व्यापार व्यवसाय ठप्प भएपछि अजय सुमार्गी ‘अनुलोम विलोम र कपालभातीतिर’
०६२ र ६३ परिवर्तनपछि छोटो समयमा ठूलो आर्थिक जोहो गरेका व्यवसायी अजय सुमार्गी काठमाडौंलाई चटक्कै छाडेर जन्मथलो हेटौंडामा ढुक्कैसँग रमेका छन् ।
कोरोनाको दोस्रो महामारी र जताततैको निषेधाज्ञाका कारण उनी लामो समयदेखि उतै बस्न थालेका हुन् । कोरोनाबाट जोगिन सुमार्गी दिनहुँ योगा,ध्यान,व्यायाम, प्राणायामदेखि अनुलोमविलोम र कपालभातीमा व्यस्त रहेको पारिवारिक स्रोेतले बताएको छ ।
यता राजधानीलगायतका जिल्लामा रहेका उनका सबै व्यवसाय र कारोबार भने ठप्प छन् । परिवार पनि सबैजसो उतै छन् । पूरै घाटा सहेर भएपनि थाहा खबर अनलाइन भने निरन्तर प्रकाशित छ । स्रोत भन्छ, ‘रेडियो र अनलाइनलाई मासिक ८(९ लाख छ अन्यत्रबाट हाल्नुपरेको छ ।’
उता कोरियनबाट कब्जा गरिएको रसुवास्थित हिमालयन अन टप मिनरल वाटर पनि चुर्लुम्मै घाटामा छ । इन्को प्यानल अर्थात् भूकम्प प्रतिरोधी घर बनाउने सामाग्री उत्पादन कम्पनी पूरै बन्द छ ।
ट्याक्स हेभन कन्ट्रीबाट लगानीको निम्ति ल्याइएको अरबौं रुपैयाँको कम्पनी भनिएको नेपाल स्याटलाइलट टेलिकमको सिष्टम स्वीच तीन वर्षदेखि अफ छ । अहिले सुमार्गीको चलेको कम्पनी भनेको बानेश्वरस्थित इन्फास्ट्रक्चर प्रालि मात्र हो । घरभाडा उठाउन मीनभवनको नापी विभाग अघिल्तिरको अल इन वान रहेको पूरै घर उनकै हो । त्यहि घरमा रहेको उक्त कम्पनीले भने सुमार्गीको खर्च धानिदिएको बताइन्छ । त्यसबाट वर्षको दुई अढाई करोड जति भाडा उठ्ने गरेको छ ।
अहिले त्यहि भाडाले दैनिकी चलाइएको छ । सिमेण्ट उद्योग पनि ध्वस्त छ । बैंकमा रोकिएको अरबौं रुपैयाँ त्यत्तिकै छ । सिभिल होम्स र सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङसँग किनेको बागदरबारको घर खरिदपछि उनको उद्देश्य र योजना नै ठप्प भएको छ । होटल बनाउँछु भनेर किनिएको उक्त घरमा हालिएको पैसा त्यत्तिकै भुस भएको छ । साँवाको ब्याज र ब्याजको स्याज तिर्दै हत्तु छन् ।
उता शान्तिनगर नजिकै बागमती किनारमा कैलाश सिरोहियासँग लफडा परेको घरजग्गा पनि १० करोडमा बैना गरेका छन् । तर,विशालनगरमा किनेको फ्रेन्च एम्बेसीको जग्गामध्ये ६ रोपनी बंगलादेश बैंकलाई बेचेपछि आएको रकमले बाँकी १२ रोपनी जग्गा सित्तै भएको छ ।
पछिल्ला दिन सुमार्गीले संखुवासभाको खाँदबारी र पोखरामा धेरै जग्गा जोडेको देखिन्छ । त्यसको रहस्य खोतल्दै उनलाई नजिकबाट चिन्ने स्रोतले भन्यो ‘प्रायः उनले ती दुई ठाउँका अलि हुने खानेलाई जग्गा धितो राखेर ऋण दिन थालेको धेरै भयो ।
त्यसरी जग्गा धितो राखेर दिइएको ऋण तोकिएको समयमा नतिरेपछि सुमार्गीले तिनै जग्गा आफ्नो नाममा पास गर्दा अहिले उनको नाममा त्यतातिर जग्गा देखिन थालेको हो ।
टिप्पणीहरू