ओली, नेपाल दुवैतिर असन्तुष्टि
नेकपा एमालेका दुई समूहले अलग–अलग कमिटी बनाउने क्रममा आफ्ना नजिककाहरूलाई फुत्त तान्ने गरेको भन्दै आलोचना हुन लागेको छ । ललितपुर जिल्लामा पनि नेकपा एमालेको समानान्तर कमिटी गठन गर्ने दुबै समूहभित्रको अन्तरकलह छताछुल्ल छ । ओलीपक्षीय जिल्ला कमिटीमा आफ्नो प्रभाव बलियो बनाउन आनन्द पोखरलसँग निकट समूह र अन्तरविरोध झेलिरहेको अर्को समूहको माथापच्ची सुरु भएको छ । १ नं निर्वाचन क्षेत्रभित्रका तल्ला कमिटीहरू गठन गर्दा सांसद नवराज सिलवाललाई असहयोग हुने भन्दै आफ्नो पकडवाला कमिटी बनाउन मधुसूदन पौडेल र चेतनाथ सञ्जेल लागिपरेका छन् । सिलवाललाई निर्वाचन क्षेत्रमा आउन नदिन लागिपरेको र चुनाव जितेपछि समेत टक्कर दिएर थुप्रै असहयोग गरेको पौडेल सञ्जेल समूहले अर्को पटक उनको पक्षमा संगठन नरहेको तथ्य ल्याउन अहिले कमिटी बनाउने बेलैमा ध्यान दिनुपर्ने निश्कर्षसहित योजना बनाएको छ । यो समूहले सिलवालको सेटमा युवाहरूलाई गोलबद्ध बनाएको भन्दै पुरुषोत्तम आचार्यलाई सचिव बन्नबाट रोकेको थियो ।
ओली समूहले १ नं निर्वाचन क्षेत्रमा सांगठानिक गतिविधि तीव्र बनाएको छ भने २ र ३ मा पनि उपस्थिति बढाइरहेको छ । माधव–झलनाथ समूहमा पनि आफ्नालाई काखी च्यापेको भन्दै उस्तै अन्तरविरोध चर्किएको छ । माधव निकटका हरिकृष्ण थापालाई अध्यक्ष बनाएको र आफूलाई साइड लगाइएको भन्दै साविक एमालेमा उपाध्यक्ष रहेका श्यामकृष्ण सिलवालले गुनासो गरिरहेका छन् । जिल्ला अध्यक्ष नबनाए या केन्द्रीय सदस्यसरहको मान्यता नपाए आफू निष्क्रिय हुने संकेत सिलवालको छ । सचिव र उपसचिवमा जिल्ला कमिटी सदस्यबाट बढुवा गरिएका प्रेम महर्जन र तारा सञ्जेल पनि नेता पन्त र तत्कालीन उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका खास मान्छे भएको र विधि–पद्धतिको धज्जी उडाइएको गुनासो आएको छ ।
टिप्पणीहरू