलमा बस्थे ।
संगठनको नेतासमेत रहेका संविधानसभा सदस्य विनोद पहाडीको सुझबुझपूर्ण संवाद र शालिनताले भालुवाङमा झण्डै–झण्डै भत्किसकेको गठबन्धन पुनः जोडियो । भालुवाङमा बिग्रिसकेको गठबन्धन पुनः बुटवलमा बसेर सुल्झाउने काम भयो । सायद पहाडी, चापागाइ र युनियनका हरि लम्साल नभएको भए लुम्बिनी प्रदेशमा गठबन्धनको सम्भावना टर्ने थियो ।
लुम्बिनीमा पनि अध्यक्ष पद फुत्काको प्रेस संगठनले समेत युनियनलाई साथ दियो । अन्ततः चौतारीले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा उम्मेदवारी दियो । जसकारण केन्द्रमा समेत खैलाबैला मच्चियो ।
निर्वाचनको समय पनि लुम्बिनी प्रदेशमा कुल २४७ मत रहेको प्रेस चौतारी खनाल नेपाल समूहको अर्थपूर्ण उपस्थिति थियो । उसले गुल्मीमा अध्यक्ष, कपिलवस्तुमा उपाध्यक्ष, रूपन्देहीमा सचिव, अर्घाखाँचीमा सहसचिव, रोल्पामा सहसचिव, दाङमा सदस्य, प्युठानमा सदस्य, पाल्पामा पदाधिकारी, बाँकेमा सदस्य, बर्दियामा सदस्यहरू जित्न सफल भएको छ ।
लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका विकास बन्जाडे टिममा परेनन् । प्रदेश सचिवका उम्मेदवार नरेश केसी पनि समेटिएनन् । निर्वाचनको अघिल्लो रातिसम्म प्रेस युनियन र प्रेस संगठनको उच्च नेतृत्वले ती दुवैको नाम प्यानलमा राखेर पठाउने बताइरहँदा अन्ततः दुबैजनाको नाम टिममा राखिएन । दुवै जनाले स्वतन्त्र उम्मेदवारी कायम राखे । केसीलाई रूपन्देहीमा आधिकारिक प्यानलका दुबै उम्मेदवारभन्दा सर्वाधिक मत प्राप्त भयो ।
लुम्बिनी प्रदेश अध्यक्षको उम्मेदवार रहेका घनश्याम गौतमले केन्द्रीय सदस्यमा उठेका थिए । प्रगतिशील लोकतान्त्रिक प्यानलको गठनबन्धन बिग्रिने डरले चौतारीको उच्च नेतृत्वको आग्रहअनुसार गौतमले उम्मेदवारी फिर्ता लिए ।
लुम्बिनी प्रदेशबाट दुईजना मात्रै सदस्य हुनेगरी संगठनका सुशील पोखरेल र युनियनका भवानी पाण्डेलाई गौतमको सहमतिमा उम्मेदवारी तय गरियो । तर, अन्तिममा चौतारीकै साथीहरूलाई प्रदेशमा धोकाधडी भएको गुनासो छ ।
– भक्तबहादुर रम्जाल
टिप्पणीहरू