सरकारी अस्पतालको मूर्दाघर भरियो

सरकारी अस्पतालको मूर्दाघर भरियो

सर,टिचिङ्ग हस्पिटलमा अक्सिजन चढाउने अवस्थाका बिरामी राख्ने बेड छैन भने लाश राख्नलाई पनि ठाउँ सिध्दियो । अब के गर्ने !”

महाराजगन्जस्थित सरकारी शिक्षण अस्पतालको ब्यथा हो यो,जहाँ प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिब्यासिंह शाह कार्यकारी प्रमुख छिन् । हिजो दिउँसो यहीँबाट सुरक्षाकर्मीहरुले मूर्दाघर लाशले भरिएको रिपोर्टिङ आफ्नो तालुकवाला अड्डा महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई सुनाएका हुन् ।

कोरोना महामारीको दोस्रो लहरले कसैलाई पनि अछुतो छाडेको छैन । विश्वका सबै देश महामारीविरुद्ध लडिरहँदा नेपाल मात्र एक्लो यस्तो राष्ट्र हो जो सत्ताको दौडमा छ । एक हप्ताको अन्तरालमा कोरोना महामारीबाट करिब एक हजारको ज्यान जाँदा आज देशले ४३ औँ प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्रीको रूपमा पाउँदै छ ।

कोरोना महामारीले शव ब्यवस्थापन गर्नसमेत कठिन भएको बताउँदै स्वास्थ्य मन्त्रालय तर्किन थालेको छ । अस्पतालहरुमा महामारीका बिरामीको चाप दिनप्रतिदिन बढेकै छ,मृत्यु हुनेको संख्या पनि दैनिक सैयौँले उँभो लागेको छ ।

परिवारले शवको मुखसम्म पनि देख्न पाउँदैन भने शवको पोष्टमार्टम नहुँदा अस्पतालको जे जस्ता कमजोरीले मरे पनि कसैप्रति गुनासो गर्ने ठाउँ रहन्न । जीवन वीमाको त झन कुरै नगरौं ।

देशका केही स्थानमा महामारीका कारण नभई चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पताल नै तोडफोड त कतै अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीको अभावमा संक्रमितको मृत्युका खबरहरु आइरहेका छन् । तर, प्रदेश तथा केन्द्र सरकारलाई भने अविश्वास तथा विश्वासको मत लिँदै बेफुर्सद छ ।

उपत्यकाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रलगायतका अस्पतालले शव ब्यवस्थापन गर्न हम्मे हम्मे भएको बताएका छन् । देशभरको अवस्था महामारीले गर्दा नाजुक बनेको बेला अस्पतालहरुले अब बिरामी भर्ना गर्दैनौँ है भन्दै हात उठाइरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शव अब आफन्तको जिम्मा लगाउन भने पनि तत्काल त्यो सम्भव नभएको वीर अस्पतालका कोरोना फोकल पर्सन डा.अच्युतराज कार्कीले बताए । उनका अनुसार कोरोनाका बिरामी र मृतकको संख्यामा बृध्दि भएको छ र हिजो मात्रै वीर र ट्रमा सेन्टरमा गरी कूल १८ जनाले ज्यान गुमाएका छन् । कोरोनाका बिरामीको पोष्टमार्टम नहुने भएपनि अन्य रोग लागेका बिरामीलाई समेत कोरोना लाग्यो भनेर लापरवाही नगरिएको उनले बताए ।

उनका अनुसार हाल वीर अस्पतालको २ सय शैया क्षमता रहेता पनि कोरोनाका बिरामीको संख्यामा बृध्दि भई सीमा नाघेको छ । अहिलेसम्म अस्पतालमा कूल १ सय ६० बढिको शव ब्यवस्थापन गरिएको छ ।

संक्रमणका कारण एकातिर ज्यान गुमाउनेका परिवारले शवको मुखसम्म पनि देख्न पाउँदैन भने शवको पोष्टमार्टम नहुँदा अस्पतालको जे जस्ता कमजोरीले मरे पनि कसैप्रति गुनासो गर्ने ठाउँ रहन्न । जीवन वीमाको त झन कुरै नगरौं ।

टिप्पणीहरू