सरकार तातेन, सचिवालयले थाल्यो तयारी, प्रि-बजेट छलफल नभ्याइने(भिडियो)

सरकार तातेन, सचिवालयले थाल्यो तयारी, प्रि-बजेट छलफल नभ्याइने(भिडियो)

संघीय संसद सचिवालयले बजेट अधिवेशनका लागि आवश्यक तयारी पूरा गरेको छ ।  संविधानअनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याउनुपर्छ ।

तर अहिलेसम्म सरकारले बजेट अधिवेशन आव्हान गरेको छैन । यद्यपि संघीय संसद सचिवालय भने अधिवेशनका लागि तयारी अवस्थामा बसेको छ । सचिवालले समय घर्किसकेकाले प्रि-बजेटमाथि छलफल चलाउन भने नसकिने बताएको छ ।

संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेलले नीति तथा कार्यक्रम र बजेटका कुरामा दलीय सहमति गरी छलफल छोटो बनाएर काम गर्न सकिने भएपनि प्रि–बजेट छलफलका लागि भने समय घर्किसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रि–बजेटलाई त संभव देखिएन । १५ दिनअगाडि भन्ने छ । जेठ १५ को अगाडि । त्यो समय हामीले गुजारिसकेका छौं । अब नीति तथा कार्यक्रम र बजेटका कुरा छन् । त्यसको लागि १/२ दिनभित्रै यदि बैठक आव्हान भइहाल्यो भने बैठकलाई छोटो तरिकाले सञ्चालन गरेर सिमित संख्यामा माननीय सदस्यहरुलाई समय उपलब्ध गराएर दलीय प्रतिनिधित्वको हिसाबले सहमति गरेर सञ्चालन गर्ने हो भने त्यति ठूलो समस्या छैन । यो १५ दिनको अवधिमा हामी त्यो काम गर्न सक्छौं ।’

प्रवक्ता पाण्डेले कोभिड १९ को महामारी तीब्र ढंगमा बढ्दै गएकाले भर्चुअल बैठक संञ्चालन गर्नुपरेमा पनि प्राविधिक तयारी सचिवालयले गरेको जानकारी दिनुभयो । तर भर्चुअल बैठकका लागि कानूनी संरचनाले बाधा पुर्याउने उहाँले बताउनुभयो ।

संविधान र संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यसञ्चालन नियमावलीले भौतिक रुपमा उपस्थित भएर बैठक संञ्चालन गर्ने कुरालाई मात्रै आधिकारिक मानिने र उपस्थितिका लागि हस्ताक्षर गर्नैपर्ने भएकाले भर्चुअल बैठकलाई कानूनी मान्यता दिने अवस्था नरहेको उहाँको भनाइ छ ।

तर, त्यस किसिमको अवस्था आए प्राविधिक रुपमा सचिवालय दुरुस्त रहेको उहाँले प्रष्ट पार्नुभयो ।

टिप्पणीहरू