तटस्थ बस्ने लाइन,महेश बस्नेतको खानपिन

तटस्थ बस्ने लाइन,महेश बस्नेतको खानपिन

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा घर्किंदै जाँदा सांसद तानातानको खेल शुरु भएको छ ।

गठवन्धनको सरकार निर्माणमा विपक्षीलाई नसघाउने निर्णय गरेको जसपाको महन्थ ठाकुर खेमाले आफ्ना सांसदलाई भक्तपुरस्थित डोलेश्वर भिलेज रिसोर्टमा राखेको छ । ठाकुर खेमाका १४ सांसदलाई रिसोर्टबाट निस्कन नदिने गरी थुनेर राखिएको सुरक्षा श्रोतबाट बुझिएको छ ।

डोरबहादुर भण्डारीको लगानी रहेको यो रिसोर्टमा सांसदहरुलाई राखिनुको कारण खुलेको छैन । पार्टीगत रुपमा भण्डारी कतै खुलेको नदेखिए पनि एमाले भक्तपुरका सांसद महेश बस्नेतकै कारण सो रिसोर्टमा लगिएको हुनसक्ने भक्तपुर कांग्रेसका एक नेताले बताए ।

अर्को मिटिङमा जानुपर्ने भयो भन्दै महन्थ १५ मीनेटअघि सो रिसोर्टबाट निस्किएका छन् । त्यहाँ बिहान १४ सांसद लगेर राखिएको भए पनि ३ सांसद भने विशेष काम पर्यो भन्दै रिसोर्ट छाडेर हिंडेको चर्चा छ ।

ठाकुरले आजै बूढानिलकन्ठ पुगेर देउवा र बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेका थिए । त्यहाँबाट फर्केलगत्तै सांसदहरुलाई होटलमा पुर्याइएको हो ।

सरकार गठनका लागि राष्ट्रपतिले आज राति ९ बजेसम्म अवसर दिएकोमा समयसीमा नजिकिंदै गर्दा विपक्षी गठवन्धनलाई बहुमत पुर्याउन नदिन बालुवाटारसँगको छलफलमै सांसदहरुलाई लुकाएर राखिएको विपक्षीहरुले आरोप लगाएका छन् ।

सरकार गठनलाई लिएर जसपा प्रष्ट दुई कित्तामा विभाजित छ । काँग्रेस,माओवादी केन्द्र र जसपा (उपेन्द्र-बाबुराम) वैकल्पिक सरकार गठनको पक्षमा छन् भने जसपा महन्थ खेमा प्रधानमन्त्री ओलीको पक्षमा छ । जसपा विभाजित हुँदा विपक्षीलाई बहुमत पुर्याउन कठिन हुने देखिएको छ ।

ठाकुर खेमाका सांसद ओलीको विपक्षमा लाग्ने र उपेन्द्रले बहुमत पुर्याएर पार्टी निर्णय गराउन सक्ने देखिएपछि सत्तासङगको सहकार्यमा थुनेर राखेको अर्को खेमाले आरोप लगाएको छ ।

टिप्पणीहरू