“अनि माधव नेपाल भक्कानिएर रुन थाल्नुभयो”
नेकपा एमाले नेपाली जनताले सबभन्दा बढी विश्वास गरेको पार्टी हो । मार्क्सवादी विचारका आधारमा संगठित भएर पनि शान्तिपूर्ण संघर्षको माध्यमबाट जनतामा स्थापित नेकपा एमाले प्रजातान्त्रिक संस्कार र संस्कृतिमा हुर्किएको पार्टी हो ।
यसबीचका केही उद्दण्ड,अराजक र निराशाजनक गतिविधिलाई छाडिदिने हो भने एमाले निकै सम्भावना भएको व्यवस्थित पार्टी हो । फेरि पनि यसलाई नेकपा एमालेको स्थापित नीति र विधानअनुसार चलाएर पुनर्गठित गर्ने हो भने अझै प्रचुर सम्भावना छ ।
“जब नेताका वरिपरी स्वार्थ समूह र बिचौलियाले चक्कर लगाउन थाल्छन् तब राजनीतिमा समस्या पैदा हुन्छ ।”
माधव नेपाल पनि आफ्नो जीवनको सम्पूर्ण ऊर्जा खर्च गरेर निर्माण गरेको पार्टीप्रति अगाध आस्था राख्नुहुन्छ । अन्तर्य छाम्ने हो भने एमालेसँग लगावबिनाको राजनीतिक जीवन कल्पनाबाहिर छ । अहिलेको नेकपा एमालेलाई एकताबद्ध बनाउने सहमतिमा पनि त्यही लगावले काम गरेको स्पष्ट देखिन्छ ।
“सम्भवतः फागुन २९ वा ३० गते हुनुपर्छ । उहाँ भन्दै हुनुहुन्थ्यो-पार्टी मिल्ने ठूलो आसले नेकपा एमालेमा फर्कने निर्णय गरेको थिएँ । आज आफ्नै पार्टीका नेताले सबैको बिचल्ली पारिदिने भए । यसो भन्दै उहाँ डाँको छाडेर रून थाल्नुभयो ।
फागुन २३ गते अदालतको फैसलापछि एउटा सानो छलफल कार्यक्रममा बस्ने अवसर पाएको थिएँ । सम्भवतः फागुन २९ र ३० गते भएको हुनुपर्छ । उहाँ भन्दै हुनुहुन्थ्यो-पार्टी मिल्ने ठूलो आसले नेकपा एमालेमा फर्कने निर्णय गरेको थिएँ । आज आफ्नै पार्टीका नेताले सबको बिचल्ली पारिदिने भए । यसो भन्दै उहाँ डाँको छाडेर रून थाल्नुभयो । म उहाँसँग लामो संगत गरेको मान्छेमध्ये पर्छु । त्यसरी रोएको पहिलो पटक देखेको हुँ ।
वास्तवमा नेकपा एमाले निर्माणमा धेरै दुःख–कष्ट, उकाली–ओराली,भय–पीडा, जेल–नेल अनि राम्रा–नराम्रा सबै अनुभव सँगालेर आएका नेता हुनुहुन्छ माधव नेपाल । नेपालका प्रायः सबै जिल्ला,शहर र गाउँ घुमेर पार्टी निर्माणमा योगदान र लगानी गर्नुभएको छ । त्यति मात्र होइन, तुलनात्मक रूपले अलि कडा र कुटिल स्वभावका ओलीसँग अरूभन्दा अलि बढी केमेस्ट्री मिल्ने नेता पनि हो माधव नेपाल । यसर्थ खास मुद्दाहरू मिल्यो भने प्राविधिक कुरा गौण हुन जान्छन् । एक अर्काका समस्या र भावना बुझेर अघि बढ्ने वातावरण भयो भने सबै मिल्दै जान्छ । मिलाउनु पनि पर्छ ।
“माधवकुमार नेपालसँगको सहमति सफल भयो भने आफ्नो भाग खोसिने हो कि ? कहीँ आफूले उल्फामा पाएको पद खोसिने हो कि ? भन्ने त्रास उनीहरूमा हुन सक्छ ।”
०५४ सालमा नेकपा एमालेको छैटौँ राष्ट्रिय महाधिवेशन चलिरहेको थियो । महाकाली सन्धिको कारणले पार्टी स्पष्ट दुई खेमामा विभाजित थियो । अध्यक्ष मनमोहन अधिकारी कतै नलागी तटस्थ बस्नुभएको थियो । उहाँ कुनै पनि हालतमा पार्टी विभाजन गर्नु अनुचित हुन्छ भन्दै एकताको पक्षमा लागिरहनुभएको थियो ।
