कुरा तथा कुराकानी

कुरा तथा कुराकानी

धेरै समयको अन्तरालपछि काठमाडौंको एउटा तारे होटलमा कमरेड केपी ओली र कमरेड माधव नेपालबीच संवाद भएछ । दुई जना कमरेडबीचको संवाद हो, दुनियाँलाई थाहा हुने कुरा पनि भएन ।

कहिले कुरा मिल्यो-मिल्यो भन्ने सुनिन्छ, कहिले मिलेन-मिलेन भन्ने कुरा हुन्छ । वास्तवमा कुरा कुनचाहिँ नमिलेको हो त्यो कुरा हामीलाई थाहै हुँदैन । न कुनचाहिँ कुरा मिल्यो भन्ने थाहा हुन्छ । कुरा कसरी मिलेन, त्यो पनि थाहा हुँदैन । कुरा किन मिलेन त्यो त झनै थाहै हुँदैन । अझ यहाँसम्म कि उहाँ दुई नेताबीच साँच्चै कुरा नै भएको हो कि होइन, त्यो कुरा पनि थाहा हुँदैन ।

यदि, कुरा नै भएको छैन भने कुरा कसरी मिल्छ ? कुरा मिल्नलाई पहिले कुरा त हुनुपर्‍यो नि ! कुरा गरेपछि न कुरा मिल्छ । कुरा गरेन भने त कुरै मिल्दैन ।

मलाई त लाग्छ, उहाँहरू दुईबीच भएको कुराकानीमा कुराकानी नै भएको छैन । कुराकानीमा कुराकानी नै हुँदैन भने कुरा कसरी मिल्छ ? कुराकानी गर्दा एउटा कुरा के बिर्सन हुँदैन भने कुरा गर्दैमा त्यसलाई कुराकानी भनिँदैन । सायद उहाँहरूले कुरा त गर्नुभयो होला, तर कुराकानी चाहिँ गर्नुभएन होला ।

अथवा यस्तो पनि हुन सक्छ, उहाँहरूले कुराकानी त गर्नुभयो होला, तर कुराचाहिँ गर्नुभएन होला । कुरा मिल्न त कुरा हुनुपर्‍यो नि ! बुझ्नुभयो त कुरा ?

टिप्पणीहरू