अविश्वास आउनासाथ मुख्यमन्त्री मधेसीसङ्ग वार्तामा
आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने आंकलन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशन अन्त्य गरेकै दिन उहाँका विश्वासपात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । पोख्रेल भने अहिले मधेसी दलका चार जना सभासदसङ्ग वार्ता गर्दै हुनुहुन्छ ।
प्रतिपक्षी काँग्रेस र माओवादी केन्द्र मिलेर अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । केन्द्रमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई काँध थाप्न तयार भएको जसपाका केही माननीय पनि अविश्वासको प्रस्तावका पक्षमा खुलेपछि पोखरेलको पद धरापमा परेको छ ।
अविश्वास प्रस्तावमा ४१ सांसदले हस्ताक्षर गरेको बुझिएको छ । प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जनाले हस्ताक्षर गरेको बताइएको छ । विपक्षी गठवन्धनले नयाँ मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रको दलका नेता कुलप्रसाद केसी सोनामलाई अघि सारेको छ ।लुम्बिनी प्रदेशसभामा कूल ८७ सांसद छन् । एमाले प्रवेश गरेका माओवादी केन्द्रका दुई सांसदको पद खारेज भएकाले नयाँ सरकार बनाउन ४३ प्रदेशसभा सदस्य चाहिन्छ । प्रदेशसभामा एमालेको ४१,कांग्रेसका १९,माओवादी केन्द्रका १७,जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् ।
यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता भएको थियो । अविश्वासको प्रस्ताव आउने निश्चित भैसकेका बेला मुख्यमन्त्री गुरुङले मध्यरात संसद अधिवेशन अन्त्य गरेपछि विपक्षीहरुले विशेष अधिवेशन माग गरेका थिए ।
कर्णाली प्रदेशमा एमालेका चार सांसदले फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछिको तरंग लुम्बिनीमा पुगेको छ ।
टिप्पणीहरू