माधवकुमार नेपाल,केपी ओलीलगायतका नेता एक छोरमा हुनुहुन्थ्यो भने वामदेव गौतम, सिपी मैनाली र सहाना प्रधानलगायतका नेता अर्को छोरमा । त्यतिबेला पनि महाधिवेशनस्थल र पार्टीका तत्कालीन सबै घटना,सन्दर्भ र बहसमा माधव नेपाल र केपी ओली एउटै टिममा हुनुहुन्थ्यो । त्यतिखेर पार्टीमा संकटको कारण बनेको महाकाली सन्धि प्रकरणमा पनि दुवै जनाको सिक्वेन्स मिलेकै थियो ।
माधवकुमार नेपालले ०६४ सालको संविधानसभा निर्वाचनमा पार्टी पराजित भएवापत नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुभयो । आफूले राजीनामा दिएसँगै झलनाथ खनाललाई महासचिव बनाउने प्रस्ताव राख्नुभयो ।
“मदन भण्डारीले ‘ढाँटको निम्तो खाएर पत्याउनू’ भन्नुभएको थियो । एक पटक पत्याउनुपर्ने भएको छ ।”
०६५ सालमा झलनाथ खनालकै नेतृत्वमा नेकपा एमालेको आठौँ राष्ट्रिय महाधिवेशन आयोजित भयो । उक्त महाधिवेशनमा माधव नेपाल फेरि केपी ओलीलाई अध्यक्ष बनाउने पक्षमा खडा हुनुभयो । उहाँको आफैले प्रस्ताव गरेर बनाएको महासचिव झलनाथ खनालसँग केमेस्ट्री मिलेन । तटस्थ बस्न धेरैले आग्रह गरे ।
तर,उहाँ मिहीन ढंगले कडा मिजासका नेता केपी ओलीलाई अध्यक्ष बनाउन लाग्नुभयो । त्यसपछि लामो समयसम्म उहाँहरूको जोडी साथसाथै थियो । पार्टी एकता भएर नेकपा बनेको केही समयपछि वरिष्ठ नेताहरूको जोख तौल शुरु भएपछि बल्ल माधव नेपाल र वैचारिक नेता झलनाथ खनाल एक ठाउँमा आउने स्थिति बनेको हो ।
माधवकुमार नेपाल अलिकति संयोजनकारी नेतामा कहलिनुहुन्छ । उहाँ दुई–चार जनासँग छलफल गरेर मात्र निर्णयमा पुग्ने गर्नुहुन्छ । संयोजनकै लागि ०६४ सालको संविधानसभा निर्वाचनमा पराजित भएर पनि तत्कालीन सरकारको प्रस्तावमा संविधानसभामा पुग्न सफल नेता हुनुभयो माधव नेपाल । संविधानसभा संविधान मस्यौदा समितिको सभापति पनि हुनुभयो । र,तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि प्रमुख प्रतिपक्षी नेता गिरिजाप्रसाद कोइरालाको प्रस्तावमा प्रधानमन्त्रीसमेत बन्नुभयो ।
प्रचण्डलाई राजीनामा गर्ने तहसम्म पुर्याएर माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने सन्दर्भमा दुवैको केमेस्ट्री निकै मिलेको देखिन्थ्यो । त्यति मात्र होइन, माधवकुमार नेपालले लगभग दुई वर्ष संयुक्त सरकारको नेतृत्व गर्दा पूरै अवधि दुवै जनाको केमेस्ट्रीमा थोरै पनि तलबितल भएको देखिएन । झलनाथ खनालको नेतृत्वमा सरकार हुँदा पनि दुवैको तालमेल मिलेकै थियो ।
माधव नेपाल अलि लचिलो,केपी ओली अलि कडा र एक्लै निर्णय गर्ने स्वभावका भए पनि दुवैको सीधा सम्पर्क हुँदा कुनै खास समस्या हुने गरेको छैन । जब दुवैको बीचमा बिचौलिया हाबी हुन थाल्छन् तव समस्या आउन थालेको पाइन्छ । माधव नेपाल र केपी ओलीबीच केमेस्ट्री मिलेको बेला ईश्वर पोखरेल र प्रदीप नेपाल पनि साथमै हुनुहुन्थ्यो । माधव नेपालको प्रदीप नेपालप्रति पूरापूर विश्वास थियो ।
प्रदीप नेपालले समन्वयमा नपत्याउँदो उस्तादी कमाउनुभयो । उहाँ दुवैलाई विश्वासमा लिएर काम गर्न सिपालु । त्यसैले दुवैको गुड लिष्टमै देखिनुहुन्छ । अहिले पनि सक्रिय हुन सक्ने अवस्था हुन्थ्यो भने एमालेभित्रको समस्या यति बिजोक हालतमा पुग्ने थिएन होला । पार्टी र सरकारको प्रस्तुति पनि अहिलेजस्तो कमजोर हुने थिएन होला । दुई नेताबीच संयोजनकारी र विश्वसनीय ढंगले काम गरिदिने उपयुक्त पात्र पहिचान गरेर काममा लगाउने हो भने एकता बलियो हुँदै जाने सम्भावना प्रचुर देखिन्छ ।
