विदेशका दूतहरूको परराष्ट्रमा गुनासो
नेपालस्थित विभिन्न मुलुकका अवैतनिक वाणिज्यदूतहरू दोषीलाई कारबाही गर्न र निर्दोषलाई घानमा नपार्न आग्रह सहित गतहप्ता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसमक्ष डेलिगेशन गएका छन् । उनीहरूले परराष्ट्र मन्त्रीलाई भेटेर एकजनाको गल्तिको कारण सबैलाई दुःख नदिन आग्रह गरेका थिए ।
नेपालमा विभिन्न देशका ५२ जना अवैतनिक दूतहरू कार्यरत छन् । ती सबै ब्यापारिक पृष्ठभूमिका हुन् जसमध्ये डिन अफ कन्सुल जनरल्ससहित डेलिगेशनमा तीन जना परराष्ट्र गएको बताइन्छ । किर्गिस्तानका अवैतनिक दूत तथा शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले कूटनीतिक सुविधामा प्राप्त सवारी साधनको प्रयोग गरेर गत वर्ष थर्मल गनको कालोबजारी गरेका थिए । प्रहरीले कूटनीतिक सुविधाको गाडीसहित कालोबजारी गरिएको थर्मल गन समातेपछि उनीलगायत सबै अवैतनिक कूटनीतिज्ञको सुविधा नम्बर प्लेट खोसिएको थियो ।
उनीहरूले सरकारले एकतर्फी निर्णय गर्दा अरु निर्दोषलाई मर्का परेको बताउँदै परराष्ट्र मन्त्रीसँग सुविधाको मापदण्ड तोक्न आग्रह गरेका थिए । सुन तस्करीबाट व्यवसाय फैलाएका शंकर ग्रुपका अग्रवालहरूले पछिल्लो दिन कूटनीतिक सुविधाको आवरणमा कालोबजारी गरेको पुष्टि भएको हो ।
गत वर्ष सरकारको निर्णयपछि पनि केहीले अझै कूटनीतिक सुविधाकै गाडीमा सयर गरिरहेको पाइन्छ । सुरज वैद्यदेखि मनोज श्रेष्ठसम्मले त्यस्तो गाडी अझै चढिरहेको ट्राफिक प्रहरीको दावी छ ।
सुविधा खोसिएका एकजना अवैतनिक दूतले भने, ‘मारवाडी समुदायको एकजना अवैतनिकले बदमासी गरेको रिसमा अरुको सुविधा खोस्ने निर्णय गलत हो । जबकि रविभक्त श्रेष्ठ,मनोज श्रेष्ठ,सुरज बैध्यलगायत,अजय सुमार्गीलगायत स्वदेशी रैथाने भनिएका पुँजीपति र उद्योगपतिले गरेका गलत कार्यमा आँखा चिम्लिने राज्यको नीति पनि त्यत्तिकै घातक छ ।’
उनी भन्छन् ‘सुलभले गरेको गल्तीको सजायँ अरुले भोगिरहेका छन् । तर उनैका बुबालाई राज्यले बैशाख १ गते पदक प्रदान गरेर उच्चसम्मान देखाइसकेको छ ।’ सुलभका कारण वाणिज्य दूतहरूले पाइआएको कूटनीतिक नम्बर प्लेटको सुुविधा खोस्नु र उल्टो उनैका बुबालाई राष्ट्रिय सम्मान दिनुले जग हँसाएको उनीहरूको दाबी छ ।
टिप्पणीहरू