मध्यराती केपी ओली र बाबुराम भट्टराईको त्यो वार्ता
पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको संकट समाधानका लागि आफूले अघि सारेको राष्ट्रिय एकताको प्रस्तावलाई तोडमोड गरी योजनावद्ध प्रचार गरिएको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र महेश बस्नेतले एक सार्वजनिक कार्यक्रममा बाबुराम भट्टराई प्रधानमन्त्री बनाइदिन आग्रह गर्दै मध्यराति बालुवाटार पुगेको बताएका थिए । बस्नेतको उक्त अभिव्यक्तिलाई भट्टराईले दिउँसै रात पार्ने प्रयास भन्नुभएको छ । बस्नेतले भट्टराई दुई पटक ओलीलाई भेट्न राती १ बजे बालुवाटार गएको र राष्ट्रिय सहमतिको सरकारको नेतृत्व आफूलाई दिन आग्रह गरेको दाबी गरेका थिए । बस्नेतको दाबी खारेज गर्दै भट्टराईले राष्ट्रिय सहमति जुटाउन आफूले गरेको इमान्दार प्रयासमाथिको आक्रमण भन्नुभएको छ ।
“सबै छोडेर हिंडेको छु । मेरो कुरा खुला नै छ । संसद्मै बोलेको छु । सबैले छोडौँ नयाँ मान्छेलाई ल्याऊँ भनेको छु । ओपन्ली लेखेको छु । अब म आफ्नै लागि माग्न गएँ होला त ? त्यो पनि ओलीजीसंग ?”
जनआस्थासँगको कुराकानीमा उहाँले राष्ट्रिय संकट गहिरिएका बेला देशको कार्यकारी प्रमुखसँग भेटेर सल्लाह दिनु उपयुक्त हुन्छ भन्ने लागेर बिश्वासको मत नपाएको भोलिपल्ट ओलीसँग भेटघाट गरेको तर व्यक्तिगत रुपमा आफ्नो कुनै आकांक्षा नरहेको बताउनुभयो ।
‘हो, मैले ओलीजीलाई भेटेको कुरा सत्य हो । देशमा संकट आइलाग्यो, तपाईंले निकास दिनुस् । हामी पूर्वप्रधानमन्त्री सबैले छाडेर नयाँ व्यक्तिलाई प्रधानमन्त्री बनाई सबैको साझा प्रयासमा संकट समाधान गरौं भनेको हो । यो कुरालाई क-कसले के-के हल्ला गरे त्यसका पछाडि लाग्नु आवश्यक छैनु’, उहाँले भन्नुभयो ।
वर्तमान र पूर्वप्रम कसैको पनि नाममा राष्ट्रिय सहमति नबन्ने अवस्थामा एकपटक राष्ट्रिय सहमति बन्छ कि भनेर अन्तिम कोशिशस्वरूप आफूले ओलीसामु राष्ट्रिय सहमतिको प्रस्ताव गरेको भट्टराईले बताउनुभयो । ‘योबाहेक अरु केही कुरा भएको छैन । हल्ला गर्नेलाई के के सुनाइयो र कसरी हल्ला गरे, त्यसको जवाफ दिनुपर्छ भन्ने लाग्दैन’, उहाँले भन्नुभयो ।
ओलीकै कारण मुलुक गम्भीर संकटमा परेको दाबी गर्दै भट्टराईले यस्तो बेला आफूले देशको प्रधानमन्त्रीसँग भेटघाट गर्नु सामान्य भएको पनि बताउनुभयो । ओलीले आफ्ना कुरा नमान्ने जान्दाजान्दै पनि जिम्मेवारीबोधका कारण आफ्नै प्रयासमा भेट गरेको उहाँको भनाइ छ ।
