ओली फेरि प्रधानमन्त्री नियुक्त,भोलि शीतल निवासमा शपथ

ओली फेरि प्रधानमन्त्री नियुक्त,भोलि शीतल निवासमा शपथ

एमाले संसदीय दलका नेता केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त हुनुभएको छ । सोमबार संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त हुनुभएका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

राष्ट्रपतिले दिएको तीन दिनको समयसीमामा धारा ७६ को उपधारा २ बमोजिमको बहुमतीय सरकार गठन हुन नसकेपछि संसदमा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओली पुन: प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

यसअघि ७६ (२) बमोजिम दुई वा दुई भन्दाबढी दलको समर्थनमा बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आजै बेलुकी ९ बजे सकिएको थियो ।

प्रमुख प्रतिपक्षी काँग्रेस,माओवादी केन्द्र र जसपाको एउटा खेमाले बहुमतीय सरकार गठनका लागि गरेको प्रयास असफल भएको थियो । जसपाको महन्थ ठाकुर खेमा चट्टानी अडानसहित ओलीतिर लागेपछि बहुमतीय सरकार बन्न सकेन ।

७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीले एक महिनाभित्र संसदबाट विश्वासको मत सिद्ध गर्नुपर्ने हुन्छ । विश्वासको मत सिद्ध गर्न नसके सरकार गठनको अर्को प्रक्रिया शुरु हुन्छ । त्यसपछि ७६ को उपधारा ५ को बाटो खुला हुन्छ । उपधारा ५ अनुसार सरकार गठन हुन नसके वा त्यस्तो सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिन नसके तत्काल बहाल रहेका प्रधानमन्त्रीले संसद विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सांसद छन् । काङ्ग्रेस र जसपाका ४ निलम्बित (दुई जना जेलमा सहित) ले मतदान गर्न पाउन्नन् भने माओवादीबाट एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी,लेखराज भट्टसहित ४ जनाको पद रिक्त छ । यसले गर्दा सरकार गठन गर्न १३३ सांसदको आवश्यकता पर्छ ।

प्रतिनिधिसभामा एमालेका १२१, काँग्रेसका ६१,माओवादीका ४९ र जसपाका ३२ सांसद छन् । काँग्रेस,माओवादी र जसपाको उपेन्द्र-बाबुराम खेमाको गरी १२४ सांसदले बहुमत नपुगेपछि बहुमतीय सरकार गठन हुन नसकेको हो । माधव नेपाल पक्षका २० सांसदले दिने भनेको सामूहिक राजीनामा अन्तिम अवस्थामा रोकिएपछि र महन्थ खेमा तटस्थ बसेपछि कतै पनि बहुमत पुगेन ।

कोरोनाका कारण भोलि प्रधानमन्त्रीको सानो शपथ ग्रहण कार्यक्रम शीतलनिवासमा राखिएको छ ।

टिप्पणीहरू