एकैचोटि कति जनासँग बिहे गर्न सकेकी नानी !

एकैचोटि कति जनासँग बिहे गर्न सकेकी नानी !

-हरी गजुरेल

विवाहजस्तो पवित्र नाता सम्बन्धलाई पत्रुहरूले कसरी पैसा कमाउने माध्यम बनाउँछन् ? यस्तै केही पात्रका कारण एकबारको जीवन कष्टकर ढंगले झेलिरहेका रिटायर्ड (०६६ सालमा) उपसचिव हुन् भीमलाल लामिछाने ।

पोखरा मूल घर भएका लामिछाने तीन छोरा र दुई छोरीका पिता, जेठी श्रीमती बाउँठिएर हिँडेपछि एक्लै जीवनको रथ काटिरहेका थिए । ०५० सालमै जेठी श्रीमती अंश लिएर अलग भइन् । १७ वर्षसम्म एक्लै बस्दै आएका उनीहरूको सम्बन्धमा ०६३ साल साउनबाट कानुनी रूपमै पूणर्विराम लाग्यो । छोरा-बुहारी अलग, श्रीमती अलग हुँदा बुढेसकालमा गाह्रो-साह्रो पर्दा, बिरामी हुँदा कोही साथै भइदिए त हुन्थ्यो भन्ने लाग्थ्यो ।

अलि पैसावाल केटा फेला पारेपछि ऊसँग विवाह गरिहाल्ने । केही महिनापछि विवाह दर्ता गर्ने, अनि विवाह दर्ता गरेको एकाध महिनापछि निहुँ खोजेर सम्बन्धविच्छेद गर्ने र आधा सम्पत्ति माग्ने । यो कुनै कोरा आरोप हैन, तथ्यहरूले यस्तै बोल्छ ।

२७ वर्षदेखि जीवनको रथ एक्लै गुडाइरहेका उनीसँग ठोक्किन आइपुगिन् चितवनकी शारदा पौडेल, संविधानसभा सदस्य, नेपाली कांग्रेसको कोटाबाट । उनैले कल्पना डौलियाको नाम लिँदै भनिन्, ‘तपाइ डिभोर्सी, कल्पना पनि डिभोर्सी । डिभोर्सी डिर्भोसीको जोडी क्या सुहाउँछ, विवाह गर्नुस् ।’

नेताले भनेको पत्याएर विवाह गरे कल्पनासँग झण्डै तीन लाख खर्चेर । कल्पना गरेका थिए, कल्पनासँगको साथले सहजै कट्ने छ बुढेसकाल । तर, नेताहरूले देशमाथि मात्र होइन, मान्छेका जीन्दगीसँग पनि खेल्दारहेछन् । तिनै कल्पना भित्रिएपछि जीवनभर नचाहरेको अड्डा-अदालत बूढेसकालमा चहार्न विवश छन् ७५ वर्षे भीमलाल । उनीसँग विवाह गरेर जीवन सुख र आनन्दसँग जिउने सपना थियो तर पछिल्लो नौ वर्ष अड्डा-अदालतका ढोका चहार्दैमा कष्टसँग बितेका छन्, उनका दैनिकी । कल्पनाको कर्म रहेछ,अलि पैसावाल केटा फेला पारेपछि ऊसँग विवाह गरिहाल्ने । केही महिनापछि विवाह दर्ता गर्ने, अनि विवाह दर्ता गरेको एकाध महिनापछि निहुँ खोजेर सम्बन्धविच्छेद गर्ने र आधा सम्पत्ति माग्ने । यो कुनै कोरा आरोप हैन, तथ्यहरूले यस्तै बोल्छ ।

पहिलो विवाह भएको रहेछ लमजुङका खुशीराम डौलियासँग । तर यो बीचमा दोश्रो विवाह गरीवरी अदालतमा मुद्दा चलिरहेकै बेला शारदाहरूको साथमा भीमलालसँग तेश्रो विवाह गराइएको रहश्य खुल्यो । पहिलो पति खुशीराम डौलियासँग ०६३/४/२६ मा सम्वन्धविच्छेद भएको अदालतका फाइल खोतल्दा भेटिन्छ । तीन वर्ष व्यतित नहुँदै ६६ असार १७ मा चितवन भरतपुर नगरपालिका ९, शरदपुरका टीकाराम न्यौपानेसँग दोश्रो विवाह भएको रहेछ । टीकारामसँग विवाह भएको ४ महिना नबित्दै अदालत पुगेकी रहिछन् ।

