राजावादीका अझै राजा फर्काउने रहर
नेपाली काँग्रेसको झैँ राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पनि घोषित मितिमा महाधिवेशन नहुने भएको छ । यसअघि वैशाख २७ गतेलाई महाधिवेशनको मिति तोकिएको थियो । विभिन्न विश्लेषण र प्रसंगमा महाधिवेशन नगर्ने भनेर बताइएको छ ।
अहिलेको अवस्थामा अध्यक्षको उम्मेदवार भनेर चिनिएका पशुपति समशेर राणा,कमल थापा र प्रकाशचन्द्र लोहनी तीन जनाकै स्थिति अनुकूल नभएपछि तत्काल महाधिवेशन नगर्ने सहमति गरिएको स्रोतको दाबी छ ।
स्रोत भन्छ ‘जहिले महाधिवेशन भएपनि सक्किनेचाँहि बूढाहरू नै हुन् । तर दोस्रो पुस्तालाई अन्य पार्टीमा समेत ढिम्किन नदिएकाले राप्रपामा पनि त्यो सम्भावना देखिएको छ । दोस्रो पुस्ता हाबी हुन थालेमा नेपालगञ्जका मेयर धवल समशेर राणा र झापाका सांसद राजेन्द्र लिंगदेनबीच प्रतिस्पर्धा गराइदिने कमल थापाको योजना रहेको छ ।’
राप्रपाका तमाम कार्यकर्ताको चाहना भने आगामी नेतृत्वमा धवल,राजेन्द्र र विक्रम थापामध्ये एक होओस् भन्ने रहेको बताइन्छ । त्यसैले कमलले धवलले बढी नै चाहना राखेको अवस्थामा राजेन्द्रलाई भिडाएर आफ्नो पद सुरक्षित पार्ने योजना बनाएका हुन् ।
त्यसैगरी बदलिँदो अवस्थामा उत्पन्न राजनीतिक घटना र विकासक्रमले राप्रपालाई उत्साहित बनाएकाले उनीहरू पर्ख र हेरको रणनीतिमा लागेका हुन् भनिन्छ । उनीहरूको विश्लेषणमा ‘राष्ट्रिय- अन्तर्राष्ट्रिय परिस्थितिले नेपालको राजनीति कता जान्छ भन्ने टुंगो छैन । त्यस्तै भयो भने मुलुकको राजनीतिक सिष्टम नै कोल्याप्स हुनसक्छ । त्यसैले महाधिवेशन मंसिरमा गर्नु उपयुक्त हुन्छ’ भनिएको छ ।
कसरी सिष्टम कोल्याप्स होला र ? भन्ने जनआस्थाको जिज्ञासामा राप्रपा स्रोतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिल्ली र हरिद्वारमा गरिएको भव्य स्वागतलाई सितिमिति ठान्न नहुने भनेको छ । उसको दाबी छ, ‘त्यत्रो भव्य स्वागत गरेकाले भारतले केही न केही निर्णय गर्छ । त्यो क्षणलाई आफूहरूले राजनीतिक रुपमा क्यास गर्ने तयारी गरिएको छ । कतै केपी ओलीले क्यास गर्लान् कि भन्ने डरचाँहि ठूलो छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले कसरी क्यास गर्नुहोला र भन्ने जिज्ञासामा राप्रपाका एकजना नेता भन्छन् ‘राजा पुनर्स्थापित गरिदिए आफूहरू जिल्लिने डर कमल थापाहरूलाई परेको छ ।’ भारतको आतिथ्यलाई हेरेर राप्रपा र राजावादीहरूले दक्षिणको मित्रले नेपालमा सांस्कृतिक राजाको व्यवस्था गराउने बुझेका छन् ।
उनीहरूको बुझाईमा त्यस्तो बेलामा पनि कार्यकारीचाँहि राष्ट्रपति नै हुनेछन् । राजा सांस्कृतिक रुपमा मात्र रहने भन्ने हो । व्यवहारमा गणतन्त्र र राजतन्त्र दुवै रहने सहमति पहिले गिरिजाको पालामा नै गरिएको भनेर ती नेताले पूर्वमन्त्री तथा नेता निरञ्जन थापालाई उद्धृत गर्दै बताएका छन् । त्यो बेलामा राजाले नमानेको कारण कुरो बिग्रिएको उनीहरूको दाबी छ ।
पूर्व राजा हरिद्वारबाट अस्ति आइतबार फर्कदा काठमाण्डौ विमानस्थलमा भव्य स्वागत गर्ने जुन हल्ला थियो त्यसअनुसार केही पनि भएन,नारा पनि ब्यवस्थित थिएन ।
टिप्पणीहरू