कोरोना संक्रमितको शव व्यवस्थापन कति व्यवस्थित,कति अव्यवस्थित ?
गत वर्ष जेठ ४ गते नेपालमा कोरोनाबाट पहिलो व्यक्तिको ज्यान गएको थियो । सिन्धुपाल्चोककी सुत्केरी महिलाको ज्यान गएपछि शव व्यवस्थापनको निम्ति जेठ १२ गते मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरेको हो ।
त्यतिबेलाको निर्णयमा भनिएको छ-कोभिड १९ को कारणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको प्रोटोकल २०७७ बमोजिम स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाले गर्ने ।
तर अहिले दैनिक औसत दुई सयको हाराहारीमा संंक्रमितको ज्यान जान थालेपछि उक्त प्रोटोकलको पालनामा आशंका गरिएको छ । स्रोत भन्छ ‘प्रोटोकल त्यस्तै हो । शवलाई पोको पारेर लैजाने कामचाँहि भएको छ । राजधानीका एकाध अस्पतालमा प्रोटोकलको पालना भए पनि अन्यत्र शंकै छ ।’
अहिले पनि कायम रहेको प्रोटोकलमा भनिएको छ ‘टाउको खोल्दा विशेष सावधानी अपनाउनुपर्छ । आवश्यक भएमा नाक तथा घाँटीको र दुबै फोक्सोको स्वाब लिनु पर्दछ ।’
तीबाहेक शव व्यवस्थापनमा तोकिएको मापदण्ड यसरी लेखिएको छ :
– स्वाबलगायत अनुसन्धान प्रयोजनका लागि कुनैपनि नमूना संकलन गर्दा विशेष सावधानी अपनाई जतिसक्दो चाँडो नमूना राखिएका कन्टेनरहरू बन्द गर्नुपर्छ ।
– सबै प्रक्रिया पूरा भएपछि शवलाई शून्य दशमलव १ प्रतिशत सोडियम हाइपोक्लोराइड वा ७० प्रतिशत इथानेलले सफा गर्ने र मृत शरीरलाई डेड बडी ब्यागमा वा प्लाष्टिकले लपेटी प्रहरीलाई जिम्मा दिनु पर्दछ ।
– शव परीक्षण सकिनेबित्तिक्कै प्रयोग गरिएका सामाग्रीहरूलाई निसंक्रमित बनाइनुपर्छ ।
– अस्पतालका फोहोरलाई राम्रोसँग व्यवस्थित तरिकाले व्यवस्थापन गर्नुपर्छ ।
– विपद्सम्बन्धी शवहरूको व्यवस्थापन गर्नु परेमा विपद् पश्चातको व्यवस्थापनसम्बन्धी मार्गदर्शन, २०६८ ले तोकेका प्रक्रियाहरू पालना गर्दै आवश्यकताअनुसार शव व्यवस्थापनसम्बन्धी प्रोटोकललाई प्रयोग गर्नुपर्नेछ ।
टिप्पणीहरू