चितवन जिल्ला अदालतमा ०६६ कार्तिक १३ मा आवश्यक रकम लिएर मिलेर बस्ने भनी मिलापत्रसमेत भएको अभिलेख र कागजातले बोल्छ । दोस्रो पतिसँग मिलापत्र भएको र सम्बन्धविच्छेद नै नभएको अवस्थामा फेरि भीमलालसँग विवाह गर्न भ्याएकी हुन् कल्पनाले । दोश्रो पति टीकारामसँग अदालतबाट मेलमिलाप भएको एक महिना नबित्दै २०६६ मंसिर ३० गते भीमलालसँग विवाह गराइयो,उनै शारदाहरूको अग्रसरतामा । भनिएको थियो कल्पना टुहुरी केटी । कोही छैनन् आफन्त ।

एउटै महिलाले तीन ठाउँमा विवाह गरेको, विवाह गरेको केही समयपछि नै अदालतमा मुद्दा मामिला गरी अंश माग्ने गरेको प्रमाण पेश गर्दा पनि चेलीका आँशु हेरेर श्रीमान्ले फैसला सुनाए ।

तर भन्छन् नि, सत्य डग्दैन, झुट टिक्दैन । कति नै लामो हुन्छ र झूटको आयु ? पछि खुल्यो माइतीमा आमा, भाइ तथा मामा लेखनाथ सेढाइँलगायत आफन्त छन् । शारदाकै अग्रसरतामा ०६६ मंसिर ३० गते कल्पना र भीमलालबीच विवाह भएको हो । शारदाको नियत कतिसम्म खोटो भने, विवाह सम्पन्न गराएसँगै २ लाख मागिन् भीमलालसँग । एउटा रिटायर्ड कर्मचारी, पहिला श्रीमती अलग्गिएर आधा अंश खर्लप्प लगिसकेका भीमलालले दिन सकेनन, दिएनन्, अनि शुरु भयो खेलोफड्को र मनमुटाव ।

विवाह जीवन काट्नका लागि होइन । केही समय काट्ने र मुद्दा मामिला गर्ने उद्देश्य भएरै होला । विवाह भएकै दिनदेखि कल्पना विवाह दर्ताका लागि जोड दिन्थिन् । विवाह गरेको ४ महिनामै ०६६ चैत ९ मा विवाह दर्ता भयो । केही महिनापछि घरबाट रातारात हराइन् कल्पना । पछि फेला परिन् टीकाराम न्यौपानेसँग । १५ दिन छानबिनका लागि हिरासतमा राखी सरकारी वकिलमार्फत चितवनका प्रमुख जिल्ला अधिकारीले जरिवाना गराएर मुद्दा टुंग्याए ।

चार महिनापछि ०६७ साउन १२ गते भरतपुर नगरपालिकामा कल्पनाले उजुरी दिइन् टिकारामविरुद्ध । ०६७ साउन १२ गते कार्यकारी अधिकृतलाई सम्बोधन गरी कल्पनाले लेखेको पत्रमा भनिएको छ- म टीकाराम न्यौपानेको कान्छी श्रीमती हुँ । दमौलीमा बस्छु । श्रीमान्ले खान दिएनन् । श्रीमान्लाई झिकाएर छलफल गराइपाऊँ । भोलिपल्टै कल्पना र टीकाराम दुबै पक्षलाई झिकाएर छलफल चल्यो । ६ लाख ५० हजार लिएर दोस्रा पति टीकाराम न्यौपानेसँग मिलेर बस्ने भन्ने निणर्य माइन्युट बुकमा सही गराएको भेटियो । त्यही माइन्युटका कारण टीकारामले न्याय पाएका छन् ।

दुई वर्षपछि ०६९ साल माघ १४ मा कल्पनाले भीमलालविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ज गरिन्, सम्बन्धविच्छेद र माना चामलको । जिल्ला अदालतले मुद्दा सदर गर्‍यो । एउटै महिलाले तीन ठाउँमा विवाह गरेको, विवाह गरेको केही समयपछि नै अदालतमा मुद्दा मामिला गरी अंश माग्ने गरेको प्रमाण पेश गर्दा पनि चेलीका आँशु हेरेर श्रीमान्ले फैसला सुनाए । तर त्यो आँशु कृत्रिम थियो भन्ने कसैलाई हेक्कै भएन ।

