सरकार जोगाउन मन्त्रीको सौदाबाजी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएपछि मन्त्रिपरिषद विस्तार गरिएको छ ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि संकटमा पर्नुभएका मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टी (जसपा) का चार सांसदलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्नुभएको हो । मन्त्री बन्नेमा अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसदसमेत रहेका छन् । आफ्नो पद जोगाउन पोखरेलले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका र नगरेका दुबैलाई समेट्नुभएको छ ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरु विजय यादव,सन्तोष पाण्डे र सुमन रायमाझी मन्त्री बनेका छन् । त्यस्तै,हस्ताक्षेर नगरेकी कल्पना पाण्डेलाई पनि मन्त्री बनाइएको छ ।
यता,जसपाका अध्यक्ष उपेन्द्र यादवले भने आफ्ना सांसदहरु मन्त्री बन्न लागेको जानकारी नभएको बताउनुभएको छ । अविश्वासको प्रस्ताव दर्ता भैसकेपछि मन्त्रिमण्डल बिस्तार गर्न नमिल्ने भन्दै उहाँले जसपा सरकारमा नजाने पनि बताउनुभयो ।
‘हाम्रा सांसदहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षेर गरिसक्नु भएको छ। अविश्वास प्रस्ताव आइसकेपछि मन्त्रिमण्डल विस्तार गर्न मिल्दैन ।’, उहाँले भन्नुभयो ।
जसपाका चार सांसदलाई मन्त्री बनाउन लागेकोबारे सोधिएको प्रश्नमा अध्यक्ष यादवले अनविज्ञता प्रकट गर्नुभयो । उहाँले जसपा अविश्वासको प्रस्तावको पक्षमै रहेको पनि दोहोर्याउनुभयो ।
टिप्पणीहरू