पत्रकार चुनाव:थप तनाव,निर्वाचन समितिका सदस्यद्वारा राजिनामा
नेपाल पत्रकार महासंघ नुवाकोटको चुनाव थप विवादमा परेको छ । गत चैत २५ गते सम्पन्न चुनाव विवादित बनेपछि केन्द्रीय निर्वाचन समितिले पुन: निर्वाचन गराउन निर्देशन दिएको थियो ।
तर जिल्ला निर्वाचन समितिका एकजना सदस्यले निर्वाचनमा अपराधका गतिविधि भएको र अर्को निर्वाचनमा पनि अपराधको योजना बनेको भन्दै आज राजिनामा दिएका छन् । समितिका सदस्य राम श्रेष्ठले राजीनामा दिएपछि नुवाकोटको चुनाव अन्यौलमा परेको छ ।
श्रेष्ठले २५ गतेको निर्वाचनमा प्रमुख निर्वाचन अधिकृत बशुराम रिजाल र सदस्य उत्तम घिमिरेले उम्मेदवारी दर्ता,नामावली प्रकाशनदेखि मतपत्रमा संकेत राख्नेलगायतको अपराध गरेको उल्लेख गर्नुभएको छ । उहाँले निर्वाचन आचारसंहिताविपरीतको काम नगर्न आग्रह गर्दा बहुमतको आधारमा निर्णय गरेर अघि बढेको आरोप लगाउनुभएको छ ।
श्रेष्ठले केन्द्रको निर्देशनअनुसार गर्न लागिएको दोस्रोपटकको निर्वाचनमा पनि निर्वाचन समितिले गलत गर्न लागेकोले आफूले सहि भूमिका निर्वाह गर्न नसक्ने हुँदा नैतिकताको आधारमा राजिनामा दिएको बताउनुभएको छ ।
उहाँले आफ्नो राजिनामासँगै अर्को निर्वाचन समिति गठन गर्न माग गर्नुभएको छ । “मैले दिएको राजिनामाले निर्वाचनमा अपनाइएका गलत नियतलाई थप प्रश्रय दिन होइन कि आगामी दिनमा पुन: अर्को निर्वाचन समिति गठन भएर निष्पक्ष निर्वाचन प्रक्रिया अघि बढाउन सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छु” राजिनामामा भनिएको छ ।
नुवाकोटमा नयाँ नेतृत्व चयनका लागि चैत २५ गते भएको चुनावमा संकेत नं राखिएका मतपत्र छापी निर्वाचन गराएको तथा संकेत नं राखिएका मतपत्रको मत गनेर निर्णय भएपछि जिल्ला निर्वाचन समितिविरूद्व उजुर परेको थियो । केन्द्रीय निर्वाचन समितिले मतपेटिका काठमाडौं झिकाई वैशाख २ गते एक साताभित्र अर्को चुनाव गर्न निर्देशन दिएको हो ।
तर पुरानै निर्वाचन समितिलाई निरन्तरता दिएपछि समितिभित्रै असन्तुष्टि देखिएको बताइन्छ ।
राजीनामाको विवरण
मिति : २०७८/०१/०६
श्रीमान प्रमुख निर्वाचन अधिकृत ज्यू,
नेपाल पत्रकार महासंघ,२६औं निर्वाचन समितिको कार्यालय,
नेपाल पत्रकार महासंघ,नुवाकोट ।
विषय : राजीनामा सम्बन्धमा ।
महोदय,
प्रस्तुत विषयमा नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनको लागि केन्द्र,प्रदेश र जिल्ला कार्यसमितिको निर्वाचन गराउन नुवाकोटमा गठन गरिएको निर्वाचन समितिको सदस्यको पदमा रहेर जिम्मेवारी पूरा गर्न दिएको अवसरलाई महत्वपूर्ण गरिमाको रुपमा लिएर तोकिएको कर्तब्य पूरा गर्न अहिलेसम्म म निश्पक्ष रुपमा क्रियाशील रहन गरेको प्रयासबारे अवगत नै छ । यसै सन्दर्भमा गत चैत २५ गते तीन तहको निर्वाचन एकै पटक सम्पन्न गर्ने उद्देश्यले निर्वाचन प्रक्रिया अघि बढाउने क्रममा तत्कालीन जिल्ला कार्यसमितिका नेतृत्वकर्ता तथा अध्यक्षको उम्मेदवारसमेत रहेका व्यक्तिमार्फत जसरी हुन्छ चुनाव जित्नको लागि अपनाएको हर्कतको प्रयासमा सम्मानित निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृत बशुराम रिजाल र सदस्य मध्येका अर्का सदस्य उत्तम घिमिरेको समेत प्रत्यक्ष मिलेमतोमा निर्वाचनको उम्मेदवारी दर्ता,उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशनको समयदेखि कैफियत गर्न सुरु गरेर निर्वाचनको समयमा प्रयोग गर्ने जिल्ला कार्यसमिति र केन्द्रीय प्रतिनिधि परिषद् सदय पदको मतपत्रमा संकेत नं. उल्लेख गरेको लगायतका नर्वाचन प्रकृयाको चरणमा विभिन्न हदका अपराधका गतिविधि भएको र उक्त गतिविधि नगर्न मैले गरेको अनुरोधलाई बेवास्था गर्दै बहुमतको आधारमा निणय गरेर अघि बढेको जानकारी गराउदछौ।
निर्वाचनमा मतदातालाई निर्धक्कसंग मत जायर गर्न पाउने अवसरबाट बञ्चित गर्दै अपनाइएका अपराधका गतिविधि उपर चुनाव पश्चात निर्वाचित पदाधिकारी, निर्वाचनका अध्यक्ष सहितका उम्मेदवार लगायतबाट केन्द्रीय निर्वाचन समितिमा दिएको उजुरीको सम्मानित केन्द्रीय समितिबाट पुनः निर्वाचन गराउन दिएको निर्देशन पश्चात पनि पुनः निर्वाचन प्रक्रिया अघि बढाउने बाहनामा अपराधका योजनामा निर्वाचन समिति सलग्न हुन लागेको प्रति दुःख लागेको छ ।
निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र र धाधलीरहित रुपमा गराउने महत्वपूर्ण जिम्मेवारी पूरागर्न पाएको जिम्मेवारी कोही व्यक्ति विशेषको उम्मेदवार विजय गराउन कानूनी प्रक्रियातर्फ नभई योजनाबद्ध अपराधतर्फ अघि बढ्न थालेसगै निर्वाचन समिति पुनः असक्षम हुने निश्चित देखेको छु । सोही कारण आफूले पाएको जिम्मेवारीको सही भूमिका निर्वाह गर्न प्रमुख निर्वाचन अधिकृत र अर्का सदस्यको गलत नियतको कारण आफूपनि असक्षम भएको महशुस गर्दै मैले नैतिकताको आधारमा निर्वाचन समिति समक्ष यो राजीनामा बुझाएको छ । मैले दिएको राजीनामाले निर्वाचनमा अपनाइएका गलत नियतलाई थप प्रश्रय दिन होइन कि आगामी दिनमा पुनः अर्को निर्वाचन समिति गठन भएर निश्पक्ष निर्वाचन प्रक्रिया अघि बढाउन सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छ।
राम श्रेष्ठ सदस्य,
जिल्ला निर्वाचन समिति,
नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको
२६औं महाअधिवेशन निर्वाचन समिति ।
टिप्पणीहरू