यता खुल्न लाग्यो नयाँ भर्ती
परदेशीले घरलाई सम्झेर चिठी लेख्ने चलन गइसक्यो, न सामान पठाउन हुलाक धाउनुपर्छ । तर, पनि देशमा हुलाक छ, हल्कारा छन् । देशमा हुलाकमात्रै छैन, त्यहाँ भर्ती गर्न सकिने कर्मचारीका दरबन्दी पनि खालि छन् । यही बेला देशमा चुनाव होला–होलाजस्तो, विभाजित अवस्थाको सत्तारुढ दलमा मान्छे टिकाउनका लागि यस्ता भर्तीतिर आँखा लगाउनुपर्ने अवस्था छ ।
स्थायी, अस्थायी र करार गरी १६–१७ हजार जनशक्तिको दरबन्दी हुने निकाय हो त्यो । त्यहाँ अहिले हजारदेखि १५ सय वटा विभिन्न किसिमका दरबन्दी खाली छन् । ६–७ हजार स्थायी कर्मचारी छन् । बाँकी कोही अस्थायी हुन्, कोही करारका । स्थायी दरबन्दी त सरकारले चलाउने कुरा भएन । तर, अस्थायी र करारमा चाहँदा मान्छे राख्न सकिन्छ ।
विभिन्न जिल्ला हुलाक कार्यालयमा हल्कारा (हुलाकी) भर्ना हुन्छन् । त्यो अधिकार तलै दिइएको छ । नेपाली समाजको मनोविज्ञान कस्तो छ भने, परिवारको एउटा सदस्यले सरकारी जागिर पायो भने त्यसले वरिपरिका आठ–दश घरलाई खुशी बनाउँछ, अर्थात् जागिर लगाउनेप्रतिको आकर्षण बढ्छ । शंका गरिँदै छ, कतै यो सरकार यस्तै नदेखिने तर भर्ना गरिने ठाउँहरू कब्जा गर्दै चुनावी सफलताका लागि अग्रसर हुने त होइन ?
डिल्लीबजारस्थित हुलाक सेवा विभागले हुलाक सुधार कार्यदलको अन्तिम प्रतिवेदनका आधारमा नियमावली पुनरवलोकनको प्रस्ताव मन्त्रालय पठाएको छ । सञ्चारमातहत रहने यो विभागमा नयाँ कर्मचारी भर्ना गर्नबाट रोकिँदै आएको छ । गत वर्ष साउन ६ गते सामान्य प्रशासन मन्त्रालयले करारमा कर्मचारी भर्नाका निम्ति ४ बुँदे निर्देशन दिइसकेको छ । तर, भर्ना नियमावली पुनरवलोकनको नाममा रोकिएको छ ।
सामान्यले सार्वजनिक खरिद नियमावली ०६४ को नियम ९५ बमोजिम करार भर्नाका लागि निर्देशन दिएको हो । स्थायी दरबन्दी पूर्ति भएमा वा फाजिलमा रहेका कर्मचारी आएमा करार स्वतः रद्ध हुने गरी भर्ना लिनका लागि सामान्यले निर्देशन दिएको थियो । नियमावली अड्काएर ऐन–मौकामा आफन्त भर्ति गर्न सकिने गरी काम रोकिएको मन्त्रालयस्रोतले जनाएको छ । जबकि करारका कर्मचारी महानिर्देशक स्वयंले भर्ना गर्न पाउने अधिकार छ ।
हुलाकले लामो समयदेखि थाई एयरलाइन्स र लुफ्थान्सासँग देश–विदेशमा पार्सल ल्याउने–लाने सम्झौता गरेको थियो । तर, अहिले थाइसँग त्यो सम्झौता तोडिएको छ । लुफ्थान्सासँग नयाँ सम्झौताका लागि प्रस्ताव पठाइएको छ । बरु, हुलाकले एयर इण्डियासँग सम्झौता गरेर कार्गोको काम गरिरहेको छ ।
टिप्पणीहरू