इजरायली आक्रमणमा ४१ बालबालिका मारिए (भिडियो)

इजरायली आक्रमणमा ४१ बालबालिका मारिए (भिडियो)

इजरायलले हालै गरेका आक्रमणमा कम्तिमा ४१ जना बालबालिका र १ सय ४९ जना प्यालेष्टिनी नागरिक मारिएका छन् । आक्रमणमा झण्डै एक हजार जना प्यालेष्टिनी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आइतबार सबेरैको आक्रमणमा पनि चार जना प्यालेष्टिनीको ज्यान गएको छ । इजरायलले प्यालेष्टिन अधिनस्थ क्षेत्र गाजामा बम र रकेट आक्रमण गरेको आज सातौं दिन हो ।

पूर्वी जेरुसेलममा इजरायल–प्यालेस्टाइनबीच बढेको तनाव पछिल्लो हप्ता हिंसात्मक बनेको हो । पूर्वी जेरुसेलमलाई मुस्लिम र यहुदी दुवै धर्मावलम्बीले आफ्नो पवित्र धार्मिक स्थल मान्दै आएका छन् ।
पश्चिमा सञ्चारमाध्यमहरुले प्यालेस्टाइनको आतंकवादी समूह हमासले उक्त ठाँउबाट हट्न इजरायललाई चेतावनी दिँदै रकेट आक्रमण गरेपछि इजरायलले बाध्य भएर बदलामा हवाई आक्रमण गरेको बताएको छ । तर, प्यालेष्टाइन पक्षबाट उक्त आरोपको खण्डन गर्दै पहिले इजरायलले आक्रमणको तयारी थालेको दावी छ ।

यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आवश्यकताको सिद्धान्तलाई टेकेर आवश्यकता परेसम्म आक्रमण जारी राख्ने बताएका छन् । शनिबारको टेलिभिजन सम्बोधनमा नेतान्याहूले प्यालेष्टाइनको गाजामा आवश्यक परेसम्म आक्रमण गर्न जारी राख्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।

इजरायली प्रधानमन्त्रीको उक्त प्रतिबद्धता उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग कुराकानी गरेको केही समयपछि आएको हो । उता अमेरिकी राष्ट्रपतिले इजरायललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता यसअघि नै जनाइसकेका छन् ।

टिप्पणीहरू