कोरोना नियन्त्रणबारे विज्ञ र सरोकारवालाको तर्क, मन्त्री र मुख्यमन्त्रीबाट आएन प्रतिबद्धता ( भिडियो)

कोरोना नियन्त्रणबारे विज्ञ र सरोकारवालाको तर्क, मन्त्री र मुख्यमन्त्रीबाट आएन प्रतिबद्धता ( भिडियो)

कोभिड–१९ संक्रमितको उपचारमा अक्सिजन तथा अक्सिजन सिलिण्डरको चरम अभाव भएकाले सोको व्यवस्थापन गर्न सरकारलाई विज्ञ तथा सरोकारवालाहरूले आ–आफ्नै खालका सुझाव दिएका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले कतिपय जिल्लामा कतै अक्सिजन हुने, सिलिण्डर नहुने र कतै सिलिण्डर हुने अक्सिजन नहुने समस्या उल्लेख गर्दैै अक्सिजन आयात गर्न सरकारले भारत सरकारसँग सम्वाद गर्नुपर्ने बताउनुभयो ।

यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अक्सिजन फ्याक्ट्रीमा आफ्नो कम्पनीको सिलिण्डर भए भरिदिने र अर्को कम्पनीको भए नभर्ने गरेकाले जुनसुकै कम्पनीको भए पनि भर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । अक्सिजनको आवश्यकता पूर्ति गर्न जीटुजीमार्फत् विदेशबाट आयात गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले होम आइसोलेसनमा बसेकाहरूको लागि सल्लाह, सुझाव दिन चिकित्सकहरूको घुम्ति टोली बनाउनुपर्ने बताउनुभयो । चेम्बरले ती सय थान अक्सिजन सिलिण्डर मगाएको र तीन-चार दिनभित्र सरकारी अस्पताललाई उपलब्ध गराइने उहाँले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्वास्थ्य संकटकाल लगाउनेबारे सोच्नुपर्ने बताउनुभयो । स्वास्थ्य संकटकाल घोषणा गरे विश्वको ध्यान नेपालले खिच्ने भएकाले प्राथमिकताकासाथ उपचार गर्न सकिने उहाँको भनाई छ ।

उहाँले अमेरिकी सरकारसँग नेपाल सरकारले अनुदान अथवा किनेरै भएपनि ल्याउने गरी भ्याक्सिनको लागि पहल गर्नुपर्ने बताउनुभयो । डाक्टर पढिरहेका अन्तिम वर्षका विद्यार्थीहरूलाई अस्पतालको काममा लैजान उहाँले सुुझाव दिनुभयो ।

वरिष्ठ चिकित्सक चक्रराज पाण्डेले बिरामीको अवस्था हेरेर अस्पताल भर्ना गरिनुपर्ने बताउनुभयो । अनावश्यकरुपमा भर्ना भएका बिरामीलाईभन्दा सिकिस्त बिरामीहरूलाई अस्पतालमा भर्ना गरेमा बचाउन सकिने तर्क गर्नुभयो ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोले तत्काल २० हजार अक्सिजन सिलिण्डर र पाँच सय भेन्टिलेटर सरकारले ल्याउनुपर्ने बताउनुभयो । ठूलो अक्सिजन प्लान्ट तत्काल बनाउनुपर्ने आवश्यकता रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

वरिष्ठ चिकित्सक डा.भगवान कोइरालाले अक्सिजन उत्पादनमा संलग्न जनशक्तिलाई भ्याक्सिन तथा जोखिम भत्ताको व्यवस्था गर्नुपर्ने बताउनुभयो । बढीभन्दा बढीलाई भ्याक्सिन लगाउनुपर्नेमा उहाँको जोड छ ।

९२ प्रतिशत कोरोना संक्रमित घरमै बस्ने गरेको भन्दै उहाँले चिकित्सकहरूले होम आइसोलेसनमा बसेकाहरूलाई सल्लाह सुझाव दिन नसकेकाले होम आइसोलेसनमा बस्नेहरूको लागि टेलिभिजनमार्फत् जानकारीमूलक कार्यक्रम सञ्चालन गरिनुुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । घरमा आइसोलेसनमा बस्दा संक्रमण फैलिने खतरा भएकाले आइसोलेसन सेन्टरको संख्या बढाउनुपर्ने उहाँको धारणा छ ।

परीक्षणको दायरा बढाउनुपर्ने, आइसीयु र भेन्टिलेटरको जनशक्ति बाहिरी जिल्लामा पनि पठाउनुपर्ने तथा हाईफ्लो अक्सिजन लिनुपर्ने बिरामीलाई सुविधासम्पन्न अस्पतालमा लैजाने व्यवस्थासमेत गरिनुपर्ने उहाँले बताउनुभयो ।

अक्सिजन सिलिण्डर गायब हुने गरेकोतर्फ उहाँले प्रशासनले सिलिण्डर खोज्नुपर्ने पनि बताउनुभयो । अक्सिजन प्लान्ट निर्माणमा अनुदानको व्यवस्था गरेर निजी क्षेत्रलाई काम गर्न दिए छिटो निर्माण हुनसक्ने उहाँको भनाई छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले तदारुकताका साथ काम गरिरहेको बताउनुभयो । कोभिडका गम्भिर बिरामीलाई वरिष्ठ चिकित्सकले नहेरी जुनियर डाक्टरहरूले हेर्ने गरिएकोतर्फ आपत्ति जनाउनुभयो ।

मन्त्रालयले कोभिड नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य क्षेत्रका अवकाशप्राप्त कर्मचारीलाई सेवामा फर्किन आग्रह गरिएको बताउँदै मन्त्रीले भन्नुभयो ‘लिक्विड अक्सिजन तुरुन्त खरिद गर्नसक्ने अवस्था छैन ।’

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सबै क्षेत्रका व्यक्तित्वहरूसँग कोभिड १९ रोकथाम तथा नियन्त्रणबारे छलफल गर्नुभएको थियो । उहाँले त्यसबखत अक्सिजनको आपूर्ति सहज बनाउने काममा लाग्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको थियो ।

टिप्पणीहरू