‘चिज धेरै गम्भीर छ । राष्ट्रिय अवस्था गम्भीर छ । मुलुक सर्पको मुखको भ्यागुतो फिटिफिटि भएजस्तो अवस्थामा छ । यस्तो बेलामा एकचोटी प्रयास गरौं न त भनेर मैले देशको प्रधानमन्त्रीसँग भेटघाट गरेको हो, व्यक्ति केपी ओलीसँग होइन’, डा. भट्टराईले अगाडि भन्नुभयो, ‘मेरो कुरा मान्दैनन् भन्ने थाहा हुँदाहुँदै पनि देशको प्रधानमन्त्री भैसकेको एउटा व्यक्तिको हिसाबले कुराकानी गरेको हो । देशको प्रधानमन्त्री हुन्, कुर्सीसँग कुरा गर्छु भनेर म आफैंले भेटेको हो ।’
ओलीलाई भनेको कुरा उधृत गर्दै भट्टराईले भन्नुभयो, ‘तपाईंलाई मेरो कुरा मन पर्दैन त्यो मलाई थाहा छ । हामी दुई नदीका किनारा जस्ता छौँ । तैपनि इतिहासको संगिन घडीमा मेरो आफ्नो मत देशको प्रधानमन्त्रीलाई भन्नुपर्छ भनेर आएको हुँ ।’
भेटमा आफूले राष्ट्रिय सहमतिका लागि भूमिका खेल्न आग्रह गरेपनि ओलीले अस्वीकार गरेको उहाँले बताउनुभयो । आफ्नो प्रस्ताव ठाडै अस्वीकार गर्दै ओलीले उल्टै अन्य नेताप्रति आक्रोश पोखेको भट्टराईले सुनाउनुभयो ।
भट्टराईले भन्नुभयो, ‘उनी जब्बर देखिए । ध्वंसको मार्गमा बढिसकेका रहेछन् त्यसैले उनमा त्यस्तै आत्मविश्वास थियो । टसमस नहुने देखेपछि म आफ्ना कुरा राखेर फर्किएको हुँ ।’
उहाँले आफ्नो स्वभावको हिसाबले पनि ओलीसँग प्रधानमन्त्री माग्न नजाने बताउनुभयो । भएको पद र जिम्मेवारी छाडेर हिँडेकाले आफूलाई पदको कुनै लोभ नभएको पनि उहाँको भनाइ छ ।
‘म किन ओलीसँग भिख माग्न जान्थेँ । सबै छोडेर हिंडेको छु । मेरो कुरा खुला नै छ । संसद्मै बोलेको छु । सबैले छोडौँ नयाँ मान्छेलाई ल्याऊँ भनेको छु । ओपन्ली लेखेको छु । अब म आफ्नैलागि माग्न गएँ होला त रु त्यो पनि ओलीजीसंग ?’, भट्टराईले प्रश्न गर्नुभयो ।
“मलाई मेरो पार्टीको अवस्था र संसद्को अंकगणित थाहा नभएको हो र रु म कसरी मेरो लागि भन्न जान्छु”
ओलीसंगको भेटमा आफूले मुलुकको प्रधानमन्त्री र ठूलो दलको नेताका हिसाबले जिम्मेवार बन्न आग्रह गरेको उहाँले बताउनुभयो । ‘देशको प्रधानमन्त्री तपाई, राष्ट्रियता,स्वाधिनता, सार्वभौमसत्ताको रक्षा गर्ने शपथ लिनुभएको छ, त्यसैले गम्भीर हुनुस् भनेको हो । मलाई मेरो पार्टीको अवस्था र संसद्को अंकगणित थाहा नभएको हो र ? म कसरी मेरो लागि भन्न जान्छु र ?’
आफ्नो सुझावलाई ओलीले खासै चासो नदिएपछि कुराकानी टुंग्याएर बाहिरिएको भट्टराईले बताउनुभयो । उहाँका अनुसार कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले आफ्नै कुरा बढी सुनाउनुभएको थियो । ‘उहाँले लामो गफ गर्नुभयो । सबै ठीकठाक छ भन्ने आशयले कुरा आएपछि ल सोच्नुहोला, मैले आफ्नो कर्तव्य निर्वाह गरेँ भनेर म निस्किएँ’, उहाँले ओलीसंगको भेटको निष्कर्ष सुनाउदै भनुभयो ।
टिप्पणीहरू