माधव खेमाको जुम मिटिङ र अबको मार्ग

माधव खेमाको जुम मिटिङ र अबको मार्ग

नेकपा एमालेभित्रको अन्तरसंघर्ष उत्कर्षमा पुगेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत बिहीबार भएको वार्ता र सहमतिलाई दुबै समूहभित्र आफ्नै ढंगले व्याख्या गरिएको छ । सोही वार्ता र सहमतिबारे जानकारी गराउन हिजो नेपाल समूहका केन्द्रीय सदस्यहरुबीच जुम मिटिङ भएको थियो ।

त्यसक्रममा नेता नेपालले आफूले प्रस्तुत गरेको ६ वटा बुँदाको बारेमा स्पष्टसँग कुरा राखिएको बताउनुभएको थियो । सहभागी सदस्यहरुका अनुसार नेपालले जुममा स्पेशल एजेण्डा र पोलिटिकल ब्रिफिङको सट्टा समग्र अवस्थाको बारेमा सरसर्ती बताउनुभएको थियो ।

४२ जना केन्द्रीय सदस्य सहभागी जुम बैठकमा सबैजसोले बोलेका थिए । तर ९५ प्रतिशत सदस्यले आफ्नो पक्ष हतारमा अध्यक्ष ओलीकोमा सहमति गर्न जानु नै बेठिक भएको बताए । विगतमा धेरै पटकका धोकालाई मध्यनजर गर्दा पुनः धोका हुनसक्नेतर्फ सचेतना अपनाउन सुझाव दिइएको थियो । अब पनि धोका भए ओलीको नेतृत्वमा कम्युनिष्ट आन्दोलन बचाउन नसकिने उनीहरुको निचोड थियो ।
जुम बैठकमा घनश्याम भुसाल तथा योगेश भट्टराईहरु नदेखिनुभएको बताइन्छ । सबैभन्दा धेरै ठाकुर गैह्रेले एकताको पक्षमा बोल्नुभएको थियो । अन्य सदस्यले पनि बोल्ने क्रममा एकताको आधार भनेको २०७५ जेठ २ गते नै हो भनेका थिए ।
उनीहरुका अनुसार त्यो भनेको केन्द्रीय कमिटी र जिल्ला कमिटीको हकमा लागू हुने हो । तर,पछिल्लो सात वर्षमा पसिना र मेहनत बगाएको उपलब्धीको रुपमा हालै बनेका स्वतःस्फूर्त समानान्तर कमिटीलाई लिनुपर्नेतर्फ नेतृत्वले ध्यान पुर्याउनुपर्ने कुरा उठ्यो । ती समानान्तर कमिटीको विषयलाई प्रधानमन्त्रीले संसदमा लिने विश्वासको मतअगावै व्यवस्थापन र इज्जतपूर्ण समायोजन गर्नुपर्नेमा जोड दिइएको थियो ।
सोही विषयलाई जोड्दै पुरानो पुस्ताका एकजना केन्द्रीय सदस्यले भन्नुभयो ‘त्यो हाम्रो आत्सम्मानसँग जोडिएको विषय हो । त्यसअगावै छिनोफानो नगरी अगाडि बढ्नु हुँदैन । विश्वासमा हिँडियो भने फेरि धोका पाइने लक्षणहरु देखिँदैछन् ।’
उनै सदस्यका अनुसार समायोजन पार्टी कमिटीमात्र नभई विद्यार्थी, युवासंघहरुमा पनि लागू गरिनुपर्छ । हरेक दुई वर्षमा अधिवेशनबाट आउने नयाँ नेतृत्वझैँ समानान्तर कमिटीमा नयाँ विद्यार्थी र युवाहरु आएका छन् । जुन पार्टीको निम्ति बलियो तागत भएकाले त्यसतर्फ ध्यान दिन उहाँले नेतृत्वलाई सुुझाव दिएको बताउनुभएको छ ।
जुम मिटिङको निचोड लिडरसीपमा समस्या देखिनुहुँदैन भन्ने थियो । उनीहरुको संकेत यसबीच कुनै हालतमा एमाले छाड्नु हुँदैन र आवश्यकता परे अर्को संगठन निर्माण गरेर भएपनि अघि बढ्नुपर्छ भन्ने बीचको अन्तरप्रति केन्द्रित रहेको बताइन्छ ।
केही नेतृत्व तहमा रहेका कमरेडले आवश्यकता परे राजीनामा दिएर भएपनि संघर्षलाई अघि बढाउनुपर्ने बताउनुभएको थियो । तर पछिल्ला दिनमा त्यहि सोच ल्याउने कमरेडले नै लत्तो छाडेकोमा अधिकांश केन्द्रीय सदस्यले चित्त दुःखाएका थिए ।
गत चैतदेखि बैशाखको अन्तिमसम्म आइपुग्दा त्यसमा पनि पछिल्लो दिनमा भौतिक उपस्थितिको संयुक्त बैठक राखेर संघर्षको माहौललाई उत्कर्षमा पुर्याउनुपर्नेमा त्यसो नगरिएको भन्दै सहभागीहरुले चित्त दुःखाएका थिए । त्यसो नगर्दा केही साथीहरुलाई यो समूह छाडेर अर्को समूहमा जाने अवसर मिलेको उनीहरुको निचोड हो । आगामी चुनावमा फेरि टिकट पाइएला वा नपाइएला,टिकट पाए पनि जितिएला वा नजितिएला भन्ने भ्रमलाई आफूहरुले बेलैमा चिर्न नसकिएकोमा उनीहरुले कमजोरी भएको स्वीकारेका थिए ।
यसबीच स्थायी समिति र केन्द्रीय समिति सदस्यहरुको भौतिक उपस्थितिमा बैठक राखेर महत्वपूर्ण निर्णय गरिएको भए, परिस्थिति अर्कै हुने थियो भन्दै सदस्यहरुले दाबी गरेका छन् ‘समय घर्केर गयो अनि अरुले खेल्ने मौका पाए ।’
यता प्रधानमन्त्रीले विश्वासको मत लिने चर्चा चलाइसक्नुभएको छ । त्यसका लागि अहिले एमालेमा पनि वार्ता गरेजस्तो देखिएको एकथरिले विश्लेषण गरेका छन् । प्रधानमन्त्रीले संसदको रोष्ट्रममा उभिएर विश्वासको मत दियौ भने दुई वर्षसम्म सरकार चल्छ,नदिए मध्यावधि घोषणा गर्ने भनेर हाकाहाकी भनेको क्षणलाई विश्लेषण गरेर अहिलेको खेल त्यहि हिसाबले भइरहेकोतर्फ ध्यान दिन आग्रह गरिएको थियो ।
गत बिहीबारको चपली हाइटको वार्तामा प्रधानमन्त्रीले नेता नेपाललाई पत्रकार महासंघको चुनावमा आफूलाई घेराबन्दी गरेर हराइएको भन्दै निकै आक्रोश पोख्नुभएको थियो । यता आगामी बिहीबार हुने राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बनेका खिमलाल देवकोटा र बादलको अवस्था र हैसियत निर्वाचनमा के हुने भन्ने अहं प्रश्नचिन्ह उठेको छ । चुनाव आउन अब चार दिनमात्र बाँकी छ । देवकोटा नेपालपक्षको तर्फबाट उम्मेदवार बन्नुभएको हो । उहाँलाई काँग्रेस,माओवादी र जसपाको एउटा पक्षले समर्थन गरेको छ । यो पक्ष पनि अहिले एमालेभित्र पेचिलो बनेको छ ।

टिप्पणीहरू