सार्वजनिक जग्गा,चाम्लिङ्गको स्वाद
काठमाडौँको मुटुमै सरकारी जग्गा हडपेर एक व्यक्तिले १० वर्षदेखि रजाइँ गरिरहेको भेटिएको छ । धोवीखोला करिडोरमा सार्वजनिक जग्गा हडपेर घर-टहरा बनाई १० वर्षदेखि भाडा उठाएर खाँदै आएका ती भू-माफियाविरुद्ध स्थानीयले उजुर हालेपछि घटना बाहिर आएको हो ।
काठमाडौँ महानगरपालिका-१० स्थित देवीनगर निवासी इन्द्रकुमार चाम्लिङले सार्वजनिक जग्गा हडपी करिब १० वटा घर टहरा निर्माण गरेर भाडा खाइरहेको भेटिएको हो । लामो समयदेखि सरकारी जग्गामा हालिमुहाली गर्दै आएका चाम्लिङ्ले कित्ता नम्बर ६५,६६, १९१, ४३०, ५४९, ५५२, ५५३, ७७१, ७७२ लगायतका विभिन्न सार्वजनिक जग्गा हडपेको पाइएको छ । ती जग्गामा उनले विभिन्न संरचना बनाएर भाडासमेत खाइरहेका छन् ।
चाम्लिङले हडपेको जग्गा हटाउन अख्तियारले पटक-पटक निर्देशन दिएपनि अटेर गरेको बताइएको छ । अख्तियारले निर्देशन दिएपनि कारवाहीका लागि पहल नगरेपछि स्थानीय आफैं तातेका थिए । पछिल्लो समय चौतर्फी कुरा उठेपछि अख्तियारले पनि छानबिन थालेको छ ।
चाम्लिङले तीसँगै जोडिएका केही कित्ता जग्गा भने आफ्नो नाममा दर्ता गराइसकेको स्थानीयको भनाइ छ । यस विषयमा भने मालपोत कार्यालयले छानविन गरी नेपाल सरकारको नाममा ल्याउन सक्ने कानुनी अधिकार छ । त्यहीअनुसार सरकारी जग्गा संरक्षण हुनुपर्ने माग स्थानीयको छ ।
काठमाडौं क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले सार्वजनिक जग्गा व्यक्तिले अतिक्रमण गर्न नपाउने भन्दै जो सुकैले अतिक्रमण गरेको भए पनि वडा कार्यालय,जिल्ला प्रशासन कार्यालयलगायतका निकायसँग समन्वय गरेर अतिक्रमण हटाइने प्रतिबद्धता व्यक्त गरे ।
आफ्नै परिवारको सदस्यले सार्वजनिक जग्गा खाएपनि आफूले नछाड्ने बताउँदै उनले स्थानीय वासिन्दा,जनप्रतिनिधि र प्रशासनको सामूहिक प्रयासमा सार्वजनिक जग्गामा भएका त्यस्ता अतिक्रमण हटाउने प्रस्ट पारे । त्यस्तै,सार्वजनिक जग्गा संरक्षण अभियानले पनि चाम्लिङले सरकारी जग्गा अतिक्रमण गरेर निजी प्रयोजनका संरचना बनाएको भन्दै जिल्ला प्रशासन कार्यलयमा उजुरी गरेको छ ।
उजुरीमा चाम्लिङले सरकारी जग्गामा करिब १० वटा घर टहरा बनाएर भाडामा लगाएको दावी गर्दै मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ३०७ अनुसार कारवाही गर्न माग गरिएको छ । अभियानका एक अभियन्ताले बताएअनुसार चाम्लिङले १० वर्षदेखि सरकारी जग्गामा आफू अनुकूलका संरचना बनाएर मोटो रकम असुल गर्दै आएका छन् ।
टिप्पणीहरू