सत्ताका निहुँले जसपामा विभाजन प्रक्रिया शुरु
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षरको मसी नसुक्दै चार जना सांसद मन्त्री बनेपछि जनता समाजवादी पार्टीको विवाद उत्कर्षमा पुगेको छ । केन्द्रमा प्रधानमन्त्री ओलीसंग सत्ता सहकार्य गर्न चाहने एउटा समूह र ओलीविरुद्धको गठवन्धनलाई साथ दिइरहेको अर्को समूहबीचको तनावपूर्ण लडाई लुम्बिनी प्रदेश हुँदै जिल्ला र स्थानीय तहसम्म पुगेको छ ।
हिजो लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली काँग्रेस र माओवादी केन्द्रले ल्याएको अविश्वास प्रस्तावमा जसपाका पाँच सांसदले हस्ताक्षर गरेका थिए । त्यसको केही घन्टामै अध्यक्ष महन्थ ठाकुर खेमाका सांसदहरु सरकारको पक्षमा युटर्न भएपछि जसपाभित्रको अन्तरकलह भुसको आगो झैँ तलैसम्म पुगेको हो ।
लुम्बिनी प्रकरणले करिब फुटको अवस्थामा पुगेको जसपाका दुई खेमाबीच आरोप प्रत्यारोपको दोहोरी चलिरहेको छ । महन्थ खेमाले नवनियुक्त मन्त्रीहरुलाई बधाई दिइरहेका बेला अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारबाट फिर्ता हुन निर्देशन दिँदै अन्यथा सांसदबाटै कारवाही गर्ने चेतावनी दिएको छ ।
हिजै लुम्बिनी प्रदेश समितिका नाममा दुई वटा फरक(फरक विज्ञप्ति सार्वजनिक भएका थिए । महन्थ खेमाका प्रदेश अध्यक्ष रविदत्ता मिश्रले नवनियुक्त मन्त्रीलाई बधाई दिंदै पार्टीको निर्देशनअनुसार नै सरकारलाई समर्थन गरेको बताएका छन् । उनले मन्त्रीहरुलाई पार्टीले स्पष्टिकरण नसोधेको र कुनै कारवाहीको प्रक्रिया अघि नबढेको प्रष्ट पारेका छन् ।
उपेन्द्र पक्षका लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादवले भने पार्टीमा बिना छलफल मन्त्री बनेको भन्दै सरकारबाट यथाशीघ्र फिर्ता हुन चारै जनालाई आग्रह गरेका छन् । २४ घण्टे स्पष्टिकरण सोध्दै उनले सरकारबाट फिर्ता भएर चित्तबुझ्दो जवाफ नदिए सांसद पद नै नरहने गरी थप कारवाही गर्ने चेतावनी दिएका छन् ।
यता,रुपन्देही जिल्ला कमिटीले सांसदहरुलाई कारवाही गर्ने प्रदेश समितिको निर्णयको स्वागत गरेको छ । अध्यक्ष रामअवतार यादवले पत्रकारका नाममा जारी गरेको विज्ञप्तिमा पार्टीको निर्णय विपरित एमाले नेतृत्वको सरकारमा सहभागी भएकाले कारवाही गरिएको उल्लेख छ।
चारै जनालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिसकेको सन्दर्भमा उनीहरु सहभागी हुने सार्वजनिक वा राजनैतिक कार्यक्रममा सहभागी नहुन विज्ञप्तिमा पार्टीका सदस्य र शुभचिन्तकहरुलाई अनुरोध गरिएको छ ।
टिप्पणीहरू