बादलको उम्मेदवारीले कचल्टिएको एमाले विवाद

बादलको उम्मेदवारीले कचल्टिएको एमाले विवाद

व्यवहारत: फुटिसकेको तर,कानूनी त्यान्द्रोले जोडिएको एमालेलाई एकै ठाउँमा जोड्ने प्रयास भैरहेका बेला दुई पक्षबीच अविश्वास चुलिएको छ ।

वरिष्ठ नेता माधव नेपाल पक्षको मागअनुसार पार्टीलाई माओवादीसँग एकता हुनुपूर्वको अवस्थामा फर्काएर एकतावद्ध गर्न अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सैध्दान्तिक सहमति जनाएपछि अहिले कार्यदल बनाएर विवाद समाधानको निम्ति ठोस प्रस्तावको गृहकार्य जारी छ ।

तर,यहिबीच दुवै पक्ष आ-आफ्नो शक्ति सुदृढ गर्ने कसरतमा लागेपछि आपसी अविश्वास चुलिएको बताइन्छ ।

“नेपाल पक्षले विपक्षीसँग मिलेर राष्ट्रियसभा निर्वाचनमा बादललाई हराउने हो कि भन्ने बालुवाटारलाई डर छ । नेपाल पक्षलाई पनि ओलीले प्रयोग गरेर छोड्ने हो कि भन्ने त्रास छ ।”

पार्टी फुटको डिलमा पुगिसकेका बेला दुवै पक्षका दोस्रो तहका नेताहरुको दवावमा छलफलका लागि राजी हुनुभएका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच अविश्वासको खाडल गहिरिंदा विवाद तत्काल समाधान हुनेमा आशंका बढेको एमाले स्रोतले बताएको छ ।

ओली पक्ष ६ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेपाल समूहले खेल्ने भूमिका हेरेर आवश्यक रणनीति बनाउने तयारीमा छ । यता,नेपाल पक्ष ओलीको भूमिकाप्रति झन् आशंकित छ । ओलीले राष्ट्रियसभामा आफ्नो उम्मेदवार जिताइसकेपछि आफूहरुलाई फेरि कर्नरमा पार्ने हो कि भन्ने त्रासमा नेपाल समूह छ ।

यहि आशंकाका कारण हिजो महासचिव ईश्वर पोखरेलले स्थानीय तहका प्रमुख,उपप्रमुख र प्रदेशका सांसदहरुलाई ओली पक्षका उम्मेदवार रामबहादुर थापा बादलका पक्षमा भोट हाल्न पत्राचार गरेको छ ।

राष्ट्रियसभाको उपचुनावमा माधव नेपाल पक्षले छुट्टै उम्मेदवार खडा गरेको छ । काँग्रेस,माओवादी केन्द्र र जसपाको समर्थनमा नेपाल पक्षका खिमलाल देवकोटा चुनावी मैदानमा उत्रिंदा एमालेकै दुई उम्मेदवारबीच प्रतिष्पर्धा हुने अवस्था बनेको छ ।

राष्ट्रियसभाको चुनावकै सन्दर्भमा बरिष्ठ नेता नेपालले काँग्रेस, माओवादीलगायतका दलहरुसँग छलफल जारी राखेको सूचना पाएपछि ओली पक्षले पत्र लेखेर बादलका पक्षमा भोट हाल्न निर्देशन गरेको बताइएको छ ।

‘अहिले हाम्रो पार्टीमा अविश्वास यति चुलिएको छ कि ‘जोगीदेखि भैँसी डराउने,भैँसीदेखि जोगी डराउने’ भनेजस्तै भएको छ । नेपाल पक्षले विपक्षीसँग मिलेर राष्ट्रियसभा निर्वाचनमा बादललाई हराउने हो कि भन्ने बालुवाटारलाई डर छ । नेपाल पक्षलाई पनि ओलीले प्रयोग गरेर छोड्ने हो कि भन्ने त्रास छ । यस्तो अवस्थामा पार्टीलाई एकतावद्ध बनाउने प्रयास खेर जाने खतरा देखिन्छ’, एमाले स्रोत भन्छ ।

आफ्नै पार्टीका भोटर्सलाई पत्राचार गरेर भोट हाल्न उर्दी जारी गर्नुले दुई पक्षबीच अविश्वास कति चुलिएको रहेछ सजिलै अनुमान गर्न सकिन्छ । पोखरेलको पत्राचारलाई रमाइलो खेलको संज्ञा दिँदै स्रोत भन्छ,’पार्टीका मान्छेलाई भोट हाल्नु भनेर अहिलेसम्म चिठी लेखेको थाहा छैन । संसदमा भए ह्वीप लाग्नुएउटा कुरा हो, तर गोप्य मतदानमा चिठी लेखिएको पहिलोचोटी सुनियो ।

अस्ति कार्यदल गठन हुँदा नै दुई पक्षीय अविश्वास प्रकट भएको थियो । जेठ ६ भन्दा पहिले नै एउटा टुंगोमा पुग्ने नेपाल पक्षको चाहना थियो,जुन कुरा नेता नेपाल आफैंले बताउनुभएको हो । ओली पक्ष भने तीन दिनभित्र विवाद मिलाउने नेपाल पक्षको मागमा सहमत नभएको भनिएको थियो ।

राजनैतिक पर्यवेक्षकहरु भन्छन्-त्यो भनेको छ गतेको परिणाम हेरेर अघि बढ्ने रणनीति हो ।

टिप्पणीहरू