संसदमा माननीयहरु र परिवारको रुवाबासी
कोटा सकिएको भन्दै फर्काइएपछि कोरोना खोपको दोस्रो डोज लगाउन संघीय संसद सचिवालयमा लाइन लागेका माननीय र परिवारजन तनावमा परेका छन् ।
पहिलो डोज लगाएका माननीय र प्रौढ उमेरका पारिवारिक सदस्यहरु आज सेकेन्ड डोजका लागि गएकोमा कोटा सकिएको भन्दै बक्सा बन्द गरिएकोले रुवाबासी मच्चिएको छ ।
सांसद,सचिवालयका कर्मचारी, मर्यादापालक,सुरक्षाकर्मी, सांसदका पीएलाई गरी छुट्टयाईएको १४ सय ५० जनाको कोटा सकिएको भन्दै बिहानदेखि भोक-प्यास र घाम नभनी लाइन लागेका माननीयका आफन्तलाई जिल्ल्याउँदै जिल्ला जनस्वास्थ्य कार्यालय,काठमाडौंले खोप बन्द गरेको छ ।
पहिलो डोज लिएको आठदेखि १२ “हप्ताभित्र दोस्रो डोज लिनुपर्ने र त्यो लिन नपाएमा पहिलो खोप नै असरहीन हुने अवस्थामा कोटा सकिएको भनेर खोप नदिएपछि संसद सचिवालयको प्रांगणमै विवाद र रुवाबासी चलेको छ ।”
खोप लगाउन बिहानदेखि टाढा टाढाबाट अनेक उपायले आएका कतिपय माननीय र आमाबाबुसहित निकट आफन्तलाई ‘खोप छैन’ भनिएकोले उनीहरु रुँदैरुँदै फर्किएका छन् ।
तर,फागुनमा त्यहीँ गएर खोपको पहिलो मात्रा लगाएका सबैले दोस्रो डोज लगाउन पाउनुपर्ने सांसदहरुको माग छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको स्वीकृतिमा हुन्छ हुन्छ,प्रौढावस्थाका उहाँहरुको पनि हक छ भन्दै सांसदका परिवार र आफन्तलाई पनि पहिलो मात्रा लगाइएको थियो ।
तर,पहिलो डोज लिएको आठदेखि १२ हप्ताभित्र दोस्रो डोज लिनुपर्ने र त्यो लिन नपाएमा पहिलो खोप नै असरहीन हुने अवस्थामा कोटा सकिएको भनेर खोप नदिएपछि संसद सचिवालयको प्रांगणमै विवाद र रुवाबासी चलेको छ ।
यसै बिषयलाई लिएर साँसदहरुले मन्त्री र जनस्वास्थ्यका कर्मचारीसँग झगडासमेत गरेका छन् । अहिले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई,काँग्रेस सांसद बेदुराम तिमल्सिना,एमाले सांसद जीवनराम श्रेष्ठलगायतका सांसदहरु स्वास्थ्य मन्त्रालय पुगेका छन् ।
सांसदहरुको माग सम्बोधन गर्न राज्यमन्त्री नवराज राउतले मन्त्रालयका हाकिमलाई भने पनि हाकिमले ‘सकिन्न हजुर ! मिल्दै मिल्दैन,कोटा नै छैन !’ भनेपछि पार नलाग्ने भो भन्दै सांसदहरु बाहिरिएका छन् । राज्यमन्त्री राउतले जिल्ला जनस्वास्थ्य काठमाडौँका हाकिमलाई गरेको आग्रहले पनि काम नगरेको बताइएको छ ।
आजको घटनाले कोरोना महामारी र हाम्रो तयारीको अवस्था राम्रोसंग झल्काएको एक सांसदले बताए । ‘जसले देशको नीति,कानून बनाउँछ । मुलुकको कार्यकारी प्रमुख निर्वाचित गर्छ । उनीहरुको हालत यस्तो छ,भने जनताको अवस्था के होला ?’ ती माननीयले निरास हुँदै भने ।
साँच्चै,कोरोनाको खोपका लागि देशको प्रशासकीय केन्द्रभित्र सांसदकै परिवारहरुले रुवाबासी गर्नुपर्ने अवस्था आएपछि आम जनताको हालत के होला ? भन्ने प्रश्न उठेको छ । खोपको पहिलो डोज लगाएका केही हजार नागरिकलाई समयमै दोस्रो डोज दिन नसकिरहेको सरकारले लाखौं जनतालाई खोप अभियानमा समेट्छ भनेर कसरी विश्वास गर्ने ? सिंहदरबारको आजको घटना हाम्रो देशको अवस्थाको प्रतिविम्ब हैन र ?
टिप्पणीहरू