दुर्गा प्रसाईंको अब गए दुःखका दिन

दुर्गा प्रसाईंको अब गए दुःखका दिन

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबाबमा विवादित मेडिकल कलेज बी एण्ड सीलाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ ।

झापास्थित बी एण्ड सी मेडिकल कलेज कुनै समय विवादास्पद् व्यापारी दुर्गा प्रसाईको हो । प्रसाई कुनै समय माओवादी अध्यक्ष प्रचण्ड र केपी शर्मा ओलीलाई मार्सी चामलको भात खुवाएर चर्चामा छाएका थिए ।

मन्त्रीको ठाडो निर्देशनमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को धज्जी उडाँउदै बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढेको हो ।

केयुका एक अधिकारीका अनुसार,चिकित्सा शिक्षा ऐनअनुसार एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन सक्दैन । तर केयुले यसअघि नै एक दर्जन बढीलाई सम्बन्धन दिइ सकेको छ ।

चिकित्सा शिक्षा ऐनको दफा ६ ले स्पष्टसँग बोलेको छ कि ’यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन।’

गत ३१ वैशाखमा बसेको केयू कार्यकारी परिषदको ६२५ औं बैठकले निरीक्षण प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा ऐनको दफा १३ (६) अनुसार सम्बन्धनका लागि सहमति दिने र सीट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय गरेको छ ।

यो प्रक्रिया अघि बढाउनकै लागि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबावमा केयूको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

टिप्पणीहरू