महन्थहरुलाई ७ मन्त्रालय, एमालेका मधेसी नेता रुष्ट

महन्थहरुलाई ७ मन्त्रालय, एमालेका मधेसी नेता रुष्ट

जसपासँगको सत्ता सहकार्यलाई लिएर एमालेभित्र खटपट शुरु भएको छ । रघुवीर महासेठलगायत दुई नम्बर प्रदेशका कमरेडहरुले महन्थ ठाकुर खेमासँगको सहकार्य पार्टीका लागि हानिकारक हुने चेतावनी दिएका छन् ।

महन्थहरुसँग संयुक्त सरकार बनाउँदा मधेसमा पार्टीलाई घाटा लाग्ने एमालेका एक मधेसी नेताले बताए । ‘मधेसमा हामीलाई घाटा छ । जे भए पनि दुई नम्बर प्रदेशको मुख्य शक्ति भनेको उपेन्द्र यादव नै हो । तर, हामीले जसरी महन्थ र राजेन्द्र महतोहरुलाई स्पेस दिइरहेका छौँ, त्यो गलत हो’, ती नेताले भने ।

महन्थहरुसँगको सहकार्यले राष्ट्रियताको मुद्दामा पनि एमालेलाई घाटा लाग्ने उनको बुझाइ छ । सरकार गठनको प्रक्रिया अघि बढिरहेका बेला महन्थ र महतोले भारतीय दूतावासमा गरेको गोप्य छलफललाई उनले मुलुकमाथिको अपराध भने ।

‘पछिल्लो घटनाले राष्ट्रियताको मामलामा उनीहरुमाथि उठेका प्रश्न सही सावित भएको छ । त्यसैले यो सहकार्यले जनतामा एमालेप्रतिको दृष्टिकोण बिग्रन सक्छ भन्ने हाम्रो कुरा हो’, उनले भने ।

यता, प्रधानमन्त्री केपी शर्मा ओली जसपा फुटाएर भएपनि महन्थ खेमालाई सरकारमा लैजाने तयारीमा हुनुहुन्छ । त्यसका लागि महन्थ समूहले विभिन्न चरणमा बालुवाटारसँग छलफल गरिरहेको छ । बालुवाटारले महन्थहरुलाई सुरक्षित राख्ने जिम्मा महेश बस्नेतको टोलीलाई दिएको छ ।

मन्त्रिपरिषद् गठन हुँदै महन्थ खेमालाई सरकारमा लैजाने प्रधानमन्त्रीको चाहना भागबण्डामा कुरा नमिलेका कारण पूरा नभएको जसपा स्रोतले बतायो । प्रधानमन्त्रीलाई विश्वासको मतका लागि पुग नपुग जम्मा १४/१५ जना सांसद भएको महन्थ खेमाले १० मन्त्रालय मागेपछि समझदारी जुट्न नसकेको बताइन्छ ।

‘अब प्रधानमन्त्रीलाई विश्वासको मत दिने र ७ मन्त्रालय लिएर सरकारमा जाने तयारी छ । उनीहरुले मागेको जति मन्त्रालय पाउँदैनन्’, एमालेका एक नेताले भने ।

महत्वपूर्ण मन्त्रालय कुनैपनि हालतमा महन्थ खेमालाई दिन नहुने भन्दै एमालेभित्र प्रधानमन्त्रीमाथि दबाब बढेको बताइन्छ । स्रोतका अनुसार बिदेशसङ्ग सीधै जोडिने गृह, भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत, अर्थ र रक्षा मन्त्रालय कुनै हालतमा दिन नहुने मत एमालेमा छ ।

टिप्पणीहरू