नेपाली सेना विदेशमा पनि सक्रिय
शान्ति सेनामा खटिएको नेपाली सेनाले विदेशमा पनि नागरिक–सैनिक सहकार्यलाई बढावा दिएको छ । शान्ति सेनाअन्तर्गत लेबनानमा खटिएको सेनाको बर्दबहादुर गणले त्यहाँको माज्दल स्लिम र साक्रा नगरपालिकामा वृक्षारोपण गरेको छ ।
ब्लु टु ग्रिन क्याम्पेन २०२१ लाई निरन्तरता दिँदै शान्ति सेनाको ६२औं डफ्फाले त्यहाँका नगर प्रमुखहरुको सहभागितामा माज्दल स्लिम र साक्रा नगरपालिकामा प्रत्येक जातका २ सय ५० वटा पाईन्स,सेडार, कारबोस,ओलिभ र फिग्स प्रजातिका विरुवा रोपेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
त्यस्तै,लेबनानको मदर्सडेको अवसरमा हौला नगरपालिकाका महिलाहरुलाई लक्षित गरी चैत ९ गते सञ्चालन गरिएको कोभिड–१९ र महिला स्वास्थ्य अभिमुखीकरण तालिमका सहभागी २३ जना महिलाहरुलाई कोभिड किट र फस्ट एड किट वितरण गरेको निर्देशनालयले बताएको छ ।
गणले चैत २४ गतेदेखि डेन्टल ओपीडी पुनः सञ्चालनमा ल्याएको पनि जानकारी दिएको छ । ओपीडी सञ्चालनमा आए पश्चात् जिम्मेवारी क्षेत्रका स्थानीयहरुले दाँतसम्बन्धी स्वास्थ्य सेवा प्राप्त गरेको सेनाले जनाएको छ । हालसम्म स्थानीय १० जनाले आकस्मिक सेवासमेत प्राप्त गरेको निर्देशनालयले जानकारी दिएको छ ।
लेबनानको दक्षिणी क्षेत्रमा तैनाथ युनिफिल मिशनको शान्ति सैनिकको जिम्मेवारी वहन गरिरहेको गणले कोरोना महामारीका बेलासमेत आफ्नो जिम्मेवारी क्षेत्रमा सीआईएमआईसी गतिबिधिलाई निरन्तरता दिएकाले स्थानीय निकायको मन जित्न सफल भएको सेनाको दाबी छ ।
टिप्पणीहरू