तर,अहिले स्वार्थ समूहले समस्या खडा गरिरहेका छन् । जब नेताका वरिपरी स्वार्थ समूह र बिचौलियाले चक्कर लगाउन थाल्छन् तब राजनीतिमा समस्या पैदा हुन्छ । स्वार्थ समूह र बिचौलियाकै कारण पार्टीमा गुटले आकार लिएको हुन्छ । जब नेताहरू जनता र कार्यकर्ताको भन्दा स्वार्थ समूहको कुरा सुन्न थाल्छन् तब समस्या पैदा हुन थाल्छ । अहिले पनि एमालेसहित विभिन्न पार्टीमा नेता–कार्यकर्ताको भन्दा आगन्तुक र लगानीकर्ताको कुरा सुन्ने प्रवृत्ति बढ्नुमा यस्तै कुराले काम गरिरहेको छ । नेकपा एमालेभित्रको कुरा पनि त्यही हो ।
पार्टीमा जिन्दगी लगाएका योग्यतम कार्यकर्ताभन्दा भजनियाहरू र प्रशंसकहरू माथि–माथि पुग्नुमा बिचौलियाको स्वार्थले काम गरिरहेको हुन्छ । यसैले नेताहरूका बीचको समझदारी र एकतामा समेत बिचौलिया,स्वार्थ समूह र भजनियाहरूले बाधा खडा गरिरहेका हुन्छन् ।
नेकपा एमालेभित्र केपी ओली र माधव नेपालको ताजा मिलनमा पनि पार्टीमा हाबी हुँदै गएका भुइँ फुट्टा वर्ग र बिचौलियाहरू बाधक हुन सक्छन् । तिनमा पनि आफूलाई चाँडै नेतृत्वमा पुग्ने सपना साँचेका र कमजोर क्षमता भएका व्यक्ति र व्यक्तित्व बढी बाधक हुन सक्छन् । खासगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको नजिक बसेर हुने, नहुने प्रशंसाका पुल हाली फाइदा लुटिरहेकाहरू समस्या हुन सक्छन् ।
माधवकुमार नेपालसँगको सहमति सफल भयो भने आफ्नो भाग खोसिने हो कि ? कहीँ आफूले उल्फामा पाएको पद खोसिने हो कि ? भन्ने त्रास उनीहरूमा हुन सक्छ । अहिले धेरै नवप्रवेशी र आधारभूत जनतामा कमजोर उपस्थिति भएका व्यक्ति तथा भुइँफुट्टाहरू अनेक फत्तुरसहित गाली बेइज्जती गर्नमा व्यस्त देखिन्छन् । यस्तो खालको उग्र प्रवृत्ति पनि पार्टी एकतामा बाधक हुन सक्छ । तिनका पछि लागेर पनि साध्य छैन ।
जे भए पनि माधव नेपाल र केपी ओलीले साँच्चैको एकता चाहेको हो भने,कसैले केही बिगार्न सक्दैन । एकता प्रक्रिया टुंग्याउन दुई चरणमा छलफल गरिकन दुवै नेताको सहमतिमा कार्यदल गठन गरिएको छ । १० सदस्यीय कार्यदलले पार्टी एकतालाई बलियो बनाउने गरी रिपोर्ट देओस् । विगतमा बनाइएका एमसिसि कार्यदल र स्थायी समितिले बनाएको कार्यदलको दशा यसले ब्यहोर्नु नपरोस् ।
तल अनेक थरीका आशंका छँदै छन् । फेरि पनि जननेता मदनकुमार भण्डारीले ‘ढाँटको निम्तो खाएर पत्याउनू’ भन्नुभएको थियो । एक पटक पत्याउनुपर्ने भएको छ । पत्याएरै अघि बढ्नुपर्ने अवस्था छ । जुनसुकै हालतमा एकता सफल पारेर छाड्नुपर्ने दायित्व ओली र माधव नेपालको काँधमा छ । यो नेपाली जनताको माग पनि हो । यसका लागि एमालेको एकता र भविष्यप्रति चिन्तित सबैले आ–आफ्नो ठाउँबाट मिहिनेत गरौं । पार्टी एकताका लागि भएको सहमतिलाई सफल बनाउन लागि परौँ । आगे नेताहरूको मर्जी । जय जय होस् !
टिप्पणीहरू