माधव नेपालको राजनीति अन्त्य कि शुरु ?

माधव नेपालको राजनीति अन्त्य कि शुरु ?

–  राजेशचन्द्र राजभण्डारी

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगामी भनेर सडक आन्दोलनमा उत्रिएको माधव नेपाल समूह वैशाख ३० गते सञ्चार उद्यमी रामेश्वर थापाको घरमा भएको ४ घण्टा लामो वार्तापछि एकाएक युटर्न भएको छ ।

ओलीसँग मौखिक सहमति भएपछि अब के माधव नेपालले भन्दै आएको प्रतिगमन सच्चियो त ? नेपाललगायत ४ जना नेतामाथि भएको कारबाही फुकुवा हुनुलाई नै माधव समूहले आफ्नो ठूलो जित ठानेको देखियो । केही मान्छेको राजनीतिक नियुक्ति,केही थान भागबन्डा नै असन्तुष्टिको समाधान हो त !

अहिले कोरोनाको नयाँ भेरियन्ट समुदाय स्तरमा फैलिएको छ। दैनिकजसो सयौं नेपाली जनता अस्पतालको बेडमा राम्रो उपचार नपाएर मरिरहेका छन् । एक सिलिन्डर अक्सिजन पाउनु भनेको अमेरिकाको भिसा पाउनुभन्दा पनि चर्को हुन थालेको छ ।

बाहिर हजारौंको जुलुस निकालेर प्रतिगमन सच्याउन लागेकाहरुले रातारात उधारो चेक हातमा पर्नासाथ साथ दिँदै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जिल्याउन मिल्थ्यो ?

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपाल र ओलीबीच सहमति भएपछि आक्रोश पोख्दै ‘उहाँ शुरुदेखि नै एमालेभित्रै गएर झगडा गरेको भए सबैले आफ्नो सुर गरिसकेका हुन्थे । कांग्रेसमा देउवा र पौडेलले झगडा गरेजस्तै गरेको भए त्यो राम्रो हुन्थ्यो,’ भनेका थिए ।

उनले यो पनि भने, ‘शुक्रबारको भेटसमेत कुनै नेताको घरमा भएको भए त्यसले सकारात्मक सन्देश जान्थ्यो । तर व्यापारीको घरमा बसेर गरिएको छलफलले यिनलाई मिलाउने पनि बिचौलिया हुन् भन्ने प्रस्ट देखिएको छ।’ फेरि पनि दलाल पुँजीवाद हावी भएको भनेर घटनाको विश्लेषण गरिएको छ ।

ओलीसँग मौखिक सहमति भएपछि अब के माधव नेपालले भन्दै आएको प्रतिगमन सच्चियो त ?

साँच्चै राजनीतिमा इमानदारी सबैभन्दा प्रमुख कुरा हो,केही थान मन्त्री आफ्नो गुटलाई लिएर पुग्ने भए केका लागि त्यत्रो भेला,जुलुश,सभा गरेको रु त्यसो नगरेको भए दुई तिहाइको हुँदा खाँदाको सरकार न ढल्ने थियोे न त पार्टी नै कोल्याप्स हुने थियोे ।

साँच्चै ओली र प्रचण्डले कसैलाई थाहा नदिई सुटुक्क नेकपा बनाएपछि आफूलाई बाइपास गरेकोमा सबैभन्दा औडाहा माधव नेपाललाई भएको रहेछ भन्ने कुरा घटनाक्रमले पुष्टि गरिसकेको छ । ओलीले प्रधानमन्त्रीको लागि मागेको विश्वासको मतमा उपस्थित नभएर पदको बार्गेनिङ गर्ने अनि दुई दिनमा ओलीकै निरन्तरता कायम राख्ने १ साँच्चिकै प्रतिगमनविरूद्धको आन्दोलन गज्जब रहेछ !

सारा विश्व कोरोना भाइरससंँग लडिरहेको बेला नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद सडकसम्म छरपष्ट रूपमा आएको राजनीतिमा सामान्य रुचि राख्ने जो कोहीलाई थाहा भएको विषय हो । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई नेकपा बनेपछि देशमा मात्रै नभएर अन्तर्राष्ट्रिय जगतमा समेत ठूलो तरंग आएको थियो ।

देशमा दुई विपरीत ध्रुवका कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा मात्रै नभएर पार्टी एकता नै हुँदा सारा दुनियाँ चकित परेको थियो ।बाहिर सामान्य कार्यकर्तादेखि कम्युनिष्ट शक्तिलाई मन पराउने सबै खुशी भएका थिए । कतिपय सैद्धान्तिक कुरामा असहमति भए पनि दुईतिरका नेता,कार्यकर्ता एकजुट भएर गइरहेको थियो ।झण्डै झण्डै दुई तिहाइको सरकार चलिरहेको थियो ।

दुई जना अध्यक्ष प्रचण्ड र ओलीले नेतृत्व गरेर अगाडि बढिरहेका थिए तर यी सबै कुरामा तुषारापात गरेर प्रचण्ड र ओलीलाई भिडाउने खेल भयो । बाँकी रह्यो उधारो सहमति, त्यो कसरी पालना हुन्छ,कसरी लागू हुन्छ भविष्यले नै बताउनेछ ।

अब सबै कुरा थाती राखेर कोभिडविरूद्ध एकजुट भई यसलाई परास्त गर्ने संकल्पमा लाग्नु नै सबैभन्दा ठूलो बुध्दिमानी हुनेछ ।

(बाग्लुङ्ग)

टिप्पणीहरू