आफूमाथि अन्याय भएपछि प्रमाणहरू भेला पारेर भीमलाल पुनरावेदनका लागि उच्च अदालतको शरणमा पुगे । त्यहाँ कल्पनाको नियतमै खोट रहेको,आफूसँग वैवाहिक सम्बन्ध कायमै रहँदा टीकारामसँग कान्छी श्रीमतीकै रूपमा रहेको भरतपुर नगरपालिकाको ०६७ माघ १३ को माइन्युट पेश गरेका थिए, भीमलालले । न्यायाधीश नरबहादुर शाहीले ०७५ जेठ १६ गते फैसला सुनाए, वादी भीमलाल लामिछाने र प्रतिवादी कल्पना लामिछानेबीच लोग्ने स्वास्नीको नातासम्बन्ध कायम रहन नसक्ने हुँदा शुरुको फैसला उल्टी बादीको फिराद दाबीबमोजिम विवाह बदर हुने ।

सरकारी अभिलेखमा भेटिएअनुसार कल्पनाका पहलिो पति खुशीराम डौलिया, दोश्रो टीकाराम न्यौपाने र तेश्रो भीमलाल हुन् । तनहुँका मानबहादुर दरै, काठमाडौंका रामबहादुर मुल्मीसँग विवाहको अभिलेख त पाइँदैन् तर उनीहरूबाट जग्गाको राजीनामा आफ्नो नाममा पास गराएको भेटिएको छ ।

कल्पना पेशाले सरकारी कर्मचारी । अहिले चितवनको रत्ननगरमा अस्पतालको जागिरे छिन्, अनमी पदमा । के निजामती सेवा नियमावली पुरुषको हकमा मात्र आकर्षित हुने हो ? महिलाको हकमा निजामती सेवा नियामवीले काम गर्दैनन् ? एकै समयमा अलग अलग व्यक्तिसँग विवाह गरी दुवैलाई अदालतमा मुद्दा दिई अंश माग्ने अनमीमाथि निजामती सेवा नियमावली २०५० को नियम १२० तथा मुलुकी ऐन बिहावारी महलको दफा १० आकर्षित हुँदैन ?

पुनरावेदनले विवाह बदर गराइदिएसँगै उनी अहिले सर्वोच्चमा पुगेकी छन् न्याय खोज्न । हेर्न बाँकी छ विवाहजस्तो पवित्र सम्बन्धलाई पैसा कमाउने माध्यम बनाउनेउपर दूधको दूध पानीको पानी छुट्याउने कसम खाएर न्यायको तराजु हातमा लिई बस्नु भएका श्रीमान्हरूले कस्तो न्याय दिनुहुन्छ ? कस्तो विवेक प्रयोग गर्नुहुन्छ ? हरेक घटनामा पुरुष मात्र दोषी हुन्छ ? वा महिला पनि दोषी हुन्छन् ? एउटा लोग्ने मान्छेले श्रीमती हुँदाहुँदै सम्बन्धविच्छेद नगरी दोश्रो विवाह गरेको खण्डमा जेल सजायँ हुन्छ तर एउटा महिला, त्यो पनि सरकारी कर्मचारीले बहुविवाह गरेको प्रमाणित भयो भने जेल जानुपर्ने कि नपर्ने ? उनीजस्ता कर्मचारीउपर स्वास्थ्यमन्त्री/ स्वास्थ्य सेवा विभागको ध्यान जाने कि नजाने ? महिला भएकै आधारमा जे गर्न पनि छुट मिल्छ ? आशा भरोसा एवं विश्वास छ सर्वोच्चका श्रीमान्हरूले विवेक प्रयोग गर्नुहुन्छ र बृद्ध भीमलालमाथि न्याय दिनुहुनेछ । तिनै कल्पनासँग विवाह गरेर मुद्दा मामिला चल्दा भएभरका सम्पत्ति सबै अदालतले रोक्का गरेको अवस्था छ ।

त्यही कारण भीमलाल पोखराको एउटा गाउँमा बस्छन्, एक्लै । छोराहरू मुख राम्रोसँग खोलेर बोल्दैनन् । उता एक जना होइन, दुई जना होइन, पुरुषका घरबार र जिन्दगीसँग खेलेर उनीहरूलाई धर्धरी रुने बनाएर अनमीको जागिर खाँदै छिन् कल्पना । यस्तामाथि कडाभन्दा कडा कारबाही होस् । अरु समयमा महिला र पुरुष समान भन्ने अनि कारवाहीको मामलामा पुरुषलाई एउटा कानुन आकर्षित हुने, महिलालाई अर्को कानुन लाग्ने नहोस् । बहुविवाह गर्नेमाथि कडा कारबाही होस् ।

– भीमलालको साथी विनोद पुडासैनी, पोखरा

टिप्पणीहरू